![जानकीके होइछैं विवाह, जनकपुर मंगल हे ...](https://annapurnapost.prixacdn.net/media/albums/janaki_5_xrjERMnMDk_s7oDNek8jz.jpg)
आजु जनकपुरमे मरबा बडा सुहावन लागे,
आजु जनकपुर मंगल हे,चारु दिस मंगल हे
जनकपुर : मैथिली परम्परानुसार हुने विवाहमा गाइने गीत हो यो । यो गीत रामजानकी विवाहपञ्चमी महोत्सवमा जनकपुरधाममा गुञ्जिरहेको छ । सप्ताहव्यापी विवाहपञ्चमीले जनकपुरधामको मात्र नभएर सम्पूर्ण नेपालको परिचय बोक्छ । यसलाई नेपाल–भारत सम्बन्ध सेतुको प्रतीक मानिन्छ । त्यसैले जनकपुरधाम अहिले सजिसजाउ छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा यतिखेर कर्णप्रिय गीतहरु सुन्न पाइन्छ । विवाह, स्वागत र मङ्गल गान सहितका गीत अहिले घर–घरमा गुन्जयमान छन् । कारण हो रामजानकी विवाह महोत्सवले यति बेला मिथिला क्षेत्रको जनकपुरधाम गुञ्जयमान भएको छ । मिथिला संस्कृतिको प्रमुख पर्व मानिने यो उत्सवमा सहभागी हुन प्रत्येक वर्ष नेपाल र भारतका हजारौं भक्तजन जनकपुरधाम आउने गर्दछन् ।
राजा जनकद्वारा धनुष भाँच्ने प्रस्ताव राख्नु,धनुष भाँच्नेसँग सीताको विवाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा सितासँग स्वयम्वर गर्ने आदि गरी सिताराम विवाह महोत्सव मनाइने चलन परापूर्वकाल देखि नै जनकपुरधाममा चलिआएको छ । सीतालाई छोरी र बहिनीका रुपमा मान्ने मिथिलाबासी उत्सवमा अनिवार्य सहभागी हुन्छन् ।
विवाह पञ्चमीमा देवीदेउताको उपस्थिति हुने विश्वासका साथ उत्सवमा उपस्थित भएकाहरु जन्तीको आगमन देखि बिहे नटुंगिएसम्म नै सामेल हुन्छन् । महोत्सवमा मिथिला संस्कृति अनुसार मटकोर, तिलकोत्सव, स्वयम्वर आदि गरिने चलन रहेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले बताउँछन् ।
नेपाल–भारतको गरिमा विवाह पञ्चमी
नेपाल एक विविधतापूर्ण देश हो। नेपालमा बहु जातिय, बहुभाषिक, बहुसंस्कृतिक राष्ट्रको रुपमा चिनिन्छ । नेपाली संस्कृतिलाई छुट्टाएर एक आफ्नो अलगै पहिचान बनाउन मिथिलाञ्चलको प्राचिन कालमा विभिन्न खालका, विभिन्न रुपमा सम्पन्न विविध लोकनृत्य, चाडपर्व र महोत्सव मेलाका कारण मिथिलाञ्चलको मैथिली संस्कृति आफैमा गरिमामय रहेको छ ।
मिथिलाञ्चल बासीहरुमा आपसी सामञ्जस्य, प्रेमपूर्वक सदभाव, सौहार्द खुशी र उमंगको महान पर्वहरु फागु पुर्णिमा, रामनवमी, जुडशितल, मध्य मिथिला परिक्रमा, धनुषाधाम मकर मेला आदिलाई मिथिलाञ्चलको सौहार्दपुर्ण वातावरण बनाउनमा अत्यन्त महत्वपूर्ण भुमिका खेल्दछ ।
यसै पर्वहरुको आँगनमा नेपाल र भारतको महान पर्व मध्ये विवाह पञ्चमी महोत्सव मिथिलाञ्चलको एक सबैभन्दा महान पर्व मिथिलाका प्राचिन सांस्कृतिक, धार्मिक, संगसंगै नेपाल र भारतको सौहार्दपूर्ण वातावरणको लागि महत्वपूर्ण पर्व समेत मानिन्छ ।
