अर्थतन्त्र सही दिशातर्फ

अर्थतन्त्र सही दिशातर्फ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : समष्टिगत आर्थिक परिसूचकले अहिले अर्थतन्त्र सही दिशातर्फ उन्मुख भएको संकेत गरेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८०/८१ को चार महिनाको तथ्यांक) विश्लेषण गर्दा अर्थतन्त्र सही दिशा पहिल्याएको संकेत गरेको हो।

मूल्यवृद्धिको बजार पनि केही कम हुने पछिल्लो तथ्यांकले संकेत गरेकोे छ। समग्रमा यस अवधिसम्म उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत छ। यद्यपि बजारमा भने केही वस्तुको मूल्य भने महँगो नै भएको गुनासो छ। तथ्यांकले पनि खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तु १४.५९, फलफूल १४.०१, खाद्य तथा खाद्यजन्य पदार्थ १२.०२ र दुग्ध पदार्थ तथा अन्डा ११.०० प्रतिशतले बढेको छ। तर यस महिनामा घिउ तथा तेल १४.२३ र तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.३५ प्रतिशतले घटेको छ।

यता बाह्य क्षेत्र बलियो देखिन्छ। अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दो क्रममा छ। विप्रेषण, विदेशी विनिमय सञ्चिति बढेको अवस्था छ। बाह्य क्षेत्रमा पनि सुधार भएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन्। यो अवस्थामा आर्थिक गतिविधि बढाउन लाग्नुपर्ने उनको सुझाव छ। डा. भट्ट भन्छन्, ‘महँगी नियन्त्रित हुँदै जाने देखिन्छ। पर्यटक आगमनमा सुधार राम्रो छ। कर्जा प्रवाह अपेक्षा जति नभए पनि बढेकै छ।’ यससँगै सरकारको आय पनि बढेकाले अब परिस्थिति सहज हुने उनको भनाइ छ। पछिल्लो तथ्यांकअनुसार कात्तिकसम्ममा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम) २ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँ भएको छ। यो गत वर्षभन्दा बढी हो। गत आर्थिक वर्षको पहिलो चार महिनामा १९.८ प्रतिशतले घटेको राजस्व अहिले ३ प्रतिशतले बढेको छ। 

सेवा खातामा दबाब

विदेशमा अध्ययन गर्न जाने विद्यार्थी र भ्रमणमा जानेबाट विदेशी मुद्रा बढी बाहिरिँदा सेवा खातामा आय घटेको छ। चालू आवको चार महिनासम्म खुद सेवा आय २८ अर्ब २० करोड रुपैयाँले घाटामा छ। सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४७.२ प्रतिशतले वृद्धि भई २५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। सेवा खाताअन्तर्गत भ्रमण व्यय ६५ प्रतिशतले वृद्धि भई ६१ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय ३८ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। सेवा खाता आय घाटामा जानुको कारण बताउँदै प्रवक्ता डा. भट्ट भन्छन्, ‘सेवा खाता घाटा बढ्नुको कारण कोभिडका बेला २–३ वर्ष धेरै बाहिर पढ्न जान रोकिएका र विभिन्न कार्यक्रममा बाहिर जानेहरू पनि रोकिएकाले यो वर्ष सबै जाँदा विदेशी मुद्रा बढी बाहिरिएको हो।’ 

यसकारण बाह्य क्षेत्र सुदृढ हुँदै

आयात नियन्त्रित हुँदै गएको छ। पछिल्लो समय कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले कमी आई ४६१ अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ। चालू आवको कात्तिकसम्ममा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आई ५० अर्ब ५७ करोड रुपैयाँ कायम भएको छ। साथै, कुल वस्तु आयात ३.८ प्रतिशतले कमी आई ५१२ अर्ब ५० करोड रुपैयाँ रहेको छ।

पछिल्लो समय विप्रेषणमा राम्रो सुधारले मुलुकको चालू खाता र शोधनान्तर बचतमा छ। गत कात्तिकसम्ममा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भई ४७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। यससँगै, चालू खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा छ। यस्तै, पुँजीगत ट्रान्सफर ४६.६ प्रतिशतले कमी आई १ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। 

यता शोधनान्तर स्थिति १४७ अर्ब ११ करोड रुपैयाँले बचतमा छ। बाह्य क्षेत्र सबल हुन थालेकाले मुलुक भित्रिने विदेशी मुद्रा पनि बढ्दो छ। परिणामस्वरूप विनिमय सञ्चितिको आकार फराकिलो भएको छ। कुल विदेशी विनिमय सञ्चिति गत असार मसान्तभन्दा १०.२ प्रतिशतले वृद्धि भई यही कात्तिक मसान्तमा १६९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति पनि ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।  विनिमय सञ्चिति बढ्दा वस्तु तथा सेवा आयात धान्न सक्ने पर्याप्तता बढेको छ। यसकारण आर्थिक वर्ष २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.