हात्तीको आक्रमणबाट कर्मचारी मृत्यु, हल्दिबारी गाउँपालिकामा आज शोक बिदा
झापा : झापाको हल्दिबारी गाउँपालिकाले आज शोक बिदा दिएको छ। गाउँपालिकाअन्तर्गत हल्दिबारी–२ नम्बर वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी कर्मचारी पाथल राजवंशीको बुधबार जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएपछि गाउँपालिकाले शोक बिदा दिएको हो।
पालिकाका अधिकृत राजन न्यौपानेका अनुसार आज गाउँ कार्यपालिकाको कार्यालय साथै मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू (अत्यावश्यक सेवा बाहेक) मा शोक बिदा दिएको जानकारी दिए।
वि.सं.२०४९ सालदेखि स्थायी रुपमा कार्यालय सहयोगी पदमा कार्यरत हल्दिबारी–२ स्थित पाराखोपी निवासी अन्दाजी ५५ वर्षीय राजवंशी बुधबार बिहान ४ बजे मर्निङ्ग वाक गर्न निस्किएका थिए।
बिहान निस्किएका राजवंशी घर नफर्किएपछि उनको खोजी गर्ने क्रममा घर नजिकैको नालामा उनको शव झारले छापेको अवस्थामा फेला परेको थियो। उनलाई हात्तीले आक्रमण गरी मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !