क्षतिको विवरण अझै आएन
![क्षतिको विवरण अझै आएन](https://annapurnapost.prixacdn.net/media/albums/bhukampa_11_8VKjQDsBGN_GfrNHvHlhe.jpg)
रुकुमपश्चिम : भूकम्प गएको एक महिना बितिसक्दा पनि हजारौँ पीडित परिवार अझै त्रिपालभित्रै रात काट्न बाध्य छन्। भूकम्पपछिका दिनमा राम्ररी खान र सुत्नसमेत नपाएको गुनासो गर्छिन् सानीभेरी १ चाइनाबगरकी ८५ वर्षीया पबि पुन। भन्छिन्, ‘घर भूकम्पले पूरै क्षति गरेको छ। चिसोले निन्द्रा लाग्दैन। शरीर सुन्निएको छ।’ सरकारले अस्थायी आवास बनाइदिए सुुरक्षितसँग बस्न पाइने उनको आस छ।
भूकम्पले घर भत्किएपछि त्रिपालमै बस्दै आएकी सानीभेरी गाउँपालिका–१ बुकीचौरका छविलाल कामी भने राजनीतिक दलको सक्रियतामा अस्थायी आवास बनेपछि खुसी देखिन्छन्। ‘त्रिपालमा बस्दा अत्याधिक चिसो हुने गथ्र्यो, असुरक्षित महसुस हुन्थ्यो। अब भने अस्थायी आवास बनेपछि केही सहज भएको छ’, उनले भने। छविलालको अस्थायी आवास स्थानीय कच्चा पदार्थ काठ तथा जस्तापात प्रयोग गरेर निर्माण गरिएको छ।
संघीय सरकारबाट अस्थायी आवास निर्माणका लागि पठाएको रकम जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले स्थानीय तहहरूमा धमाधम पठाइरहेका छ। तर, कति अस्थायी आवास निर्माण भए भन्ने यकिन विवरण भने प्रशासन कार्यालयमा छैन।
अस्थायी आवास निर्माण गर्न गत शुक्रबारसम्म जिल्ला प्रशासन कार्यालयले चारवटा स्थानीय तह चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाका १४ हजार २ सय २४ लाभग्राहीलाई पहिलो किस्ताबापतको ३६ करोड ४३ लाख ५० हजार रुपैयाँ पठाएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।
पालिकाहरूले अस्थायी आवास निर्माण सम्पन्न भई भूकम्पपीडित बसेकाहरूको विवरण नपठाउँदा कति पीडितहरूका लागि अस्थायी आवास बन्यो, कति बाँकी छन् भन्न सकिने अवस्था नरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए। सरकारको तर्फबाट आउनुपर्ने रकम ढिला आउँदा अस्थायी आवास निर्माण गर्न ढिला भएको आठबिसकोटका नगर प्रमुख रवि केसीले बताए।
उनका अनुसार क्षति भएका घरहरूको प्रहरी मुचुल्का उठाउने काममा केही ढिलाइ हुँदा निर्माणमा पनि ढिलाइ भएको हो। ‘हिजो मात्रै साढे चार हजार लाभग्राहीका लागि पहिलो किस्ताको रकम स्थानीय तह विपद् व्यवस्थापन कोषमा आएको छ। केहीले स्वयं अस्थायी आवास निर्माण गरिसक्नुभएको छ। निर्माण गर्न बाँकी भएकाहरूलाई पनि रकम खातामा पठाइदिन्छौं र अस्थायी आवास निर्माणको काम धमाधम हुन्छ। जतिसक्यो त्रिपालमा बसेका पीडितलाई छिटो अस्थायी आवासमा ल्याउँछौं।’
सानीभेरी गाउँपालिका– १ मा पनि क्षतिको विवरणलगायत प्रहरी मुचुल्का बनाउने काममा ढिलाइ हुँदा हालसम्म ५ सय ६८ घरपरिवार त्रिपालमै बसिरहेका वडा अध्यक्ष टेकबहादुर पुनले जानकारी दिए। क्षतिको विवरण तथा प्रहरी मुचुल्काको काम सकिएकाले अब बजेट प्राप्त हुनासाथ तत्काल अस्थायी आवास निर्माणमा खटिने उनले बताए। रुकुमपश्चिममा भूकम्पका कारण २६ हजार बढी घरहरूमा क्षति पुगेको प्रारम्भिक अनुमान छ।
क्षतिको एकिन विवरण आइनसके पनि विभिन्न राजनीतिक दल अस्थायी आवास निर्माणमा खटिएका छन्। नेकपा एमालेले तीन सय स्वयंसेवक परिचालन गरेर २ सय १५ अस्थायी आवास निर्माण गरेको जिल्ला अध्यक्ष नन्दराम देवकोटाले बताए।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा अस्थायी आवास बनाउन ३५ हजार दरले रकम खर्चेर मृतकका १७ घरपरिवारलाई अस्थायी आवास बनाएको छ। त्यस्तै नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी पार्टीले पनि प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न संयमसेवक परिचालन गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)