जसले पढाउँछन् दलित बालबालिकालाई निःशुल्क ट्युसन
![जसले पढाउँछन् दलित बालबालिकालाई निःशुल्क ट्युसन](https://annapurnapost.prixacdn.net/media/albums/class-free_bWreG58nMr_XkCPn9lOgS.jpg)
जनकपुरधाम : एकाबिहानै मनोज राम पर्साको सखुवा परसौनी–५ महुवास्थित दलित बस्ती पुग्छन्। त्यतिबेलासम्म बोरा, चकटी र कापीकलम लिएर तम्तयार हुन्छन्, दलित समुदायका बालबालिका। अनि, सुरु हुन्छ, उनीहरूको ट्युसन कक्षा।
मनोजले दलित समुदायका बालबालिकालाई बिहान र साँझ निःशुल्क ट्युसन पढाउँछन्। शैक्षिक ज्ञान मात्र नभई उनले सामाजिक रूपमा बाँच्ने सीप र गुण पनि सिकाउँछन्। कसरी सफासुग्घर हुने, घरपरिवारमा कस्तो व्यवहार गर्ने, ठूलासानालाई आदर र सम्मान कसरी गर्ने लगायतका दैनिक जीवनका ज्ञान बालबालिकालाई सिकाउँछन्। दैनिक डेढदेखि दुई घण्टा बिहान र त्यत्तिनै समय बेलुका मनोजले निःशुल्क ट्युसन कक्षा सञ्चालन गरिरहेका छन्।
पढेर ठूलो मान्छे बन्ने धोको मनोज रामको सानै उमेरदेखि थियो। पर्साको सखुवा परसौनी गाउँपालिका–५ महुवाको दलित बस्तीमा चमार समुदायमा जन्मिएका मनोजको नत घरपरिवारमा कसैले किताब कापी देखेका थिए। नत कसैले विद्यालय पढ्ने अवसर नै पाएका थिए। बुवा जंगबहादुर महरा खेतबारीमा मजदुरी गर्थे। गाउँमा गीत गाउने र नाच्ने काम गर्थे। आमा मैनादेवी महरा पनि मजदुरी गरेर जेनतेन मनोज र उनका तीन भाइबहिनीको गुजारा चलाउँथिन्।
आर्थिक रूपमा निकै विपन्न परिवार भए पनि मनोजको सपना पढेर ठूलो मान्छे बन्ने थियो। उनको सपनालाई पूरा गर्न आमा मैनाले पनि सघाइन्। मनोजले शिक्षा संकायबाट स्नातकसम्म पढिसकेका छन्। उनले शिक्षा सेवा आयोगमा नाम निकालेर सरकारी शिक्षकको जागिर पनि पाइसकेका छन्। बाल्यकालमा गुणस्तरीय शिक्षाका लागि पाएको कठिनाइ र आर्थिक अभावमा ट्युसन पढ्न नपाउँदाको पीडा उनको मनमा थियो। दलित र असहाय समुदायका बालबालिकाले आफ्नो जस्तो अवस्था भोग्नु नपरोस भनेर निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको मनोजले बताए।
‘मैले आफ्नै गाउँबाट ट्युसन पढाउन सुरु गरेँ,’ मनोजले भने, ‘सुरुमा दलित बस्तीकै ५० जना बालबालिकालाई पढाउन थाले। पछि अन्य साथीभाइले पनि यस अभियानलाई सहयोग गर्न इच्छा देखाएपछि अहिले पर्साका पाँचवटा स्थानीय तहका दलित बस्तीमा निःशुल्क ट्युसन पढाउन थालेका छौं।’ दलित समुदायको उत्थान नहुनुमा सबैभन्दा प्रमुख कारण अशिक्षाकै अभाव भएको उनले बताए।
‘त्यसैले हाम्रो समुदायलाई शिक्षित बनाउन हामीले सानोतिनो प्रयास गरिरहेका छौं,’ उनले भने। दलित बालबालिकामा शिक्षाको पहुँच बढाउने उद्देश्यले ०७७ सालमा ९ जना दलित समुदायकै युवाहरू मिलेर मनोजले गाउँमै ‘पिस फोर दलित फाउन्डेसन नेपाल’ नामको संस्था खोले। यस संस्थामार्फत उनले पर्साको सखुवा परसौनी–५ महुवन, सोही गाउँपालिका–३ कौवावनको मुसहर बस्ती, कटैया गाउँको दलित बस्ती र बाराको इनर्वा बस्टोलवाको दलित बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गरिरहेका छन्।
‘दलित बालबालिकाका लागि सामुदायिक निःशुल्क ट्युसन कक्षा तथा सिकाइ केन्द्र’ नाम दिएर स्वयंसेवक शिक्षकहरूको सहायताले सञ्चालित ट्युसन कक्षाहरूमा अहिले १ हजारभन्दा बढी दलित बालबालिका अध्ययनरत छन्।
‘यी निःशुल्क कक्षाहरू सञ्चालन गर्दा हामीलाई अर्थको खाँचो पनि पर्छ तर, त्यो रकमहरू हामी आफ्नै कमाईबाट र चन्दा संकलन गरेर जोहो गर्छौं,’ मनोजले भने, ‘सामाजिक सञ्जालमा हाम्रो अभियान र निःशुल्क ट्युसन कक्षाको फोटोहरू राख्दा धेरै जना सहयोगीहरूले दलित बालबालिकाहरूलाई कापी, कलम जस्ता शैक्षिक सामग्रीहरू पनि बेलाबखत उपलब्ध गराउँछन्। मधेसका सम्पूर्ण बालबालिकाहरू माझ निःशुल्क शिक्षा पुर्याउन प्रदेश र स्थानीय सरकारबाट पनि सहयोगको खाँचो छ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)