एनसेलको सेयर खरिद-बिक्रीविरुद्ध परेको रिटको पेशी न्यायाधीश ढुंगानाको इजलासमा
काठमाडौं : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे परेको रिटको पेशी न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा परेको छ।
यसअघि आइतबार र सोमबार रिटमाथि सुनुवाइका लागि पेशी तोकिएपनि हेर्न नभ्याइने सूचीमा राखिएको थियो। आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासमा र सोमबार न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेशी तोकिएको थियो।
प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दिएका थिए। सांसद सिंहले रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरेका छन्।
नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा गरिएको सेयर कारोबारको वैधानिकता उत्प्रेषणको आदेशले बदर गर्न समेत रिटमा माग गरिएको छ।
आजियाटा र स्पेक्ट्रलाइट यूके लिमिटेडबीच कारोबार अपारदर्शी भएको र एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी सेयर खरिदबिक्रीको सम्झौता भएको दाबी रिट निवेदनमा गरिएको छ।
एनसेल कम्पनीको सेयरबिक्रीमा विधिको शासनलाई चुनौती भएको उल्लेख गर्दै रिटमा अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड भएको जिकिर गरिएको छ। मलेसियाको कम्पनी आजियाटाले आफूसँग भएको एनसेलको ८० प्रतिशत स्वामित्व बेचेको सार्वनजिक भएपछि विवाद सुरू भएको छ।
प्रतिक्रिया दिनुहोस !