फुटको संघारमा लोसपा

ठाकुरसँग विद्रोह गरेर नयाँ पार्टी खोल्ने कि पुरानै दल ब्युँत्याउने भन्ने छलफलमा महतो

फुटको संघारमा लोसपा

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीको विवाद चुलिएर फुटको संघारमा पुगेको छ। वरिष्ठ नेता राजेन्द्र महतो अध्यक्ष महन्थ ठाकुरसँग विद्रोह गरी नयाँ पार्टी खोल्ने कि पुरानै दल सद्भावना ब्युँत्याउने भनेर आफूनिकट नेता तथा कार्यकर्तासँग छलफलमा जुटेका छन्। उनले जिल्लाबाहिर जाने कार्यक्रम रोकेर पुरानो बानेश्वरस्थित निवासमा रणनीति तयार गरिरहेका छन्। 

आइतबार बसेको लोसपाको केन्द्रीय समितिको बैठक बहिष्कार नेता महतोले ठाकुरसंग पार्टीबाट ‘कित्ताकाट’गरेर बाहिरिने छनक दिइसकेका छन्। पुराना नेताहरुलाई अध्यक्ष ठाकुरले केन्द्रीय सदस्य नबनाएपछि ठाकुर र महतोबीच दुई महिना अघिदेखि खटपट सुरु भएको लोसपाका महासचिव केशव झाले बताए।  उनले भने, ‘पुराना नेतालाई केन्द्रीय सदस्य बनाउने सहमति थियो। तर, त्यो लागु नगरेर अध्यक्षजीले गम्भीर त्रुटी गर्नुभएको हो कि जस्तो लागेको छ ।’ 

पुराना नेतालाई किनारा लगाउनु नै लोसपा फुट्नु मुख्य कारण हो। पार्टी गठन भएको दुई बर्ष नबित्दै लोसपाका पहिलो र दोस्रो तहका नेताहरुबीचको तिब्र असन्तुष्टि सतहमा आएको केन्द्रीय सदस्य पिताम्बर महतोले जनाए। यसले लोसपा पार्टी बाल्यकालमै फुटको संघारमा पुग्न बल पुगेको उनले बताए। यसअघि पार्टीको नेतृत्व सम्हालेर आएका नेता महतोले ठाकुरको कार्यशैलीदेखि सुरुदेखि नै रुष्ट छन्।  नेता महतोले नयाँ पार्टी बनाउन लागेको हो ? भन्ने प्रश्नमा उनका निकट अर्का नेता अनिल महासेठले भने, ‘त्यो अहिले नै भन्न सक्ने अवस्था छैन।’ 

अध्यक्ष ठाकुरले मधेशवादलाई कमजोर पारेको नेता महतोको ठहर छ। ‘महन्थजीले पार्टी भित्र एक्सिडेन्ट होस् भन्ने पहिलेदेखि नै चाहनुभएको छ। उहाँले त्यो व्यवहार देखाउँदै आउनुभएको छ’, लोसपाका एक केन्द्रीय सदस्यले भने, ‘यसले पार्टी भित्रै नेता महतो हेपिएको महसुस गरिरहनुभएको छ।’ यसले वरिष्ठ नेता राजेन्द्रलाई लोसपाभित्र दुर्घटना गरेर निस्किने माहोल मिलेको उनले बताए। उनी थप्छन्, ‘ नेता ठाकुर र महतोबीच यसरी सम्बन्ध चिसिएको छ कि अब सम्भव त महतोजी लोसपामा रहनुहुन्न।’

केन्द्रीय समितिको बैठक बहिष्कार गरेर ‘राजनीतिक सम्बन्ध विच्छेद’

पार्टीको केन्द्रीय समितिको बैठकलाई बहिष्कार गरेर नेता महतो अध्यक्ष ठाकुरसंग ‘राजनीतिक सम्बन्ध विच्छेद’गर्ने खबर दिइसकेका छन्। यसको पक्षका अर्का वरिष्ठ नेता अनिल झा छन्। 

