पाहुनाको पर्खाइमा मांग्री गाउँ
मुगु : जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका-८ माँग्री गाउँमा पाँच वर्षअघि स्थापना गरिएको सामुदायिक होमस्टे प्रचारप्रसारका अभावमा ओझेलमा परेको छ। प्रचारप्रसारको अभावमा होमस्टे ओझेलमा परेको हो। गाउँमा पर्यटक भित्र्याउने उद्देश्यले होमस्टे निर्माण गरिएको थियो। २०७५ सालमा यहाँ होमस्टे स्थापना गरिएको हो।
यहाँ १ सय ७३ घरधुरीको बसोबास रहेको छ। जसमध्ये २५ घरधुरीले सामुदायिक होमस्टे सञ्चालन गरेका छन्। तर, होमस्टे स्थापना भएको लामो समयसम्म पर्यटकको आगमन नहुँदा २४ वटा होमस्टे अहिले बन्द भएका छन्। हाल एउटा मात्र होमस्टे सञ्चालनमा रहेको स्थानीय सोनाम छिरिङ लामाले बताए।
प्रदेश तथा स्थानीय सरकारले होमस्टे प्रवर्द्धनका कार्यक्रम नल्याउँदा व्यवसाय सञ्चालन गर्न समस्या भएको होमस्टे सञ्चालक सोनाम ग्यालजेन लामाले बताए। उनका अनुसार सदरमुकाम गमगढीबाट पैदलयात्राबाट चार घण्टामा मांग्र गाउँ पुग्न सकिन्छ। सवारी साधनको प्रयोग गरेर जाँदा भने एक घण्टा लाग्छ। यहाँ आएपछि लामा समुदायको परम्परागत कला संस्कृति, गुम्बा र परम्परागत शैलीका घरहरू देख्न सकिने उनको भनाइ छ। यस गाउँमा लामा समुदायको मात्र बसोबास छ।
२०७५ सालमा एक गैरसरकारी संस्थाले पाँच दिनको तालिम सञ्चालन गरेपछि होमस्टे सञ्चालनमा आएको थियो। प्रचारप्रसारको अभावले होमस्टे सञ्चालक पुरानै अवस्थामा फर्किएका बुद्ध नमुना माविका प्रधानाध्यापक लग्नसिंह सेजुवालले बताए। होमस्टे सञ्चालक कार्मा पुटिक लामाका अनुसार तालिम पश्चात समिति निर्माण गरेर गाउँपालिकामा दर्ता समेत गरिएको थियो। केही महिना आलोपालो प्रणालीमा होमस्टे सञ्चालन गरिएको उनले बताइन्।
गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा होमस्टे प्रवर्द्धन समेटिएको भएपनि पालिकाले सहयोग नगरेको वडाध्यक्ष पेमा टुण्डल लामाले बताए।