चोभारको मञ्जुश्री पार्कमा जिपलाइन
![चोभारको मञ्जुश्री पार्कमा जिपलाइन](https://annapurnapost.prixacdn.net/media/albums/Zip-line_cX20FGivol_lbD5RLudjE.jpg)
काठमाडौं : काठमाडौंको चोभारस्थित मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन सञ्चालनमा आएको छ। तीन चरण गरेर खेल्न पाइने जिपलाइनको कुल लम्बाइ करिब चार सय मिटर छ। सबै चरणको जिपलाइन खेल्न करिब १० मिनेट लाग्छ।
जिपलाइन खेल्दा गरिने अनुभूतिअनुसार पहिलो चरणलाई ‘एड्भेन्चर’, दोस्रोलाई ‘डेयर डेभिल्स’ र तेस्रोलाई ‘द फन’ नामकरण गरिएको छ। नायिका वर्षा राउतले शनिबार जिपलाइन उद्घाटन गरेकी छन्। उनले तीन चरणको जिपलाइनमा अन्यत्रभन्दा फरक र रोचक अनुभव लिएको बताइन्।
जिपलाइनका क्रममा मञ्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलविनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुक्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरि डाँडा, काठमाडौं तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिनेछ।
जेबी एड्भेन्चरले पर्यटन विभाग र स्थानीय तहसँग स्वीकृति लिएपश्चात् जिपलाइन सञ्चालनमा ल्याउन ल्याएको कम्पनीका निर्देशक पञ्चलाल महर्जनले जानकारी दिए। दैनिक तीन सयदेखि ३ सय ५० जनासम्मले जिपलाइन खेल्न सक्छन्। जिपलाइन हरेक दिन बिहान १० बजेदेखि साँझ ५ः३० बजेसम्म सञ्चालन हुने उनको भनाइ छ।
कम्पनीले जिपलाइनको पूरै प्याकेज केही समयका लागि १२ सय रुपैयाँ प्रतिव्यक्ति उपलब्ध गराउनेछ। तर पूरै नगरेर एक स्टेपमात्रै जिपलाइन गर्ने हो भने ५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्नेछ। विद्यार्थी (परिचयपत्रसहित) र कीर्तिपुर नगरपालिका– ६ का स्थानीयले सबैखाले जिपलाइनमा २५ प्रतिशत छुट पाउनेछन्।
कम्पनीले चोभारमा एडभेन्चर हब नै बनाउने गरी परियोजना विकास गर्दैछ। जिपलाइन पनि सोहीअन्तर्गतको परियोजना भएको महर्जन बताउँछन्। कम्पनीले चोभारमा ग्लास ब्रिजमा बन्जी र स्विङ, स्काई साइक्लिङलगायत अन्य एड्भेन्चरसँगै होटल तथा बिग सिनेमाको निर्माण छिट्टै सुरु गर्ने महर्जनले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)