लोसपा नेतृत्वमा तीव्र मतभेद : अध्यक्ष ठाकुर मौन बस्छन्, महतो बैठकमै आउँदैनन्

लोसपा नेतृत्वमा तीव्र मतभेद : अध्यक्ष ठाकुर मौन बस्छन्, महतो बैठकमै आउँदैनन्
फाइल तस्बिर।

 काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीमा विवाद बढेको छ। अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बीचको टकराबले विवाद सतहमा आएको हो।

यसै टकराबले पार्टीभित्र नेता–कार्यकर्तामा फाटो सुरु भएको छ। यसको असर अध्यक्ष ठाकुरले आइतबार बोलाएको केन्द्रीय समितिको बैठकमा प्रष्ट देखियो। उक्त बैठक वरिष्ठ नेता महतोले बहिष्कार गरे। अर्का वरिष्ठ नेता अनिल झा पनि महतोकै पक्षमा उभिए। बैठकमा ठाकुर पक्षका पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी, वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ला, वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनल र लक्ष्मणलाल कर्णलगायत मात्रै उपस्थित भए। 

२८ महिनाअघि नै उपेन्द्र यादवसँग असन्तुष्ट भएका ठाकुर, सिंह, महतो र झाले लोसपा पार्टी खोलेका थिए। तर, दुई वर्ष नबित्दै ठाकुरसँग महतोको सम्बन्धमा दरार पैदा भएको छ। मधेसको पहिचना र अधिकारका लागि लडेका तीन दर्जन पुराना नेतालाई केन्द्रीय सदस्य नबनाएको भन्दै महतोले बैठक बहिष्कार गरेको केन्द्रीय सदस्य पिताम्बर महतोले बताए। 

२०७८ भदौ अन्तिम साता जसपाका अध्यक्ष उपेन्द्र यादवसँग राजनीतिक सम्बन्ध तोड्दै ठाकुर नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा उनीहरूले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराएका थिए। कार्यकारिणी समितिको भरमा लोसपा दुई वर्ष चल्यो। तर, केन्द्रीय समिति विस्तारमा पार्टी नेतृत्वले चासो नदेखाएको असन्तुष्ट बनेका नेता महतो बताउँछन्। 

तीन महिनाअघि पार्टी अध्यक्ष ठाकुरले पार्टीको विधानअनुसार ४ सय १ जनाको केन्द्रीय समिति विस्तार गर्न कार्यकारिणी समितिको बैठक बोलाएका थिए। तर, त्यहाँबाट ३ सय ११ सदस्य केन्द्रीय समिति मात्रै विस्तार भयो। नेता महतो भन्छन्, ‘केन्द्रीय समिति विस्तारका लागि हामीले म्यान्डेड दिएका थियौं। लोसपामा जति पुराना मान्छेहरू आएका छन्, ती सबै स्वतः केन्द्रीय समिति हुने भनिएको थियो। त्यसमा सहमति पनि भएको थियो। तर, दुई वर्ष ढिला गरी पार्टी अध्यक्षले केन्द्रीय समिति विस्तार गर्दा उल्लंघन गर्‍यो। त्यसैले केन्द्रीय समितिको बैठक बहिष्कार गरिएको हो।’

दुई महिना अघिको त्यो कार्यकारिणी समितिको बैठकमा पुराना सहमति कार्यान्वयन गर्ने पार्टी अध्यक्ष ठाकुरले असन्तुष्ट वरिष्ठ नेता महतोसँग प्रतिबद्धता जनाएका थिए। तर, पार्टी अध्यक्षले त्यो प्रतिबद्धता कार्यान्वयन नगर्दै आइतबार केन्द्रीय समिति बैठक बोलाएको नेता महतोले बताए। ‘दुई महिनाअघिको कार्यकारिणी समितिको बैठकमा मधेसवादी योद्धाहरूलाई किन केन्द्रीय सदस्य बनाइएन ? प्रश्न उठाए। उहाँले भुल सुधार गर्ने भन्नुभयो। तर, आइतबार बिना भुलसुधार केन्द्रीय समितिको बैठक बोलाइयो। अनि बहिष्कार गरे।’

नेता महतोले पार्टी अध्यक्ष ठाकुरले मधेसवादलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन्। ‘पहिचान र अधिकारवादी पार्टीमा महन्थजीले पुराना नेताहरूलाई केन्द्रीय सदस्य नबनाएर मधेसवादलाई कमजोर गर्ने काम गर्नुभयो उहाँको यो काम मधेस विरोधी हो’, उनले भने।

