बिरामी बढेपछि आयुर्वेद औषधालयमा औषधि अभाव

बिरामी बढेपछि आयुर्वेद औषधालयमा औषधि अभाव
टीकापुर क्षेत्रमा रहेको एकमात्रै आयुर्वेद औषधालय । तस्बिर : परमानन्द पाण्डे
सुन्नुहोस्

टीकापुर : कैलालीको सुदूरपूर्वी क्षेत्रमा रहेको एक मात्र आयुर्वेदिक उपचार पाउने टीकापुर आयुर्वेद औषधालयमा आयुर्वेदिक औषधि अभाव भएको छ ।  औषधालयमा दैनिक आउने बाथरोग, ग्याष्ट्रिक, पायल्स जस्ता रोगका बिरामीका लागि आवश्यक औषधिको अभाव भएको हो । 

औषधालयमा आउने बिरामी औषधि नहुँदा रित्तो हात फर्किनु परिरहेको छ । टीकापुर नगरपालिका वडा नं. ५ का ६५ वर्षीय भीमबहादुर चौधरीले आफू दुईपटक आउँदा समेत बाथरोगको औषधि नपाएर फर्किनु परेको तीतो अनुभव सुनाए 

‘तीन महिनादेखि बाथरोगका नियमित औषधि खाइरहेको छु, केही आराम पनि भएको छ,'औषधालयमा भेटिएका चौधरीले भने, ‘एक महिना नै हुन थाल्यो औषधि नपाएर दुई पटक फर्किनु परेको छ,कहिले आउने हो टुंगो छैन ।’

सजिलै नपाइने आयुर्वेदिक औषधि खाने गरेका बिरामी रित्तो हात फर्किनु पर्दा रोग बल्झिने चिन्ता व्यक्त गर्छन् । टीकापुर नगरपालिका वडा नं. १ का सूर्यजंग शाहीले ग्याष्ट्रिकको औषधि नियमित खाने गरेकोमा दश दिनयता औषधि नपाएर पटकपटक रित्तो हात फर्किएकाले रोग बल्झिने चिन्ता बढ्दै गएको बताए । 

‘छ महिनासम्म नियमित औषधि खानपर्छ भनिएको थियो,'शाहीले भने ‘दश दिनदेखि आइरहेको छु,औषधि नै पाएको छैन,औषधि छुटे फेरि बल्झिन्छ कि भन्ने चिन्ता पो छ त ?’ टीकापुरमा आयुर्वेदिकका अन्य औषधि पसल नहुँदा समेत बिरामीले समस्या भोग्ने गरेको शाहीले गुनासो गरे ।  

औषधालयमा दैनिक रुपमा २५/३० जना बिरामी आउने गरेका छन् । औषधालयका प्रमुख कविराज निरीक्षक अशोककुमार मिश्रले पछिल्लो समय आयुर्वेदिक औषधालयमा आउने बिरामीको संख्या बढ्दै गएको बताए । ‘गत वर्ष ४ हजार भन्दा बढी बिरामीको उपचार गरेका छौं,औषधी उपलब्ध गराएका छौं’ कविराज निरीक्षक मिश्रले भने ‘यो वर्ष त्यो तथ्यांक बढ्ने देखिएको छ ।’

गत वर्षको तुलनामा बिरामीको संख्या बढेका कारण केही दिनयता औषधिको अभाव देखिएको मिश्रले बताए । ‘विशेषगरी पायल्स, बाथरोग, ग्याष्ट्रिकका बिरामी गत वर्षभन्दा बढी आएका कारण केही दिनयता औषधिको अभाव देखिएको हो,'मिश्रले भने, ‘औषधालय र नगरपालिकाले औषधि खरिदका लागि कोटेसनको प्रक्रिया बढाइसकेको छ ।’

मिश्रले दश दिनभित्रमा औषधालयमा पर्याप्त मात्रामा औषधि आइपुग्ने दाबी गरे । त्यसो त औषधालयमा कर्मचारीको समेत अभाव छ । चारजना कर्मचारीको दरबन्दी रहेको भए पनि औषधालयमा हाल तीनजना मात्रै कार्यरत छन् । 

‘कविराज निरीक्षक एकजना,एकजना वैद्य, एक औषधि कुटुवा र एकजना कार्यालय सहयोगीको दरबन्दी मात्रै छ,' मिश्रले भने, ‘कार्यालय सहयोगीलाई नगरपालिकाले वडा कार्यालयमा खटाएको छ, हामीलाई कर्मचारीको अभाव छ ।’  

एलोपेथिक औषधीका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखापरिरहेको भन्दै सरकारले नै आयुर्वेदिक औषधि र औषधालयलाई प्रबद्र्धन गर्ने नीति बनाएको भए पनि यस क्षेत्रमा रहेको एक मात्रै आयुर्वेद औषधालयमा औषधिको अभाव हुँदा बिरामीले सास्ती खेप्नु परेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.