सम्भव छ अब्बल शिक्षा
प्रायः हरेक विद्यालय तथा अभिभावकको समान अभिलाषा भनेको विद्यार्थीलाई अब्बल बनाउनु हुन्छ। यसले सँगसँगै अहम् प्रश्न पनि उब्जाएको छ, अब्बल भनेको के ? के आधार मानेर अब्बल भन्ने ? सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक र पारिवारिक अवस्थाको विविधता रहेको नेपालको सन्दर्भमा कर्णाली प्रदेशको विद्यार्थी अब्बल हुने र रौतहटका विद्यार्थी अब्बल हुने मापक एउटै मान्न मिल्छ ? एउटै किसिमको औजार, प्रविधि र सीपले विद्यालयको शिक्षालाई अब्बल बनाउन सकिन्छ ? यी प्रश्नलाई गहिरिएर बुझ्ने हो भने अब्बल शिक्षाको कुनै एक निश्चित सर्वकालीन सर्वमान्य परिभाषा हुन सक्दैन।
थुप्रै उदाहरण भेटिन्छन्, जहाँ विद्यालयले असक्षम घोषित गरी निकालिदिएका विद्यार्थी पनि जीवनमा अत्यन्तै सफल भएका छन्। वैज्ञानिकसम्म बनेका छन्। तर पनि सबैको अब्बल बनाउने होडमा बालमस्तिष्कले भोग्ने सकसहरूप्रति भने खासै ध्यान दिन सकेको देखिन्न। बल्लबल्ल घरमा बोलिने भाषा र गरिने सांकेतिक सञ्चार बुझ्न लागेका बालबालिका आफ्नो अत्यधिक सिर्जनशील मस्तिष्कसहित विद्यालय छिर्छन्, जहाँ सर्वप्रथम त उसले गरेका अनुभूति, सोच्ने शैली र कल्पनालाई प्रस्तुति गर्न सबैभन्दा पहिला भाषा नै अवरोधक बनिदिन्छ। उसले घरमा बोल्दै आएको शब्दहरू उसले बुझेका सञ्चार संकेतहरू अब विद्यालयमा औचित्यहीन भएको पाउँछ।
कतिपय अवस्थामा जान्दै नजानेको भाषामा उसको सिर्जनशीलता एक किसिमको डरमा संकुचित हुन थाल्छ। विस्तारैविस्तारै उसको सिकाइ बुझाइभन्दा रटाइतर्फ बढ्न थाल्छ। ऊ जुन किसिमले सिर्जनशील, जिज्ञासु हुनुपर्ने हो, त्यो बन्द हुन्छ। उसलाई भनेको जस्तो मान्नु र गर्नु नै शिक्षा हो भन्ने भान पर्दै जान्छ। अनि ज्ञानका लागि पुस्तक पढ्नुभन्दा पनि गृहकार्य गर्न वा जाँचमा अब्बल नम्बर ल्याउनमात्रै पढ्ने भन्ने बुझाइ बस्छ। परिणाम, पढाइप्रतिको उसको रुचि घट्दै जान्छ। बाध्यतावश किताबका पाठहरू घोक्ने र जाँचमा ओकल्ने प्रक्रिया सुरु हुन्छ।
किताबभित्रका अक्षर र अंकमात्रैले विद्यालय शिक्षाको उद्देश्य पूरा गर्न सकिन्छ ? समाज सिर्फ तर्कले स्वस्थ बनाउन सकिएला ? अनि अस्वस्थ समाजमा स्वस्थ जीवनहरू सम्भव हुन सक्छ ? यदि कुनै २ कक्षामा पढ्ने विद्यार्थीले १८ को गुणन र फलफूलको नाम कण्ठ गर्यो भने के हुन्छ ? त्यो बच्चा अब्बल ? अर्को उदाहरण, मानौं पिठो मुछ्न र रोटी पकाउन मात्रा र प्रक्रियाबारे कुनै हिसाब जान्दैनन् तर राम्रोसँग पिठो मुछ्न तथा रोटी पकाउन सक्छन्। अर्काेले पिठोको मात्रा, पानीको मात्रा, पिठो मुछ्दा हातको भूमिका, लाग्ने समय इत्यादि सबै कण्ठ पारेर रोटी बनाउने प्रक्रिया सम्पूर्ण कण्ठ पारेका छन् तर रोटी राम्रो बन्दैन। अब कुन चाहिँ अब्बल त ?
