गाउँ जस्तो रहेन गाउँ

समाज

गाउँ जस्तो रहेन गाउँ

गाउँमा मानिससँगै हराउन थालेका छन्, चराहरू। पुग्न थालेका छन्, कर्कशलाग्दा गाडीका आवाज। भेटिन छाडेका छन्, मान्छेहरू। खण्डहर बनिसकेको छ, गाउँ।

उकालो बाटोमा मानिसहरू हिँडिरहेका हुन्थे, कुनै हतासबिना घरतर्फ। चराहरूको संगीतमा मुग्ध बन्थ्यो, साँझ। ‘सावा खोला’बाट पानी बगिरहेको दृश्य 

नजिकैजस्तै, सुनिथ्यो। स...र...र... हावा बहेर आइपुग्थ्यो, कानसम्मै। र, सुसेलिरहन्थ्यो, मानिसको हृदयसम्मै पुगेर। 

भोजपुर घरबाट खोटाङ मावल पुग्नुअघि यी दृश्यहरूले जीवन्तसम्म पुग्नेगरी ध्यान खिचेको रहेछ। केही वर्षको अन्तरालपछि यस पटक खोटाङ पुग्दा अनुभूत गरेँ, गाउँ रित्तिएछ। सानैमा मावल जाँदाजस्तो रहेनछ, गाउँ। गाउँ त खण्डहर बनिसकेको रहेछ। 

हुन त केहीकेही मानिसहरू कहिलेकाहीँ गाउँमा पुगेर, काम गरेजस्तो गरेर, गाउँमाथि राजनीति गरिरहेका हुन्छन्। यसपटक भने मैले गाउँमा गएर यहाँको जीवन बुझ्न पुनः प्रयत्न गरें। कहिले खेतमा बनाइएका गोठमाथि बसेर भीर नियालें। कहिले डाँडापाखा पुगेर आँखाले भ्याएसम्म गाउँ नियालें। कहिले खोलामा पौडी खेलें। र, खोलाकै पानीमा चोबेर खाएँ, टेस्टी बिस्कुट पनि। जसरी हामी सानो छँदा लामो यात्रा गरेपछि त्यही 
खोलामा बसेर खान्थ्यौँ, बाटोमा दोकानेले बेच्न राखेका बिस्कुट किनेर। 

कहिले उकालो, कहिले भीर त कहिले मानिसहरू बाँचिरहेको समयलाई नियालें। तर, मैले गाउँमाथि राजनीति भने गरेको होइन। बरु आफू बाँचेको परिवेशलाई एकफेर सम्झने प्रयास गरिरहेको भने सत्य हो। आफूले बाँचेको जीवन सम्झँदा, अहिले बाँचिरहेकोभन्दा सुन्दर जीवन थियो भन्ने एउटा छोटो निष्कर्ष निकालि पनि हालेँ। 

गाउँमा बस्नेहरूसँग पनि गाउँ रित्तिएको कुराबारे छोटो कुराकानी गरें। भाइ अनुप ढकालको स्वरप्रति हो मा हो मिलाउँदै गाउँलेहरू एकै स्वरमा भन्छन्, ‘गाउँको काम कहिल्यै दुःख लागेन, हामीलाई। यो त परिश्रम गरेको हो, बाँच्नका लागि।’ 
सहरको दृष्टिकोणले गाउँलाई दुःख सम्झन्छ। तर, गाउँ दुःख नभएर उब्जनीको खानी हो। आम्दानीको स्रोत हो। देश रुंगिरहेका युवाहरूको उर्वरभूमि पनि हो। 

त्यसो त ‘गाउँ रिल लाइफमा ठीक लाग्छ, रियल लाइफमा होइन’। सहरको क्याफेमा बसेर कहिलेकाहीँ गफ सुन्न र दिनका लागि मज्जा हुन्छ। गाउँमा मिहिनेत र परिश्रम भए पनि यहाँका मानिस पिरमा बाँचिरहेका छैनन्। ईष्यामा बाँचिरहेका छैनन्। वेदना, दुःख र पीडामा बाँचिरहेका छैनन्। आफ्नो काम गरिरहेका छन्। बारीमा उब्जनी भएको खाएका छन्। केही, दुःख अप्ठ्यारो पर्दा अर्म, पर्म (कुनै काम आफ्नो फुर्सदमा छिमेकीलाई सघाउने, छिमेकीको फुुर्सदमा आफूलाई सघाउने) गरिरहेकै छन्। केही कुराको अभाव हुँदा ऐँचो, पहिँचो भइरहेकै छ। यसरी गाउँ बाँचिरहेको छ। गाउँ आनन्दले बाँचिरहेको छ। 

