चालकको लापरवाही धेरै
विशेषतः तीन कारणले सवारी दुर्घटना हुने गरेको देखिन्छ। पहिलो, सडकको अवस्था। दोस्रो, सवारी साधनको अवस्था। र, तेस्रोमा सवारी चालकको अवस्था। यी कारणमध्ये दुई वा दुईभन्दा बढी कारण मिले भने दुर्घटना निम्ति हाल्छ। एउटै कारण मात्र पनि खराब भयो भने दुर्घटना हुन सक्छ।
सवारी चालकलाई पनि दुर्घटना हुनुमा प्रमुख कारण मानिएको छ। यात्रुवाहक सवारीको तुलनामा टिपर दुर्घटनामा चालकको लापरवाही धेरै देखिन्छ। टिपर चालक अधिकांश युवा छन्। कतिपयको लाइसेन्समा पनि मलाई शंका लाग्छ। उनीहरू अन्य गाडीलाई पेलेरै जानुपर्छ भन्ने सोचबाट ग्रसित देखिन्छन्। यसलाई नियमनकारी निकायले कडाइका साथ हेर्नुपर्छ।
चालकले मदिरा सेवन गर्ने गरेका कारण पनि दुर्घटना निम्तिने गरेका छन्। क्षमताभन्दा धेरै सामान र यात्रु बोक्ने चलन गाउँमा कति छ कति। चालकलाई ८ घण्टाभन्दा धेरै गाडी नचलाउने भन्ने नियम कार्यान्वयन भएकै छैन। काठमाडौं पुग्ने गाडीले गाउँबाट १२ देखि १८ घण्टासम्म चलाउँछन्। गाडी चलाउँदा टेलिफोनमा कुराकानी गर्नु दुर्घटनाको अर्को कारण हो।
यी समस्या भए। यहाँ समाधानका पनि कुरा छन्। समाधानको पाटोलाई हामी ‘थ्री इ’अर्थात् इन्जिनियरिङ सडक, एजुकेसन (शिक्षा) र इन्फोर्समेन्ट (कानुनको परिपालना)मा वर्गीकरण गर्न सक्छौं। सडक सञ्जाल इन्जिनियरिङ डिजाइनबाट बन्नुपर्यो, एक्साभेटर चालकको तजविजमा होइन। चालक र सडक प्रयोगकर्ता सबैलाई सडक शिक्षा दिनुपर्छ। सडकसम्बन्धी नीति, नियमहरू पूर्णरूपमा कार्यान्वयन हुनुपर्छ। यसो गरियो भने सडक दुर्घटना रोक्न सकिन्छ ।
(गिरी सडक पूर्वाधार विकास कार्यालय, रूपन्देहीका सिनियर डिभिजनल इन्जिनियर हुन्।)