श्रीलंकाका विदेशमन्त्री साब्री काठमाडौंमा
काठमाडौं : श्रीलंकाका विदेशमन्त्री मोहम्मद अली साब्री काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल-श्रीलंका संयुक्त आयोगको बिहीबार र शुक्रबार हुने बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आएका हुन्।
केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका विदेशमन्त्री साब्रीलाई परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।
बैठकमा लगानी तथा व्यापार, पर्यटनलगायत दुई देशका द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ। परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले ज्ञप्तिमार्फत जानकारी दिएको छ।
श्रीलंकाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा संयुक्त आयोगले नेपाल र श्रीलङ्काबीच व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, कनेक्टिभिटी र जनसम्पर्कलगायत द्विपक्षीय सहयोगका विभिन्न क्षेत्रमा केन्द्रित रहने उल्लेख छ। यसैगरी संयुक्त आयोगको बैठकपश्चात विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहयोग गर्ने समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ।
मन्त्रालयका अनुसार दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्नेछन्। श्रीलंकाली विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री अली साब्रीले नेपालमा रहेका श्रीलङ्का प्रवासी समुदायसँग पनि भेटघाट गर्नेछन्। भेटघाटमा परराष्ट्रमन्त्रीसँग नेपालका लागि श्रीलंकाका राजदूत, एयर चिफ मार्शल सुदर्शन कारागोडा पाथिराना ९अवकाश० र काठमाडौंस्थित श्रीलङ्काको राजदूतावासका वरिष्ठ अधिकारीहरु सहभागी हुनेछन्।
साब्री शनिबार स्वदेश फर्किने कार्यतालिका रहेको छ।