तर, पछिल्लो समय भने गाउँ रित्तिएकोमा दुःख लाग्यो। कुनै बेला आफू पनि सपनाको भारी बोकेर सहर पसिरहेको क्षण सम्झिएँ। र, दुःखलाई अँगालो हालिरहिनँ। गाउँमा बसिरहेकाहरूसँग जान्ने इच्छा भयो। कि, किन रित्तियो गाउँ ? किन खण्डहर बने गाउँका लोभलाग्दा घरहरू ? 
गाउँ उजाड बनिरहेको दृश्यतर्फ नजर लगाउँदै मानिसहरू भन्छन्, ‘गाउँमा बस्ने भनेको मध्यमवर्गीय मानिसले हो। कि, जागिरेले मात्रै। कोही मान्छे सम्पन्न भएर गाउँ छाडे। कोही अति निम्न वर्गकाले गाउँ छाडे।’

गाउँलेहरूका अनुसार गाउँमा अहिले बसिरहेकाहरू भने कोही निम्नवर्गीय भएर होइन। न त सम्पन्न भएर नै हो। उनीहरू धेरैजसोः मध्यमवर्गीय नै छन्। कोहीकोही जागिरे छन्। जागिरका लागि पनि गाउँ छाड्न नसकेको उनीहरू सुनाउँछन्। 

कोही खानेपानीको दुःखका कारण, कोही आम्दानीको स्रोत नभएका कारण, कोही भने गाउँमा टिक्नै नसकेका कारण केही वर्षअघिसम्म गाउँ छाड्नेहरू भेटिन्थे। तीव्र बसाइँसराइ, बढ्दो सहरीकरण, जंगली जनावरलाई झेल्न नसक्नु र कृषिमा आधुनिकीकरण हुन नसक्दाजस्ता समस्या दिनानुदिन बढिरहँदा गाउँ छाड्नेको संख्या बढ्यो। 

त्यसो त अहिले गाउँमै सहर भित्रिएको छ। अर्थात् गाडी पुगेको छ। बेसीबाट घरसम्मै ट्र्याक्टरले ल्याइदिन्छ, धान। अहिले गाउँमा भारी बोक्नु पर्दैन। कुनैबेला दसैंको समयमा मात्रै चामल खान पाउनेहरू, आधा दर्जन दिन हिँडेर सहरबाट भरियासहित भारी बोकेर गाउँ आउनुपथ्र्यो। अनि आउँथ्यो, दसैं। तर, अहिले यो व्यथा धेरै दुर्गम ठाउँमा पनि हटिसकेको छ। 

सहरबाट केही घण्टाभित्रै आइपुग्छ, आफूले चाहेको सामान। तर पनि गाउँ रित्तिरहेकाले अझै पनि गाउँ छाड्नेहरू बढिरहेछन्। गाउँमा अभाव छ त अस्पताल र राम्रो क्याम्पस। यी दुई उपयुक्त र चाहे अनुरूपको नभए पनि गाउँसम्मै पुग्न थालेको छ, एम्बुलेन्स। गाउँसम्मै पुग्न थालेको छ, चेतनासहितको शिक्षा। तर पनि गाउँ बस्नका लागि मानिसहरू अनिच्छुक भएकै कारण, रित्तिरहेको छ, गाउँ। 

गाउँमा मानिससँगै हराउन थालेका छन्, चराहरू। चराहरूको साटो पुग्न थालेका छन्, कर्कशलाग्दा गाडीका आवाज। देखिन थालेका छन्, बारीमा लहलह फल्दै गरेका उब्जनी। भेटिन छाडेका छन्, मान्छेहरू। खण्डहर बनिसकेको छ, गाउँ। गाउँ के हो ? कहिलेकाहीँ कसैले मलाई सोध्दा हतार–हतार आवाज भुइँमा खसिहाल्थ्यो– ‘गाउँ, पाठशाला हो।’ गाउँ पाठशालासँगै सुन्दर पुस्तक पनि हो। गाउँलाई जुनै दृष्टिकोणले पढे पनि हुन्छ। गाउँलाई पढ्नेहरूको दृष्टिकोण भने नकारात्मक हुनेछैन, यो पक्का हो। 
गाउँ रित्तिँदै गएकोमा मानिसहरूलाई चिन्ता छ। तर, सहरमा बसेर गरेको चिन्ताले के नै पो हुन्छ र ? 

कहिलेकाहीँ प्रसिद्व कवि जसराज किरातीले भनेको एक भनाइ स्मरण गर्छु। ‘सहरमा मान्छेले मान्छे देख्दैन। काठमाडौंमा त कसरी धनी हुने, कसरी माथि जाने भन्नेबाहेक केही छैन। मलाई त सहर मान्छेको बस्तीजस्तो पनि लाग्दैन,’ कहिलेकाहीँ भेट हुँदा जसराज गफिन सुरु गर्नुअघि नै भन्थे, ‘सहर त भरिसक्यो, मान्छेहरू सबै सहर बस्न रुचाए। सबैजना गाउँको माटोमा बढे, यही माटोले चिनायो, यही माटोले कमाउन सिकायो, अन्त्यमा सबैले गाउँ छाडेर हिँडे। मान्छेको मन कहिल्यै भरिलो हुँदैन। जतिसुकै सम्पन्न भए पनि कहिल्यै पुग्दैन।’

