कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, के-के छन् एजेण्डा ?
काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि बस्दैछ। कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरू हुने छ।
सरकारमा सहभागी भएका मन्त्रीको कार्यसम्पादनबारे समीक्षा, राष्ट्रिय सभा सदस्य उम्मेदवारको मापदण्ड तय गर्न र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो। गत मंसिर २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयमले मन्त्रीको कार्यसम्पादनबाट चित्त बुझाएका छैनन्। उनले सार्वजनिक रुपमा नै कार्यसम्पादन कमजोर भएका मन्त्रिहरुलाई परिवर्तन गरेर नयाँ ढंगले जाने उद्घोष गर्दै आएका छन्।
सरकारको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले भनेका थिए, ‘मन्त्रीहरूलाई भन्न चाहन्छु हामीलाई असफल हुने छुट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्ने अवस्था र मनस्थितिमा छैन। हामी सबैले आ-आफ्नो भूमिका न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं। कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि ठाउँ ओगटिरहनु हुँदैन छाडदिनुपर्छ। यो मैले अरुलाई उपदेश दिएको मात्र होइन, आफैंसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक आशा जगाउन नसके मैले पनि पद ओगटिरहने जरुरी छैन। ’
कांग्रेसभित्रै सरकारप्रति चर्को असन्तुष्टि रहेको छ। संस्थापनइतरका शेखर कोइराला, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतका नेताहरूले सार्वजनिक रुपमै सरकारका कामप्रति असन्तुष्टि जनाइरहेका छन्।
कांग्रेसका मन्त्रीहरुको रिपोर्ट कार्ड कमजोर रहेको र प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना बढेपछि केन्द्रीय समिति बैठकमा मन्त्रीसँग प्रश्नोत्तर र अन्तरक्रिया कार्यक्रम गर्ने कांग्रेसले जनाएको छ। प्रधानमन्त्रीले मन्त्री फेर्ने अभिव्यक्ति दिएपनि आलोचना हुने डरले कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रिय सभाको निर्वाचन र महासमिति बैठकभन्दा अगाडि मन्त्री फेर्ने पक्षमा देखिएका छैनन्।