आदिवासी जनजाती, मधेशवादी पक्षधर र थारुहट संविधान संशोधनको माग गर्दै आएका छन्। तर, यो एजेन्डा मधेशवादी दलहरु फुटेका कारणले कमजोर बनेको चर्चा हुँदै आएको छ। आदीवासी जनजाती, मधेशी र थारुलाई एकठाउँमा ल्याएर नेता महतो फेरि मधेशको राजनीतिक कित्तामा चम्किन कसरतमा जुटेका देखिन्छ। ‘लोसपा पार्टीभित्र अनि बाहिर उत्पीडित जनताले अधिकार  पाएका छैनन्। उनीहरुको मनमा ‘विद्रोहको बारुद’छ। राजेन्द्रले नेतृत्व गरेर त्यसलाई‘ब्लाष्ट’ गर्ने तयारी गर्नुभएको छ’, लोसपाका एक नेताले भने। 

पार्टी अध्यक्ष ठाकुरले पार्टी र एजेण्डालाई ध्वस्त पार्ने काम गरेको महतो आरोप छ। पार्टी गठन भएको दुई वर्षमा तल्लोस्तरसम्म पार्टी संरचना विस्तार नगर्नु, अधिकार नदिएर सरकारले संघीयतालाई कमजोर बनाउदा मौन बस्नु, प्रदेशहरु पहिचानविहिन हुँदा पनि विराध नगर्नुलाई महतोले ठाकुरको कमजोरी र त्रुटीका रुपमा औंल्याएका छन्।

अध्यक्ष ठाकुरले विस्तार गरेको पार्टी संरचनालाई परिवर्तन गरेर पनि कुनै काम लाग्ने खालेको नभएको नेता महतोको ठहर छ।‘लोसपालाई जति सुकै डेन्टिपेन्टिङ्ग गरेपनि यो पार्टी मधेशको उत्पीडित मधेशी, जनजाती र थारुहटको माग र मुद्दालाई उठाउन सक्दैन। अब लोसपा पार्टी रहेन, लोसे पार्टी भयो’, नेता महतोको विरोधको स्वरबारे बताउँदै उनी पक्षका एक नेताले भने,  ‘लोसपा पार्टीलाई नर्कमा पनि ठाउँ छैन। यो पार्टी नर्कमा पनि ठेलमठेल छ।’

एजेन्डा नभएको निष्कर्ष

लोसपाको प्रतिनिधिसभाका हाल चार जना सांसद् छन्। यो पार्टी आउँदो चुनाव २०८४ सम्म टिक्छ। त्यसपछि लोसपा पार्टी नै सिद्धिने महतोले निचोड निकालेका छन्। स्रोतका अनुसार, दुई वर्षसम्म केही हुन्छ कि भनेर नेता महताले ठाकुरको कार्यशैलीलाई हेरेर बसेका थिए। तर, पार्टी ध्वस्त बन्दै गएपछि उनी आफ्ना निकट नेता तथा कार्यकर्ताको राजनीति जीवन सुरक्षित गर्न लोसपामा विद्रोहको बाटो रोजेका हुन्।

नेता महतोले पार्टीहरुसँग अब कुनै राजनीतिक एजेन्डा नभएको निष्कर्ष निकालेका छन्। ‘लोकतान्त्रिक गणतन्त्र आएपछि कांग्रेस, माओवादी र एमालेको एजेण्डा सक्यो। उपेन्द्र यादव मधेशवादबाट फ्लोप नै भयो। लोसपा लोसे भएर सकिन्छ। सिके राउतको विचार नै स्पष्ट छैन ’, उनले निकालेको निचोडबारे बताउँदै उनी निकट एक नेता भन्छन् , ‘रेशम चौधरी छुटेपछि नागरिक उनमुक्ति पार्टी एजेण्डाविहिन बन्यो। रवी छामिछाने संघीयताप्रति प्रतिबद्ध नै छैनन्।’ त्यसैले राजेन्द्रले राजनीतिक खेलमैदान खाली रहेको निष्कर्षमा पुगेको ति नेताले बताए।

पुरानै एजेन्डालाई नेता महतोले बोक्ने तयारीमा छ। संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, समावेशी समानुपातिको कार्यान्वन, संघीयताको सफल अभ्यास लगायतका एजेन्डामा उनी फेरि पार्टी खोल्न लागेका महतो निकट नेताहरुले जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.