विशेषगरी एकीकृत सिकाइ जसमा मुख्यगरी अंग्रेजी, गणित, नेपाली र सामाजिक अध्ययनलाई एकीकृत गर्नुपर्छ। विद्यालयमा रहेको समाजको सांस्कृतिक, आर्थिक र शैक्षिक अवस्था अनुरूपको पाठयोजना बनाएर सही तरिकाले लागू गर्ने हो भने विद्यालयहरूको गुणात्मक शिक्षाको आधार सहजै बनाउन सकिन्छ। प्रशिक्षणको नाममा गरिने शैक्षिक आशक्तीकरणको प्रकोप झनै डरलाग्दो छ।
खासमा विद्यालयले आफ्ना विद्यार्थीको विशेषतः सामाजिक गुणको विकास, सिक्ने सीपको अभिवृद्धि, व्यक्ति र विश्वसँग जोडिने सीपको विकासलगायत आत्मनियन्त्रणको कला सिकाउनु पर्ने हो। यसमा बालबालिकाको चौतर्फी विकासका लागि शिक्षकहरूको सहयोग र सहजीकरण आवश्यक पर्छ। बालबालिकाको वैयक्तिक, शारीरिक, सामाजिक, संज्ञानात्मक, नैतिक, मनोवैज्ञानिक र संवेगात्मक पक्षको विकासमा जोड दिइने शिक्षणका लागि शिक्षकलाई चाहिने शैक्षिक सामग्री र शिक्षण सीप एक कुशल प्राचार्यको सहजीकरणले शिक्षकले आफैं निर्माण तथा संकलन गर्न सक्छन्।
कुनै पनि समाजको सोचमा परिवर्तन ल्याउन तत्कालीन समय, सन्दर्भमा उत्पादित उदाहरणहरूको भूमिका अतुलनीय हुन्छ। अनिमात्रै त्यसले तिनका व्यवहार, सोच्ने शैलीलाई प्रभावित पार्छ। यदि किताबमा असाध्यै महान् विचार र त्यागको कथा पढाउने तर घर, विद्यालय, समाज जताततै तिनले अनुभूति गर्ने कुराहरू विपरीत रहेछ भने त्यसले सकारात्मक प्रभाव पार्न सक्दैन।
अहिलेको समयमा सामाजिक सञ्जालसँग नजोडिएका बिरलै होलान्। जुन दैनिकीसँग अभिन्न रूपमा प्रगाढ सम्बन्ध स्थापित गरेको समाजिक सञ्जालहरूको प्रभाव समाजमा दिनानुदिन बढ्दैछ। यसरी सकारात्मक र नकारात्मक प्रभाव पर्ने त छँदैछ। थप, मानवीय सम्बन्धहरूलाई गहिरो भावनात्मक तहको अनुभूतिभन्दा दृश्य प्रतिक्रियाहरूमा सीमित हुँदै गएको भेटिन्छ। जस्तो कि केही मिनेट वा सेकेन्डकै अन्तरालमा सामाजिक सञ्जालमा कसैको मृत्युप्रति समवेदना प्रकट गरिन्छ भने ठ्याक्कै तलको अर्को पोस्टमा शुभकामना अनि तेस्रो पोस्ट आउनासाथ माथिल्ला अनुभूतिहरू हराइसकेका हुन्छन्। मानवीय संवेदनशीलताको अनुभूति समय घट्दो छ।
अबको मूलप्रश्न, अब्बल शिक्षा भनेको के हो ? भन्ने नै हो। जुन साक्षरता र सिर्जनसिलताका लागि हो। अनि हो, समाजदेखि विश्वसम्मको आवश्यकता पूरा गर्ने मानवस्रोत तयार पार्न। समाज र राष्ट्रप्रति दायित्वबोध भएको एक सफल पुस्ता निर्माणका लागि पनि। यी सबैका लागि अब्बल शिक्षा अनि अब्बल विद्यार्थी।
झा, समाजशास्त्री हुन्।