जनकपुरमा प्रत्येक वर्ष मंसिर महिनाको शुक्लपक्ष पञ्चमी तिथिमा मनाईदै आएको विवाह पञ्चमी महोत्सवमा नेपाल र छिमेकी राष्ट्र भारतबाट लाखौँ श्रद्धालु भक्तजनहरुको भीड लाग्नेगर्छ। । अयोध्याबाट राजा दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान श्री राम र मिथिलाका राजा जनकका छोरी जगतजननी माता जानकीको शुभ विवाह भएको त्यो दिनमा धुमधामका साथ जनकपुरधाममा लाग्ने विवाह पञ्चमीको महोत्सव हेर्न हिन्दु धर्मावलम्वी भक्तजनहरुको घुईचो लाग्ने गर्दछ ।
नेपाल र छिमेकी देश भारत लगायत विभिन्न देशका हिन्दु धर्मावलम्वीहरु माता जानकी र भगवान रामको विवाह महोत्सव हेर्न आफ्ना उत्कृष्ठ अभिलाषाहरु लिएर विवाह पञ्चमी महोत्सवमा सहभागी हुने गर्छ्न । विवाहपञ्चमीको दुई–चार दिन पूर्व देखि नै श्रद्धालु भक्तजनहरु जानकी मन्दिर, राममन्दिर, जनक मन्दिर, राजदेवी मन्दिर, संकट मोचन मन्दिर लगायत अन्य मठ मन्दिरमा पूजा पाठ गर्ने गर्छन । कैयौँ शताब्दी देखि चलिआएको विवाहपञ्चमी महोत्सवले नेपाल र भारत बिचको सम्बन्धलाई स्थापित गराउन र संस्कृतिक, धार्मिक, समाजिक सम्बन्धलाई प्रगाढ बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको रामसागर रामस्वरुप क्याम्पसका मैथिली विभागका प्राध्यापक श्यामा देवी महतोको भनाइ छ ।
पौराणिक धारणा अनुसार मिथिला राज्यमा भयङकर खडेरी परेको अवस्थामा राज्यको राज पुरोहितको सल्लाह अनुसार राजा जनकले हलो जोत्दा त्यस भूमिबाट उत्पति भएको कन्या सीताको र राजा जनकको पौराणिक शिव धनुषलाई उचालेर पराक्रम देखाउनेलाई सीतासंग विवाह गर्ने प्रतिबद्धता अनुरुप धनुष यज्ञको हुने भनि घोषणा गरियो, घोषणा अनुसार त्यस धनुष यज्ञमा महापराक्रमी शुरवीर, राजा, महाराजा र राजकुमारहरुको सवारी जनकपुरमा भएको मान्यता रहेको छ ।
सबै शुरवीरहरुले आफनो विरता, प्रदर्शन गरे पनि कोही पनि सफल हुन सकेन । अन्त्यमा राजा जनक निराश भइ सभामा सबैको आलोचना गर्दा अन्ततः भगवान श्री रामले धनुषलाई आफनो हातले उठाई साधेको बेलामा धनुष तिन टुक्रामा विभाजित भएको थियो । मर्यादा पुरुषोत्तम रामले आदम्य पराक्रम देखाई भरी भराउ सभामा जानकीलाई माला लगाएर पत्नी बनाएका थिए । ततःपश्चात सीतासंग श्री रामको विवाह भएको थियो । त्यसबेला जनकपुरलाई अत्यन्तै सिगारिएको थियो, भन्ने भनाईका आधारमा प्रत्येक वर्ष जनकपुरको जानकी मन्दिर एवं मठ मन्दिरहरुलाई विशेष रुपमा सिगारिदै आएको राममन्दिरका छोटे महन्थ रामरोशन दास बैष्णवको भनाइ छ ।
