बैंक-वित्तीय संस्थाको नाफाभन्दा प्रोभिजन बढी

बैंक-वित्तीय संस्थाको नाफाभन्दा प्रोभिजन बढी
सांकेतिक तस्बिर।

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूको नाफा पुँजी लागतको तुलनामा न्यून हुँदै गएको छ। जोखिबापत छुट्ट्याएको प्रोभिजन अर्थात् कर्जा नोक्सानीको रकमको आकार भने बढ्दै जाँदा अन्ततः कम्पनीको लाभांश क्षमतामा प्रहार गरेको छ। 

अधिकांश बैंकहरूले प्रदान गर्ने बोनस तथा लाभांश घट्दो छ। यो तथ्य पछिल्लो समय भटाभट वार्षिक साधारणसभा (एजीएम) घोषणा गरिरहेका बैंक तथा वित्तीय संस्थाको स्थितिलाई हेरेर पनि आकलन गर्न सकिन्छ। अझ ती एजीएम अघिल्लो आर्थिक वर्षको मुनाफाको थियो। 

आर्थिक वर्ष २०८०-०८१ को पहिलो त्रैमास अर्थात् असोजसम्ममा पनि बैंकहरूको नाफा खासै उत्साहजनक रहेन। यद्यपि सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले चालू आवको ३ महिना अर्थात् पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार १३ अर्ब ४७ करोड २० लाख ४७ हजार रुपैयाँबराबर नाफा कमाएका थिए। यसपछिको अर्को महिना कात्तिकमा एक महिनाको अन्तरमा थप ७ अर्ब २६ करोड २ लाख रुपैयाँ हाराहारीले बढी कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

यस अवधि अर्थात् चालू आर्थिक वर्षको चार महिना (कात्तिकसम्म) मा वाणिज्य बैंकले २० अर्ब ७३ करोड २२ लाख ६० हजार रुपैयाँ नाफा कमाए। तर यो नाफाको आकारभन्दा कर्जा नोक्सानीको जोखिम (प्रोभिजन) बापत छुट्ट्याएको रकमको आकार ठूलो छ। सोही अवधि अर्थात् ४ महिनासम्ममा वाणिज्य बैंकले मात्रै कर्जा नोक्सानीको जोखिमबापत २७ अर्ब १२ करोड ५७ लाख रुपैयाँ हाराहारीमा छुट्ट्याएका छन्। उक्त रकम नाफाबाट छुट्ट्याएकोले जोखिममा रहेका कर्जाको साँवा तथा ब्याज चुक्ता नभएसम्म वितरणयोग्य नाफामा जोड्न र लाभांशमा गणना गर्न नपाइने व्यवस्था छ। यसकारण ऋण समयमा फिर्ता नगर्दा खराब कर्जाको आकार बढेसँगै लाभांश क्षमता पनि घटेको हो। 

यद्यपि समग्रमा सञ्चालित २० वाणिज्य बैंकमध्ये १० बैंकहरूको नाफा अर्ब रुपैयाँमा छ। जसअन्तर्गत क्रमशः नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, प्राइम, हिमालयन, एनआईसी एसिया, एनएमबी, राष्ट्रिय वाणिज्य, एभरेस्ट र प्रभु बैंक रहेका छन्। यसबाहेकका बैंकको नाफा भने अर्ब रुपैयाँभन्दा कम देखिन्छ। तर कृषि विकास बैंकले भने यसपटक नोक्सानी व्यहोर्नु परेको छ। 

राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक अगाडि छ। यस अवधिसम्म उक्त बैंकले २ अर्ब १६ करोड ९६ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ। यसपछि दोस्रोमा ग्लोबल आईएमई बैंकले १ अर्ब ९४ करोड ६९ लाख ४० हजार र तेस्रोमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब ८६ करोड ६८ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। यसपछि अर्बको पंक्तिमा रहेका बैंकमध्ये क्रमशः प्राइम बैंकले १ अर्ब ५३ करोड ४४ लाख ६० हजार, हिमालयन बैंकले १ अर्ब ५० करोड ६६ लाख २० हजार, एनआईसी एसिया बैंकले १ अर्ब ३७ करोड ७६ लाख ६० हजार, एनएमबी बैंकले १ अर्ब २३ करोड ८५ लाख ६० हजार, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड ६७ लाख ४० हजार, एभरेस्ट बैंकले १ अर्ब ८ करोड र प्रभु बैंकले १ अर्ब ५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्। 

