पर्यटक बढाउन भारतीय मिडियामा बजेट खर्चिने कोशी सरकारको तयारी
विराटनगर : कोशी प्रदेश सरकारले छिमेकी मुलुक भारतबाट नेपाल आउने पर्यटकको संख्या बढाउन भारतीय मिडियामा प्रसारप्रसार सामग्री उपलब्ध गराउने तयारी गरेको छ । सोमबार पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आयोजित प्रदेश सरकार, पर्यटन व्यावसायी र सरोकारवालाहरूबीच भएको नीति तथा अन्तरक्रिया कार्यक्रममा पर्यटन प्रवर्द्धनका लागि यस्तो उपाय गरेको मुख्यमन्त्री केदार कार्कीले सुनाए ।
भारतको बिहार, बंगालका मिडियाहरूमा कोसी प्रदेशको पर्यटकीय स्थानका बारेमा प्रचारप्रसार गर्न बजेट दिइने उनको भनाइ थियो । प्रदेशका मिडियालाई प्रदेशको पर्यटन प्रवर्द्धनका लागि बजेट उपलब्ध गराइने गरेको बताउँदै उनले अब भारतका मिडियामा पनि केही रकम खर्चिने तयारीमा आफूहरू रहेको बताए ।
‘हाम्रो प्रदेशको पर्यटन क्षेत्रमा भारतीय पर्यटकहरूले राम्रो भूमिका खेलेका छन्, यसलाई अझ ब्यापक बनाउन हामीले भारतका केही सञ्चारमाध्यममार्फत् प्रसार प्रसार गर्न खोजेका छौं,’उनले भने ।
कार्कीले पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । सरकारले आवश्यक बजेट विनियोजन गरी पर्यटकीय क्षेत्रको विकास थालनी गरेको उनले जानकारी दिए ।
पर्यटकहरूको आवागमन वृद्धि गर्न सरकारले व्यवसायीबीच साझा अवधारणा कायम गर्ने बताउँदै मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्द्धनका लागि व्यवसायीहरूको सुझावअनुसार ऐनमा संशोधन गर्ने पनि बताए ।
मुख्यमन्त्री कार्कीले पर्यटन प्रहरी व्यवस्था गर्न बजेट व्यवस्थापन गरिएको बताउँदै प्रवर्द्धनका लागि तालिम तथा अभिमुखीकरण आयोजना गर्ने पनि उल्लेख गरे ।
पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीको सुझावअनुसार विस्तृत गुरुयोजना बनाउने जानकारी दिए । सो गुरुयोजनाअनुसार अगाडि बढ्न सबैसँगको सहकार्य आवश्यक पर्ने उनको भनाइ छ ।
मन्त्रालयका सचिव विकास घिमिरेले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि सरोकारवालासँग निरन्तर छलफल चलाउने बताए ।
कार्यक्रममा पर्यटन व्यावसायीहरूले भारतीय पर्यटकले नेपालमा अनेकन् सास्ती झेल्नुपरेको बताउँदै उनीहरूलाई कष्ट नदिएमा पर्यटन क्षेत्र व्यापक हुने सुझाए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका पर्यटन संयोजक भविष श्रेष्ठले भारतबाट नेपाल आउने पर्यटकले सीमा(नाकादेखि नै समस्या झेल्नुपर्ने भएका विस्तारै उनीहरूको संख्या घटेको बताए ।
अरू प्रदेशमा जस्तो अन्य देशबाट आउने प्रदेशबाट आउने पर्यटकहरू यस प्रदेशमा नआउने उनको भनाइ छ । यस प्रदेशमा भारतीय पर्यटकमात्र आउने भए पनि अनेकन सास्तीले गर्दा उनीहरूको संख्या ओरालो लाग्न थालेको श्रेष्ठले स्मरण गराए ।
‘सीमामा सुरक्षा निकायले दिने सास्ती, यातायात अनुमतिको झन्झट, भारतीय नोट प्रतिबन्ध र २५ हजारभन्दा बढी रकम बोक्न नपाउने नियमले गर्दा भारतीय पर्यटकहरू घट्दै छन्,’ उनले भने, ‘बेलैमा चेत नखुलेमा हाम्रो पर्यटन क्षेत्र डामाडोल हुने छ ।’
यसैगरी कोरोना भाइरस महामारीपछि काँकरभिट्टा नाकाबाट बंगलादेशी पर्यटक आउनेक्रम पूर्ण रूपमा रोकिएको उनले बताए । पर्यटन विकास बोर्डबाट हुने बजेट वितरणमा कोसी प्रदेशलाई अन्याय गरिएको उनको गुनासो छ ।
पर्यटन व्यावसायी पूर्ण भट्टराईले भारतीय पर्यटक नै यस प्रदेशको समृद्धिको आधार रहेकोले छिमेकी मुलुक भारतबाट आउने पर्यटकलाई सास्ती दिन नहुने बताए । भारतीय पर्यटकलाई सहज आवागमन व्यवस्था गर्नुपर्ने र राति होटल सञ्चालनका लागि निश्चित समय तोक्नुपर्ने उनको भनाइ थियो ।
होटल संघ,कोसी प्रदेश अध्यक्ष राजन श्रेष्ठले हवाइ उडानले गर्दा पर्यटक प्रभावित बनेको बताउँदै विराटनगरबाट पहाडी जिल्लाहरूमा उडान गर्नुपर्ने सुझाए ।
अध्यागमन कार्यालयका प्रमुख लक्ष्मी पौडेल,होटल व्यावसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरी, पर्यटन व्यावसायी बासुदेव बराल, होमस्टे महासंघका केन्द्रीय उपाध्यक्ष एकराज घिमिरेलगायतले पर्यटन प्रवर्द्धनमा ‘मार्केटिङ’र ‘ब्रान्डिङ’को आवश्यकता रहेको बताए ।
प्रदेश सरकारले धेरैभन्दा धेरै पर्यटक भित्र्याउन नीतिगत रूपमा व्यवस्था गर्नुपर्ने र पर्यटकीय क्षेत्रसम्म पुग्न बाटो,बिजुली,पुल जस्ता पूर्वाधारको विकासमा जोड दिनुपर्नेमा उनीहरूको एकमत थियो । साथै, उनीहरूले पर्यटन,वन तथा वातावरण मन्त्री उप्रेती र मुख्यमन्त्री कार्कीबाट प्रदेशको पर्यटकीय अवस्था कायापलट हुन सक्नेमा आफूहरू विश्वस्त रहेको सुनाए ।