विवाह पञ्चमी महोत्सवका दिन राम मन्दिरवाट पौराणिक विधि अनुसार बाजागाजा, डोलामा रामको मुर्ति सहित निस्केको जन्ती जनकपुरको नगरको परिक्रमा गरी स्थानीय रंगभुमी मैदान बाह्र विघा पुग्ने गर्दछ । यसै गरी जानकी मन्दिरबाट पनि पौराणिक विधिवत रुपले बाजागाजा, लावालस्कर, साधुसन्त सहित निस्केको डोला रंगभुमि मैदान बाह्र विघा पुग्ने गर्दछ ।
त्यसपछि भगवान रामको डोला सहित जन्तीलाई मिथिलाको परम्परा अनुसार स्वागत गरी डोलासहित जन्तीलाई आदरभावपूर्वक जानकी मन्दिरमा ल्याइन्छ । त्यस पश्चात धार्मिक विधि अनुरुप विवाहको पूर्ण कार्य जानकी मन्दिरको प्राङ्गनमा हुने गर्दछ । राम मन्दिरबाट आएको दुल्हाका रुपमा राम र जानकी मन्दिरबाट आएको दुल्ही सीताको रुपमा परिकल्पना गर्ने चलन रहेको छ ।
यस महोत्सवलाई हेर्न लाखौँको भिड जनकपुरमा हुन्छ । मैथिली परम्परा अनुसार विवाहका समयमा गरिने विधि व्यवहारहरु जस्तै जनकपुर दर्शन, मटकोर, तिलकोत्सव, निरिक्षण, कन्यादान, समादाओन आदि सबै प्रकारको विधिहरु विधिवत रुपमा गर्ने गरिन्छ । विवाह महोत्सवमा मैथिली संस्कृति झल्कीने विभिन्न गीतहरु गाईने गरिन्छ । जस्तै :
परिक्षण चलियौ सखि
रामचन्द्र सुहावन लागे हे ।।।।।
माता जानकीको धेरै नामहरु छन जस अन्तर्गत सिया, सीता, मैथिली, वैदेही, भूमिजा आदि प्रसिद्ध रहेका छन । विवाह पञ्चमीको महोत्सवले आम नागरिक आफनो गन्तव्यमा पुग्न लाखौँ भिडलाई छिचोल्नु पर्ने हुन्छ । विवाह पञ्चमी महोत्सवको भिडले गर्दा साईकल, मोटरसाइकल, ट्रयाक्टर, जीप, कार, बस एवंम् वयलगाडा आदि सवारी साधन जनकपुर नगर भन्दा टाढै राखिन्छ । भिडका कारण सवारी साधनहरु विशेष सर्तकताका साथ नगर प्रवेशमा रोक लगाईएको हुन्छ । यहाँ सम्म कि नगर क्षेत्रमा करिब ४÷५ दिन पूर्व नै पूर्ण रुपमा मद्य, माँस, माछा आदि विक्रि वितरणमा समेत कडा रुपमा प्र्रतिबन्ध लगाईन्छ । धर्म, संस्कृति, रितिरिवाज, धर्म, चालचलनको हिसावले प्रख्यात यो पौराणिक विवाह पञ्चमी महोत्सव नेपाल र छिमेकी मुलुक भारतका लागि आत्मीय आनन्द, सदभाव, माय प्रेम र आस्थाको अटुट प्रदर्शन स्थलका रुपमा रहेको साहित्यकार तथा संस्कृतिविद् डा। राजेन्द्र विमलको बताउँछन् ।
विवाह सम्पन्न पश्चात मन्दिर नजिकै रहेको गंगा सागर र धनुष सागरमा स्नान गरी चोखो भएर श्रद्धालु भक्तजनहरुले माता जानकी र भगवान श्री रामको जय–जयकार गर्दै दर्शन पूजा अर्चना गर्ने गर्छन । जनकपुरको प्राकृतिक प्रवेश र त्यसमा पनि विवाहपञ्चमीको क्षणमा यसले मिथिला नै र जनकपुरलाई अझ बढी आकर्षक एवम् मनमोहक तुल्याएको हुन्छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)