खेलाडी

क्रिकेटर पूजाको चर्चा

क्रिकेटर पूजाको चर्चा
सुन्नुहोस्

गौशाला (महोत्तरी) : मधेसका छोरीहरूले आमाबुवाको प्रत्यक्ष निगरानीमा रहेर कामकाज गरिरहेका हुन्छन्। उनीहरूलाई निर्वाध रुपमा बाहिर घुमफिर गर्न घरपरिवारले अनुमति दिँदैन। मधेसको यस्तो अवस्थालाई चिर्दै महोत्तरीकी पूजा महतो राष्ट्रिय क्रिकेट खेलाडी बन्न सफल भएकी छन्। 

उनी छोटो समयमै चर्चा कमाउन सफल खेलाडी हुन्। क्रिकेट खेल्नकै लागि उनले विभिन्न देशको भ्रमण गरिसकेकी छन्। गौशाला नगरपालिका–९ डुवरबन्नाकी १७ वर्षीया पूजा नेपाली क्रिकेट टोलीकी चर्चित अलराउन्डर हुन्। 

बाल्यकालमै भारतको नयाँदिल्ली बसाइँका क्रममा आफूले क्रिकेट सिक्ने मौका पाएको पूजा बताउँछिन्। आर्थिक रुपमा विपन्न उनको परिवार लामो समयदेखि भारतमा बस्दै आएको थियो। पूजा बुवाको इच्छामा क्रिकेट खेलाडी बनेको बताउँछिन्। ‘म जन्मिँदा समाजले मेरो आमाबुवालाई नानाथरिका दुःख दिएका थिए। छोरीले केही गर्न सक्दैनन् भन्दै उपहास गर्थे। 

बुवाले भारतको नयाँ दिल्लीमा मजदुरी गरेर मलाई पालनपोषण गर्नुभयो। मेरो शिक्षादिक्षामा कुनै किसिमको कमी हुन दिनु भएन’, पूजा भन्छिन्, ‘शिक्षा र खेलमा घरपरिवारले सदैव सहयोग गरिरह्यो। त्यसकै फलस्वरुप आज म यस उचाइमा पुग्न सफल भएकी छु।’ उनी आफूलाई सफल खेलाडी बनाउन बुवाले धेरै मेहनत गरेको बताउँछिन्। ‘मलाई क्रिकेटर बनाउन बुवाले धेरै नै मेहनत र परिश्रम गर्नुभएको छ। मेरो सफलताका लागि दिनरात खटिरहनुहुन्थ्यो’, पूजा भन्छिन्।null

बुवा इच्छा अनुसार नै आफूले क्रिकेटलाई पेसाका रुपमा अंगालेको पूजा बताउँछिन्। ‘म क्रिकेटका माध्यमले आफ्नो बुवाको अधुरो सपना पूरा गर्न सफल भएको छु। मलाई थाहा छ, मेरो घरपरिवारले यहाँसम्म ल्याउनका लागि धेरै नै कठिनाइको सामना गरेको छ’, उनी भन्छिन्, ‘आर्थिक रुपले विपन्न भएकै कारण बुवाले चाहेर पनि क्रिकेटलाई निरन्तरता दिन सक्नु भएन। उहाँले आफ्नो खेलकुदको सपनालाई बाध्यताले गर्दा बिचमै छोड्नु पर्‍यो। मैले बुवाको अधुरो सपना पूरा गरिदिएको छु।’

उनी बुवाको प्रेरणाकै कारण क्रिकेटमा आकर्षित बताउँछिन्। ‘बुवाले सुरुमा क्रिकेटप्रति आकर्षित पार्नुभयो। दिल्लीमा अध्ययनरत रहँदा त्यहाँको विद्यालयको मैदान हुँदै अन्तर्राष्ट्रिय मैदानमा उत्रिनँ पाउँदा धेरै नै खुसी छु’, उनी भन्छिन्, ‘म बुवा र परिवारको गुण कहिले पनि बिर्सन सक्तिनँ। null

नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहको पहलमा राष्ट्रिय टोलीमा सहभागी हुन पाएको पूजाले बताइन्। उनी भन्छिन्, ‘भाइ कृष्ण महतोलाई जिल्लास्तरीय यू–१६ प्रतियोगितामा छनोट गराउने क्रममा बुवाको रोशन सरसँग सम्पर्क भएछ। त्यसपछि बुवाले मेरो कुरा पनि गर्नु भएछ। रोशन सरको पहलमा राष्ट्रिय टोलीमा छनोट भएकी हुँ’, उनी भन्छिन्, ‘राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु।’ 

यसै वर्ष राष्ट्रिय टोलीमा डेब्यु गरेकी पूजाले मलेसिया र हङकङ सम्मिलित यू–१९ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। सानो उमेरमै उनले देश तथा विदेशमा राष्ट्रको नाम उँचो बनाउन सफल भएको भन्दै अहिले गृह जिल्लामा सम्मान थाप्न ब्यस्त छिन्। उनले खेलमैदान व्यवस्थापनका लागि सरोकारवाला निकायसँग क्रिकेटर पूजाले आग्रह गर्दै आएकी छन्।

‘खेलमा हारजित भइहाल्छ। देशमा रहेका तीनै तहका सरकारले खेलाडी प्रोत्साहनका लागि भूमिका निर्वाह गर्नु जरुरी छ’, उनी भन्छिन्। null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.