गाउँ त एउटा बिम्ब हो। गाउँ छाडेको भनिए पनि देश छाडिरहेकाहरूप्रति पो जसराजको चिन्ता देखिन्थ्यो। 

खासगरी पछिल्लो समय देशमा सम्भावना नदेखेर हो वा सम्भावना नभएरै हो, देश छाड्नेहरू बढिरहेका छन्। अब विदेश गइरहेकाहरू विदेश गएका होइनन्, देश छाडिरहेका हुन्। यो कुरा विभिन्न ‘फोरम’हरूमा बहससमेत हुँदै आएको छ। यसलाई अस्वीकार गरिहाल्ने अवस्था पनि रहेन। 
पछिल्लो पुस्ताका युवायुवतीहरू नागरिकता बनुन्जेल मात्रै देशमा बस्ने प्रचलन नै जस्तो भइसकेको छ। नागरिकता बन्नेबित्तिकै कुनै कन्सल्टेन्सी वा म्यानपावरमार्फत विदेश जान तयार छ, अबको देश। देश अर्थात् युवायुवती। 

देशमा केही गर्न सकिँदैन, देशमा केही उपलब्धि हुँदैन भन्ने भाष्य निर्माण भइरहेका कारण पनि विदेश जानेको संख्या बढ्दो छ। भर्खर क्याम्पस पढ्न सुरु गरेकाहरूले देशको शैक्षिक स्तर, राजनीतिक अस्थिरता र बढ्दो महँगीका कारण देश छाड्न बाध्य छन्। पाठ्यक्रम समयानुकूल नहुनु, समयमै परीक्षा नहुनु, समयमै परीक्षाफल प्रकाशित नहुनु र जति पढे पनि देशमा रोजगारीको अवस्था सिर्जना नहुनुले आज दिनानुदिन देश छाड्नेको लर्को लागेको छ। अब गाउँ छाडेको चिन्ताभन्दा पनि देश छाडिरहेकाहरूप्रति चिन्ता गर्ने बेला भइसकेको छ। 

खासगरी अहिले देशमा बसिरहेकाहरूलाई अधिकांशले प्रश्न गर्न थालेका छन् कि, ‘कहिले जाने विदेश ?’ यति सहजै विदेश कहिले जाने भन्ने प्रश्न सोधिन थालेको छ। विदेश कहिले जाने होइन, खासमा अहिले हरेकजसोले भन्छन् कि, ‘देश कहिले छाड्ने ?’

लाग्छ कि, मानिसहरू देशमा बसेर कुनै गल्ती गरिरहेका छन्। यो किमिमको भाष्य निर्माण हुँदै जाँदा हाम्रो देशको अवस्था कतातिर जाँदैछ ? यो पनि एउटा बहसको विषय हुन सक्छ। नेपालमा अर्थतन्त्रको विद्यमान अवस्था, देशको राजनीतिक अस्थिरता, दिनानुदिन बढिरहेको महँगी, हरेक दिनजसो आन्दोलनजस्ता कुराले नव उदयीमानहरूमा नकारात्मक असर पर्ने सहजै बुझ्न सकिन्छ। 

बढ्दो प्रविधिको प्रयोगले पनि नयाँ पुस्ता विश्वबारे ‘अपडेट’ छ। आज सोही कारणले पनि मानिसले देशमा आफ्नो भविष्य देखिरहेको पाइँदैन। नयाँ पुस्ता हरेक दिन सहरका विभिन्न कन्सल्टेन्सीमा विदेश जानका निम्ति धाइरहेका छन्। कतिपय कन्सल्टेन्सीमा फेल भएकाले फेरि पनि परीक्षा दिनका निम्ति हारगुहार गरिरहेका छन्। 

यसरी देश रित्तिरहेछ। गाउँ रित्तिएपछि देश नै रित्तिरहेछ। कुनैबेला गाउँ छाडेर सहर पसेकाहरू अब पुनः गाउँ फर्कने अवस्था छैन। त्यसैगरी देश नै छाडेर विदेश जानेहरू पुनः देश आउन नसक्ने अवस्था पो हुने हो कि ? यो पनि अर्को बहससँगै चिन्ताको विषय छ। देशमा तमाम समस्याका कारण आज बिदेसिरहेकाहरूले भोलि देश नआउने हो भने देशको अवस्था कस्तो होला ? यी विभिन्न आयामबारे राजनीतिक नेतृत्व, सरोकारवाला र बुद्धिजीवीहरूले बहस गरेको पाइँदैन। यो एउटा बहसको विषय अझै बाँकी छ। 

त्यसो त गाउँबारे अनेक कुरा सोच्दै गर्दा आज लामो समयपछि गाउँ छाडेकोमा पश्चाताप भएन, आफूलाई। अहिले देश छाडिरहेकाहरूले पनि कुनै एकदिन देश छाडेकोमा पश्चाताप मानेनन् भने ...?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.