अर्बभन्दा कम नाफा आर्जन गर्नेमा क्रमशः स्टयान्डर्ड चार्टर्ड बैंकले ९८ करोड १९ लाख ८० हजार, कुमारीले ८८ करोड ८० लाख ९० हजार, सानिमाले ७७ करोड ७८ लाख ३० हजार, माछापुच्छ्रे बैंकले ६७ करोड १५ लाख २० हजार, नेपाल बैंकले ६६ करोड ८१ लाख ६० हजार, नेपाल एसबीआई बैंकले ६० करोड ५६ लाख, सिटिजन्स बैंकले ५८ करोड २४ लाख २० हजार, लक्ष्मी सन्राइज बैंकले ५१ करोड ५९ लाख ९० हजार र सिद्धार्थ बैंकले ३३ करोड ३८ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्। तर जसोतसो १९ बैंकले नाफा आर्जन गरिरहँदा कृषि विकास बैंकले भने कात्तिक मसान्तसम्म २७ करोड ८८ लाख ४० हजार रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ।

विकास बैंकमा अधिक नाफा गर्नेमा मुक्तिनाथ 

सञ्चालनमा रहेका १७ विकास बैंकहरूले पनि चालू आवको ४ महिनामा १ अर्ब ६२ करोड ९२ लाख रुपैयाँबराबरको नाफा कमाएका छन्। यसमध्ये राष्ट्रियस्तरका विकास बैंकले मात्रै डेढ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरे। राष्ट्र बैंकको तथ्यांकअनुसार राष्ट्रिय स्तरका ८ विकास बैंकले १ अर्ब ५४ करोड ५० लाख रुपैयाँबराबर नाफा गरे। जसमा सबैभन्दा बढी नाफा गर्नेमा मुक्तिनाथ विकास बैंक छ। मुक्तिनाथले यस अवधिमा ३१ करोड ६० लाख रुपैयाँ कमायो। 

यसपछिको दोस्रोमा रहेको रेसुंगा डेभलपमेन्ट बैंकले कुल २५ करोड र तेस्रोमा गरिमाले २४ करोड रुपैयाँ नाफा कमायो। यसपछि क्रमशः लुम्बिनी विकास बैंकले १८ करोड १० लाख, महालक्ष्मी र कामनाले १७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरे। यसपछि ज्योति विकास बैंक ११ करोड २० लाख र सांग्रिलाले १० करोड २७ लाख रुपैयाँमात्रै नाफा गरे। उक्त बैंक राष्ट्रियस्तरका विकास बैंकमध्ये सबैभन्दा थोरै नाफा कमाउनेमा पर्छन्। 

वित्त कम्पनीमा मञ्जुश्री फाइनान्स अगाडि

राष्ट्र बैंकबाट उपलब्ध भएको तथ्यांकअनुसार वित्त कम्पनीले पनि चालू आवको चार महिनामा २६ करोड १५ लाख ४० हजार रुपैयाँबराबरको नाफा कमाएका छन्। तर यो सार्वजनिक तथ्यांकमध्ये ९ वटा वित्त कम्पनीबाहेक ८ कम्पनीको मात्रै नाफा हो। उक्त कम्पनीमध्ये सबैभन्दा बढी मञ्जुश्री फाइनान्सले नाफा कमाएको छ। यो कम्पनीले चालू आव चार महिनासम्ममा ११ करोड ३९ लाख २० हजार रुपैयाँ कमाउन सफल भयो। यसपछि दोस्रोमा रहेको गोर्खाज फाइनान्सले ५ करोड २० लाख र तेस्रोमा रहेको आईसीएफसीले १ करोड ९२ लाख ७० हजार रुपैयाँ नाफा गरेका छन्। यसपछि क्रमशः नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सले १ करोड १ लाख ९० हजार, मल्टी फाइनान्सले ८७ लाख २० हजार, जानकी फाइनान्सले ७६ लाख र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले ३० लाख रुपैयाँबराबर नाफा आर्जन गरेका छन्। 

