श्रीमानलाई विदेश पठाउने एजेन्ट खोज्दै राधा
![श्रीमानलाई विदेश पठाउने एजेन्ट खोज्दै राधा](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_iestdkJXFu_qWi8AuydbU.jpg)
सिमरा : बारा जितपुरसिमरा उपमहानगरपालिका-११ अम्बाडारकी २३ वर्षीया राधा चौधरी यतिबेला डेढ वर्षको छोरा च्यापेर सिमरा र कलैया धाइरहेकी छिन्। होटलमा काम गर्न साउदी अरब गएका श्रीमान् एक महिनामै फर्किएपछि राधा अहिले विदेश पठाइदिने एजेन्टलाई खोज्न भौंतारिरहेकी छन्।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण राधासँग गाडीमा आवत्जावत गर्ने पैसा पनि छैन। त्यसैले उनी सासूले चलाएको साइकलमा बसेर न्याय खोजिरहेकी छिन्। पछिल्लो ६ महिनादेखि प्रशासन र सरोकारवाला निकायको दैलोमा पुगिरहेकी राधाले न एजेन्ट फेला पार्न सकेकी छिन् न त पैसा फिर्ता पाउने आश्वासन पाएकी छिन्।
राधाले कलैया बरेवाका अबास मियाँ नामका एजेन्टलाई नगद र आफन्तसँग २५ किलोको खसी सापटी मागेर दिएकी थिइन्। एजेन्टबाट ठगिएको भन्दै न्याय माग्न प्रहरीसमक्ष पुग्दा केही गर्न नसक्ने भनेर पन्छाउने गरेको राधा बताउँछिन्। श्रीमानलाई विदेश पठाउन २ लाख ५० हजार नगद र २५ किलोको खसी लिएको एजेन्टले उल्टै धम्क्याउने गरेको राधाको भनाइ छ। पैसा नदिएसम्म एजेन्टले काम गर्ने बताएपछि तीन लाख मागेकोमा अढाई लाख नगद र एउटा खसी दिएको राधा बताउँछिन्।
एजेन्टविरुद्ध मुद्दा प्रक्रिया अगाडि बढाउन बलियो प्रमाण र पर्याप्त रकम नहुँदा राधाको परिवार बिचल्लीमा छ। सामान्य लेखपढसमेत नगरेकी राधा एजेन्टको विश्वास गर्दा पीडित हुनु परेको बताउँछिन्। ‘होटलमा काम पाइन्छ। सधैं राम्रो हुन्छ भनेर ऋण खोजेर पठायौं’, राधाले भनिन् ‘तर त्यहाँ पुगेर काम नपाएपछि कम्पनीले एक महिनामै फिर्ता पठाइदियो। त्यतिबेलादेखि नै एजेन्टको खोजी गरिरहेका छौं तर फेला पार्न सकेका छैनौं।’
राधाको २५ वर्षीय श्रीमान् विजय चौधरी ललितपुर कुपण्डोलमा रहेको इनोभेटिभ ह्युमन रिसोर्स डेभलपमेन्ट प्रालिमार्फत साउदी अरबको फल अल अरेबिया कन्ट्र्याक्टिङ कम्पनीमा काम गर्न गएका थिए। एजेन्टले होटलमा काम लगाइदिने बताए पनि विजय र रोजगारदाता कम्पनीबीच भएको सम्झौतामा कामको प्रकार ‘लोडिङ र अनलोडिङ’ उल्लेख छ। सोबापत प्रतिमहिना तलब र खाना गरी एक हजार तीन सय साउदी रियाल विजयले पाउने सम्झौतापत्रमा जनाइएको छ।
तर, साउदी अरब पुगेको एक महिनासम्म विजयले काम नपाएको र एक महिनापछि कम्पनीले फिर्ता गरिदिएको राधा बताउँछिन्। ‘त्यहाँ पुगेपछि श्रीमान्ले केही काम पाउनुभएन। एक महिनासम्म कोठामै सुतेर बस्नुपर्यो’, राधाले भनिन्, ‘एक महिनापछि कम्पनी आफैंले फर्काइदियो। यता हाम्रो बिचल्ली भयो।’
