सुन्तलाखेतीले फेरिदियो जीवनशैली
चितवन : सुन्तला लटरम्म फलेर बोटले धान्न नसकेपछि काठको टेका लगाएर हाँगो जोगाएको छ। पाकेर पहेँलै भएको सुन्तलाबारीको बीचमा बस्ती बसेको छ। हरेक घरको छेवैमा सुन्तलाबारी छन्। इच्छाकामना गाउँपालिका–३ माझगाउँ पुग्नेहरू लोभलाग्दा सुन्तलामा नजर डुलाउँछन्। रसिला सुन्तलाले मुखै मिठ्याउने मात्रै होइन, माझगाँउको दुःख बिर्साइदिएको छ, यो खेतीले।
यही सुन्तलाले गाँउको जीवनशैली फेरिदिएको छ। ५६ वर्षीय इन्द्रबहादुर गुरुङले पुरानो दुःखबाट नयाँ जीवनमा फर्किंदाको अनुभव सुनाए। अहिलेको सुन्तला बारीमा उनीहरू पहिला कोदो मकै लगाउँथे। त्यसले ६ महिना पनि खान पुग्दैनथ्यो। त्यसपछि मजदुरी गर्न हिँड्थे। अहिले सुन्तला बिक्री गर्न थालेपछि ती दिनहरू फेरिएका छन्। ‘सुन्तलाखेती थालेपछि त्यसले हाम्रो गरिबी हटेको छ,’ इन्द्रबहादुरले भने, ‘कोदो मकैले ६ महिना पुग्थ्यो। त्यसपछि मजदुरी गर्न हिँड्नु पथ्र्यो। अहिले घरैमा बसेर आम्दानी पाउँदा धेरै सहज भएको छ।’
सुन्तला घरैबाट बिक्री हुन्छ भन्ने पनि थाहा थिएन माझगाँउका बासिन्दालाई। ३० वर्षअघि फलेका सुन्तला बोटबाटै झर्थे। खाएर बचेको बोटबाटै झरेर कुहिन्थे। पाहुना आउँदा कोसेली पठाउँथे मात्रै। सुन्तला बिक्री नहुँदा स्थानीयले ज्याला मजदुरी, कुल्ली काम गर्नुपथ्र्यो। अहिले त्यो समस्या छैन। उनीहरूकोे जीवन फेरिएको छ। व्यावसायिक सुन्तलाखेती गर्न थालेपछि गाउँको दुःख हटेको छ। ‘सुन्तलाखेतीपछि चामलको भात खान दसंै–तिहार पर्खिन नपर्ने भएको छ,’ सीताराम गुरुङले भने, ‘सुन्तलाखेती गरेपछि विगतको दुःख बिर्साइदिएको छ। पहिलाकोे र अहिलेको अवस्थामा आकाश पातालको फरक भएको छ।’
माझगाउँमा २०५२ सालबाट व्यावसायिक खेती सुरु भएको हो। सुन्तलाखेतीसँगै तरकारी खेती पनि गरिएको छ। पहिला बजार नपाउने समस्याले इच्छाकामनाको माझगाउँमा सुन्तलाको व्यावसायिक खेती गरिएको थिएन। मोटर बाटो नहुँदा झनै समस्या थियो। अहिले माझगाउँमा सबैभन्दा कम भनेकै परिवारले वार्षिक ६ लाख रुपैयाँको सुन्तला बिक्री गर्छन्।
खालीबारीमा सुन्तलाका बिरुवा रोप्ने क्रम बढेको छ। झरेर कुहिने सुन्तलाले बजार पाएको छ। सडक बनेपछि पृथ्वी राजमार्गको फिस्लिङबाट करिब आधा घण्टामा माझगाउँ पुगिन्छ। खड्गराम गुरुङले पनि बारीमा सुन्तला रोपेका छन्। पाँच सय बिरुवा रोपेका छन्। वार्षिक पाँच लाख बेच्छन्।
इच्छाकामनाको सुन्तला मंसिरको अन्तिम साताबाट बिक्री सुरु हुन्छ। घरको आँगनबाटै सुन्तला बिक्री हुन्छ। किसानले सुन्तला प्रतिकिलो एक सय रुपैयाँसम्म बिक्री गर्छन्। इच्छाकामना गाउँपालिकामा तीन सय बिघाभन्दा बढी सुन्तलाखेती छ। वडा नम्बर तीनमा मात्रै सय बिघाभन्दा बढीमा सुन्तलाखेती छ। माझगाउँसहित सिरान गाउँ, सिस्नेरी, तल्लो डँुडे, माथिल्लो डुँडे, रुप्लाङ, तोक्दाङ, तल्लोढापमा करोडौंको सुन्तला बिक्री हुन्छ। ‘किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन दिन प्राविधिक सहयोग र अनुदानको सुविधा दिएका छौं, वडाध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता नरबहादुर नेपालले भने ।