अत्यासलाग्दो निष्क्रिय कर्जा

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको समय सीमा नाघेपछि पनि नउठेको साँवा तथा ब्याजको आकार बढ्दा निष्क्रिय कर्जा बढेको छ। यसैले, चालू आवको चार महिनामै समग्रमा सबै बैंक तथा वित्तीय संस्थाको एनपीएल औसत ३.६६ प्रतिशत छ। जबकि आर्थिक वर्ष २०७८÷०७९ मा औसत १.१५ प्रतिशत एनपीएल थियो। यसले खराब कर्जाको नियन्त्रित हुन सकेको छैन। 

यस्तै, सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको कुल कर्जाको औसत ३.६१ प्रतिशत निष्क्रिय कर्जा (एनपीएल) रहेको छ। गत वर्षको तुलनामा खराब कर्जाको आकार पनि बढ्दो छ। जसले गर्दा बैंकहरूले पनि नाफाबाट प्रोभिजनमा रकम बढी छुट्ट्याउनु परेको हो। यसैगरी सञ्चालनमा रहेका १७ वटा विकास बैंकको निष्क्रिय कर्जा औसत ३.१९ प्रतिशत पुगेको छ। गत असोजसम्ममा समग्रमा विकास बैंकहरूको निष्क्रिय कर्जा २.४५ प्रतिशत देखिए पनि अधिकांश बैंकको वर्षदिनमा दोब्बरले बढेको थियो। 

यसपछि ‘ग’ वर्गका वित्त कम्पनीको एनपीएलको आकार झन् धेरै ठूलो हुँदै गएको छ। जसमा कात्तिकसम्म वित्त कम्पनीको एनपीएल औसत ८.३७ प्रतिशत छ। समग्रमा गत असारसम्ममा यस्ता कम्पनीको एनपीएल ४.५१ प्रतिशत थियो। जबकि २०७९ असारमा समग्रमा २.५२ प्रतिशतमात्रै थियो। कम्पनीहरूले प्रवाह गरेको ऋणको साँवा तथा ब्याज उठाउन नसक्दा निष्क्रिय कर्जाको आकार बढ्दै गएको छ। विशेष गरेर कोभिडपछि अर्थतन्त्रमा मन्दी आएकाले व्यवसाय नफस्टाउँदा एनपीएल घट्न गएको देखिन्छ। 

अर्थतन्त्रमा सुस्तता आएकाले अधिकांश व्यवसायीलेले साँवा ब्याज तिर्न नसकेको व्यवसायीले पटकपटक गुनासो गर्दै आएका छन्। बजारमा माग नहुँदा व्यवसायमा परेको असरले बैंकको ऋण तिर्न सकेका छैनन्। बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएका कर्जाहरू ऋणीले तोकिएको समयमा नतिर्दा निष्क्रिय हुन जान्छ। यसलाई विभिन्न चार क्षेत्रमा विभाजन गरिएको छ। जसअन्तर्गत तीन महिनादेखि ६ महिनासम्म भाखा नाघेका कर्जा-सापटलाई कमसल कर्जामा राखिन्छ।

यसपछि ६ महिनादेखि बढीमा एक वर्षसम्म भाखा नाघेका कर्जा-सापटलाई शंकास्पद कर्जामा राखिएको छ। योभन्दा माथि अर्थात् एक वर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जा-सापटलाई खराब कर्जामा वर्गीकरण गरिएको छ। पछिल्लो समय ऋण नतिर्नेको संख्या बढ्दै गएपछि कडाइसमेत गरेको छ। गत असोज ३० गते केन्द्रीय बैंकले एकीकृत निर्देशन २०८० जारी गर्दै खराब कर्जासम्बन्धी थप व्यवस्थासमेत गरेको छ। 

जसमा अबदेखि कर्जा भाखा नाघेको वा ननाघेको कुनै पनि कर्जा-सापटलाई तोकिएअनुसार कुनै पनि अवस्थामा खराब कर्जामा वर्गीकरण गर्नुपर्ने र सो को लागि बैंक तथा वित्तीय संस्थाले उपयुक्त प्रणाली एवम् पूर्वाधारको विकास गर्नु पर्नेछ व्यवस्था छ। यसअन्तर्गत ऋणी टाट पल्टेमा वा टाट पल्टेको घोषणा भएमा, ऋणी बेपत्ता भएमा वा ९० दिनसम्म सम्पर्कमा नआएमा, कर्जा दुरुपयोग भएमा, परियोजना÷व्यवसाय सञ्चालन हुने अवस्था नरहेमा, परियोजना वा व्यवसाय सञ्चालनमा नभएमा खराब कर्जामा गनिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.