ठाकुर र महतोको टकराबले लोसपा फुटको संघारमा पुग्ने चर्चा पनि चुलिएको छ। तर, असन्तुष्ट बनेका नेता महतोले पार्टी फुटाउने आफ्नो कुनै योजना नरहेको बताए। अब लोसपा फुटाएर नयाँ पार्टी गठन गर्न लाग्नुभएको हो ? भन्ने प्रश्नमा नेता महतोले भने, ‘छैन, छैन। पार्टी अध्यक्षले भुल सुधार नगरेकाले पार्टीको बैठक बहिष्कार मात्रै गरेको हो।’

यता नेता महतोले किन पार्टी बैठक बहिष्कार गरे भन्नेबारे आफूलाई नसोध्न पार्टी अध्यक्ष महन्थ ठाकुरले आग्रह गरे। उनले भने, ‘राजेन्द्रजी किन बैठकमा आउनुभएन उहाँलाई नै सोध्नुस्। मलाई उहाँले केही भन्नु भएको छैन।’ तीन दर्जन पुराना मधेसवादी नेतालाई केन्द्रीय सदस्य बनाउने प्रतिबद्धता किन लागू गर्नुभएन ? भन्ने प्रश्नमा नेता ठाकुरले भने, ‘पुराना मधेसी दलका नेताहरू कहाँ—कहाँ पुगेका छन्। कहाँ–कहाँ के–के भएको छ, इतिहास हेर्नुस्।’ 

अध्यक्ष ठाकुर महतो पक्षका नेताहरूलाई केन्द्रीय सदस्य नबनाउने पक्षमा देखिएका छन्। पुरानो सहमति लागू नगरेसम्म बिरोध जारी राख्ने मुडमा वरिष्ठ नेता महतो देखिएका छन्। वरिष्ठ नेता महतोलाई कसरी मिलाएर लैजानुहुन्छ ? भन्ने प्रश्नमा अध्यक्ष ठाकुरले थपे, ‘उहाँलाई सोध्नुस्। जसको इन्टेन्सनै मिल्ने छैन, उसलाई कसरी मिलाउने ?’

नेता महतोको मागलाई सम्बोधन गर्न छलफल चलाउनुहुन्छ ? भन्ने प्रश्नमा अध्यक्ष ठाकुरले भने, ‘यो हाम्रो आन्तरिक मामिला हो।’ पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले पार्टीभित्र कुनै विवाद नरहेको बैठकमा सहभागीलाई जानकारी गराएका थिए। तर, पार्टी अप्ठ्यारोमा रहेको संकेत भने मज्जाले गरे। ‘पार्टीका मेरो तेरो केही छैन। हामी सबै राजनीतिक जीवनमा बाँधिका छौं’, उनले भने, ‘हामी सबै अप्ठ्यारोका छौं। पार्टीलाई एक ढिक्का बनाउनुपर्छ।’

स्वार्थ मिल्दा जुट्ने अनि मनमुटाब हुँदा फुट्ने रोगले मधेसवादी दलहरू ग्रस्ती छन्। यो रोग लोसपालाई पनि लाग्न खोजेको नेता तथा कार्यकर्ताहरू भनाइ छ। केन्द्रीय सचिव मनिष मिश्रले पार्टीलाई झोले नबनाउन पार्टी अध्यक्षलाई सुझाव दिए। उनले भने, ‘तराईको २२ जिल्लामा पार्टीलाई विस्तार गर्नुस्। पार्टीबाट नेता गयो, पार्टी सक्यो। नेता फर्कियो पार्टी जन्मियो भन्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ। पार्टी फुटाउने काम बन्द गर्नुस्।’ 

पार्टीका गुठबन्दी हाबी भएको अर्का केन्द्रीय सदस्य प्रेमा चौधरीले बताइन्। ‘नेताहरूको चापलुसी र चाकरी गर्नेहरूले पद पाउँछन्। यो प्रथा समाप्त नहुने हो भने पार्टीमा इमान्दार र मेहनती कार्यकर्ताले ठाउँ पाउँदैन’, उनले भनिन्।

पार्टीभित्र देखिएको असम्झदारी र मन मुटाव हटाउनका लागि छलफलको वातावरण बनाउने पार्टीका महासचिव केशव झाले बताए। उनले भने, ‘वरिष्ठ नेता महतोको मागलाई हामी छलफल गरेर मिलाउँछौं।’ 

बैठकले माघ ११ हुने राष्ट्रियसभाका लागि निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको पार्टीका सचिव मनिष मिश्रले जानकारी दिए। आउँदो पुसमा केन्द्रीय समितिको बैठक मधेस प्रदेशमा राख्ने निर्णय भएको उनले बताए। आइतबारको बैठकमा दर्जन बढी केन्द्रीय सदस्यले धारणा राखेका थिए। 

केन्द्रीय बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन, पार्टीको राजनीतिक कार्यदिशासम्बन्धी प्रतिवेदन तयार पार्न कार्यदल गठन, संगठन विस्तार र अन्तरिम विधान पुनरावलोकन गर्न कार्यदल गठन गर्नेलगायत एजेन्डाहरू राखिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.