विदेशबाट फर्किएका विजय अहिले नेपालगन्जमा जाली बनाउने कम्पनीमा काम गरिरहेका छन्। श्रीमान्लाई काममा पठाएर राधा भने एजेन्टले लिएको पैसा फिर्ता लिन संघर्ष गरिरहेकी छिन्। श्रीमान् विदेशबाट फर्किएपछि अर्को देश पठाइदिन्छु भन्दै आश्वासन दिने गरेको एजेन्टले अहिले पैसा फिर्ता नदिने भन्दै धम्की दिएको राधा बताउँछिन्।
‘एजेन्टले प्रहरीमा गएर पनि केही हुँदैन। पैसा फिर्ता दिन सक्दिन जे गर्नु छ गर भन्दै धम्क्याउँछ’, राधाले भनिन्, ‘प्रहरीले पनि हामीले यहाँ केही गर्न सक्दैनौं, काठमाडौं जानुस् भन्छ। अब हामी कहाँ जाने ?’ डेढ वर्षको काखे छोरालाई बोक्दै सासूले चलाएको साइकलमा बसेर कलैया र सिमरा धाइरहेकी राधा न्याय नपाएको दुःखेसो गर्छिन्।
जिल्ला प्रशासन कार्यालय बाराले आवश्यक प्रक्रिया अघि बढाउन राधाको फाइल जिल्ला प्रहरी कार्यालय बारामा पठाएको केही महिना भइसकेको छ। प्रहरीले प्रमाण खोजिरहेको छ। एजेन्टलाई पैसा दिएको प्रमाण राधासँग छैन। मेनपावर कम्पनीले पैसा आफूलाई नदिएको बताउँछ। विजयले पासपोर्ट फिर्ता पाएका छैनन्। जसका कारण राधा पीडित छिन्। ‘एजेन्टलाई नगद पैसा दिएका थियौं। प्रहरीले प्रमाण खोजिरहेको छ’, राधाले भनिन्, ‘अब प्रमाण नभए हामीले पैसा फिर्ता पाउँदैनौं र ?’
प्रहरीले राधालाई मुद्दा प्रक्रियामा अघि बढ्न अनुरोध गरेको छ। तर मुद्दा प्रक्रियामा जान राधासँग पैसा छैन। पैसा नभएका कारण गाडीसमेत चढ्न नसकेकी राधाले मुद्दाका लागि आवश्यक पर्ने रकम जुटाउन पुनः ऋण खोज्नुपर्ने अवस्था छ। एजेन्टले लिएको पैसा उठाउनका लागि ऋण खोज्ने सामथ्र्य नभएपछि राधा अहिले सुरक्षित आप्रवास (सामी) परियोजना र आप्रवासी हकहित सञ्जालमा पुगेकी छिन्।
स्विस सरकारको सहयोगमा सञ्चालित सामी परियोजनाको जितपुरसिमरास्थित परामर्श केन्द्रका सूचना परामर्शकर्ता नवराज घिमिरेले राधाको परिवारलाई एजेन्टले ठगेको बताउँछन्। विदेश पठाउने भन्दै एजेन्टले राधासँग पैसा र खसी लिएको तर प्रमाण नभएका कारण समस्या भइरहेको घिमिरेले बताए। ‘राधासँग प्रमाण नभएका कारण झन् पीडित हुनु परेको अवस्था छ। हामीले प्रयास गरिरहेका छौं।’, घिमिरेले भने, ‘अब यस विषयमा स्थानीय प्रशासन र स्थानीय सरकारले चासो दिएर लाग्नुपर्छ। अनि मात्रै पीडितले न्याय पाउने देखिन्छ।’
एजेन्टसँग आफूले पीडितको विषयमा कुरा गर्दा ‘बसेर मिलाउनुपर्छ’ भन्दै पन्छिने गरेको घिमिरे बताउँछन्। वैदेशिक रोजगार विभागसम्म पुगेर न्यायका लागि लड्न पीडितसँग सामथ्र्य नभएका कारण स्थानीय स्तरबाट यसको समाधानको उपाय खोजिनुपर्ने घिमिरेको भनाइ छ। आप्रवासी हकहित सञ्जाल मधेस प्रदेश महासचिव शंकर सिम्खडाले राधाले एजेन्टविरुद्ध अघि बढाएको फाइलमा प्रहरीले व्यक्ति फेला नपरेको भनेर उल्लेख गरेको बताउँछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)