‘फोटिफाइड राइस’को बिक्री
मुगु : खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले जिल्लाको खत्याड गाउँपालिका—११ मा रहेको बिक्री केन्द्रबाट सर्वसाधारणलाई ‘फोटिफाइड राइस’ अर्थात् सुष्मा पोषण तŒव ८ वटा भिटामिन मिश्रित स्तरोन्नति गरिएको चामल वितरणको सुर गरेको छ।
कम्पनीको प्रधान कार्यालयअन्तर्गत ७ प्रादेशिक कार्यालय मुख्य ५ शाखा, २५ जिल्ला कार्यालय, २५ डिपो कार्यालय र ७० बिक्री केन्द्र छन्। नेपालमै पहिलो पटक कम्पनीले मुगु जिल्लाको खत्याड गाउँपालिकाको रातापानीमा रहेको बिक्री केन्द्रबाट यस्तो खाले चामल वितरणको सुरु गरेको हो।
फोटिफाइड राइस सुष्मा पोषण तत्त्व मिसाएर स्तरोन्नति गरिएको चामल हो। यसमा ८ वटा भिटामिन मिश्रित छन्। यसमा प्रति एक सय केजी चामलमा १ केजी ८ वटा सुष्मा पोषण तŒव भिटामिन मिसाएर चामलको स्तरोन्नति गरिएको हुन्छ। यो चामलमा आइरन (पाइरो फोस्टफेट) ३९ मिलिग्राम, जिंक (जिंक अक्साइड) ३२ मिलिग्राम भिटामिन ‘ए’ (रेटिनाइल पाल्मिटेट) ०.८९, फोलिक एसिड (फोलिक एसिड) ०.२४ भिटामिन बी—१२ (साइनाकोबालामिन) ०.००७ भिटामिन बी—१ (थायमिन नोनाइट्रेट) २.३ नियासिन—भिटामिन—३ (निकोटिनामाइड) २०.५ र भिटामिन बी—६ (पाइरोडक्सिन हाइडोक्लोराइड) १.९ मिलिग्राम मिश्रित भई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सुष्मा पोषण तत्त्व मिसाएर स्तरोन्नति भएको प्रमाणित भई देशमै पहिलो पटक खत्याड गाउँपालिका—११ रातापानी बिक्री केन्द्रबाट यो चामल वितरण गरिएको कम्पनी कर्णाली प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रले जानकारी दिए।
कम्पनीका कर्णाली प्रादेशिक कार्यालय प्रमुख मिश्रका अनुसार विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा यो चामल बर्दियाको राजापुरमा उत्पादन गरिएको हो। यो आर्थिक वर्षमा रातापानी बिक्री केन्द्रका लागि ७ सय ५० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ। अहिले बिक्री केन्द्रमा २ सय ५० क्विन्टल चामल ढुवानी भइसकेको छ। ७ सय ५० क्विन्टल सबै फोटिफाइड राइसका बोरा ढुवानी हुन्छन्। यसको बिक्री वितरणका लागि सोही गाउँपालिका—११ रातापानीमा रहेको महिला उत्थान कृषि सहकारी संस्थाले जिम्मा पाई सर्वसाधारणलाई दुई दिन अगाडिबाट उक्त सहकारीले प्रति २५ केजीको बोरालाई १ हजार ४ सय ५० मा बिक्री वितरण गर्दै आएको उक्त सहकारीका अध्यक्ष राधिका भण्डारीले जानकारी दिइन्।
फोटिफाइड राइस मुगुको रातापानी केन्द्रबाट सुरु भएको हो। उक्त कम्पनी प्रधान कार्यालय माताहतका सबै शाखा, डिपो, बिक्री केन्द्र र प्रादेशिक कार्यालयबाट सहुलियत दरमा वितरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्र औपचारिक रूपमा उद्घाटन गर्ने जानकारी कम्पनी कर्णाली प्रादेशिक कार्यालय प्रमुख मिश्रले दिए।
फोटिफाइड राइस अहिले हामीहरूले खाँदै आएको चामल जस्तै हो। यसमा आठ वटा भिटामिन मिसाई स्तरोन्नति गरिएको हो। विशेषगरी गर्भवती महिला र उनीबाट जन्मिने बच्चा, वृद्ध किशोरकिशोरीलाई चाहिने आवश्यक तत्त्व यो चामलमा मिसाइएकाले सबैले खान मिल्ने हो। यो चामल उपभोग गर्नेहरूको एक वर्षभित्र उनीहरूको शरीरमा के कस्तो प्रभाव पारेको छ भनेर स्वास्थ्य मन्त्रालयको प्राविधिक टोलीसहित यो क्षेत्रमा पुगी उपभोक्ताको रगत परीक्षणसमेत गरिने विश्व खाद्य कार्यक्रमका प्रतिनिधि रञ्जन कपालीले बताए।
अघिल्लो वर्ष असोज १९ देखि २६ सम्म लगातार परेको वर्षात्ले घर भिœयाउन लागेका धान र अन्य अन्नबालीसहित खेतलाई बाढीले बगर बनाएको थियो। उब्जनी हुने जग्गा छैन। अरूकोमा ज्याला मजदुरी गरेर बिहान बेलुका छाक टार्ने र ज्याला मजदुरी गरेर आम्दानी गरेको पैसाले २ हजार ५ सयदेखि २ हजार ७ सयसम्म ३० केजी चामल महँगोमा किनेर खान बाध्य हामीजस्ता गरिबहरूका लागि घरनजिक १ हजार ४ सय ५० रुपैयाँमा चामल पाइनेछ। सरकारले यसलाई निरन्तरता दिनुपर्ने खत्याड गाउँपालिका—११ की माया वडले बताइन्।
खत्याड गाउँपालिका—११ रातापानी बिक्री केन्द्रमा महिला उत्थान कृषि सहकारी संस्थामार्फत फोटिफाइड राइसको चामल बिक्री वितरण गर्दै। तस्बिर : जीवन सेजु।