काली–कर्नालीका कुरा

काली–कर्नालीका कुरा

मानौं, कर्णाली कोशीलगायतका हिमनदी जस्तै हुन् देउडा गीत पनि। पानीको मुहान हिमाल भएजस्तै देउडा गीत–संगीतको मुहान माटो र प्रकृति हो। प्रकृतिले पूजित छ, देउडा गीत–संगीत। त्यसपछि मात्र सुदूरका संस्कृतिप्रेमीले विकास र विस्तार गरेका हुन्, देउडा गीतलाई।

कर्णाली कर्णालीतिर भेरी भेरीतिर

माघी पर्व मनाउनलाई आइझाउ मेरीतिर

लय अर्थात् भाका–छमक्क मेरी माला छमक्क, रातपणिग्यो झमक्क। २०४३ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, मुगु र डोल्पामा गाइने प्रचलित भाका हो यो। अहिले पनि यो भाकाले कर्णाली प्रदेशका सबै पहाडी जिल्लाका सबै संस्कृतिप्रेमीको मन जितेको छ। कर्णाली अञ्चलबाट विविध कारणले राजधानीमा बस्न आएका महिला वर्गले राजधानीको सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा देउडा गीत गाएर गत पुस १५ गते यो पर्व मनाए, आगामी माघी पर्व पर्खिरहेछन्। देढी कदममा खेलिने खेल देउडा नाच्न पाएपछि संस्कृतिप्रेमीले खचाखच भरिएको हलका दर्शक उठेर पुस १५ को बिदाइ गरे।

देउडामा घुमेर महिला लक्ष्मी देवकोटा, माया रोकाया, भावना खनाल, निशा रावलमात्र होइन, सांसद कान्तिका सैजुवाल, विनीता कठायत, पत्रकार केपी गाउँले, कलाकार गोरखबहादुर कार्की, हास्यकलाकार कुलबहादुर ओली पनि देउडा गीतमा गाउँदै नाच्दै रमाए। यता खुलामञ्चमा गुरुङ जातिको महत्त्वपूर्ण पर्व ल्होसार भव्यताका साथ मनाइरहेका बेला सुदूरपश्चिम र कर्णालीका संस्कृतिप्रेमी राष्ट्रिय नाचघर र नेपाल प्रज्ञा प्रतिष्ठानमा आफ्नै भाषा, शैली र संस्कृति संरक्षणका लागि एकाकार भएका देखिन्थे।

कुनै बेला काली कर्णालीको संस्कृति अपरिचित थियो, गीत गाउँदा नबुझेर प्रायः श्र्रोता रेडियो बन्द गरिदिन्थे। देउडा गीतलाई नबुझ्ने भाषा पनि भन्ने गर्थे। समयको परिवर्तनसँगै अहिले देउडा गीत ठूलो पर्दाका चलचित्रमा समेत अटाइरहेछन्। छक्का पञ्जालगायतका फिल्ममा हास्य कलाकार दीपकराज गिरीले सुदूरको शैली उतारेर लोकप्रियता हासिल गरे।
मैनाचणी मैदानैमा डाफ्या हिमालमा
सुन्तला बाँधेर दिउला राता रुमालमा।

नेपालको राष्ट्रिय पक्षी डाँफेले हिमालमा बसेर देशको शोभा बढाएको छ, मैना र मयूरको उपस्थिति मैदानी भागमा कति सुहाएको छ कति। कवि कलाकारले पनि वर्णन गर्न सक्दैनन्। कर्णालीमा स्याउ, सुन्तला, ओखर, सुदूरपश्चिममा कागती, अमिलो नास्पति, भोगटे आदि उत्पादन हुन्छन्। तर, नेपाली बजारमा स्वदेशी उत्पादनको महत्त्व छैन। विदेशी स्याउ बिक्री हुन्छ, स्वदेशी नास्पतिलाई हेलाँ गर्छन् भन्ने आशयको गीत हो माथिको।

कर्णालीका महिला आफैंले बुनेका घरेलु छिटुवाका उनी कपडा लोप हुने अवस्थामा छन् अहिले। तैपनि बचेका उनी कपडा टाउकोमा बेरेर मुगु र जुम्लाका महिला देउडा खेल खेल्न पुस १५ मा तम्सिएका थिए। कति माया लाग्छ आफ्नो भाषा संस्कृति र भेषभूषाको हामी सबैलाई। यही प्राचीन सभ्यताले बचाएको छ, हिमगिरी हाम्रो मुलुकलाई। हातमा चाँदीका बाला, कानमा पृथक् खालका ढुंग्री लगाएर बैकिनीहरू (महिला)ले राजधानीवासीलाई कर्णालीको सांस्कृतिक उपहार दिए। मान्छेलाई ‘मान्ठ’ हुन्छ, शब्दलाई प्यारका साथ ‘औ’ तिमीलाई भन्दा ‘तिमीकन’आदि जस्ता शब्दले सिन्जा सभ्यताको भाषालाई जीवित नै राखेको देखिन्छ कर्णालीका नरनारीले।
राता चामल फल्दाछन् क्या तम्रा कालीकोट
गाउँका पैठ जान पाइन मर्म लाइग्यो चोट।

मार्सी धान फल्ने ठाउँ हो, कर्णाली अञ्चल। कुनै बेला राजा वीरेन्द्रलाई जुम्ला र कालीकोट जिल्लाबाट राता चामल नारायणहिटी दरबारमा पठाइन्थ्यो रे। कर्णाली अञ्चलमा उत्पादित सिमीको चर्चा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले एक समारोहमा विराटनगरमा समेत गरेका थिए रे। यस्तो उर्वराभूमि भएको कृषि प्रधान देश नेपालमा वर्तमानमा खेतबारी बाँझो देखिँदा, कर्मवीर युवाले गाउँ छोडेको देख्दा सबैको मन कुटुक्क दुख्छ। काला पत्थर (भारत)मा धन कमाउन गएका युवकले जन्मघरको सम्झना गर्दै गाएको गीत हो माथिको। सिमीको दालसँग राताचामलको भात खाएर पैठ (जात्रापर्व) जाने चाहना अपूरो नै रह्यो, मन दुःखिरहेछ भन्ने परदेशीको सोधनीको गीत हो यो। यी र यस्तै तमाम गीत गाएर पुस १५ गतेको स्वागत र बिदाइ गरे कर्णाली प्रदेशका नरनारीले राजधानीमा।

२४/२५ वर्ष अगाडिदेखि सुदूरपश्चिमको मौलिक पर्व बिसु र गौरा राजधानीमा मनाएर त्यस क्षेत्रको संस्कृतिको ढोका खोलेको पुरानो याद आउँछ। नितान्त नौलो लाग्थ्यो, त्यसबेला पूर्वका साहित्य र संस्कृतिप्रेमीलाई बिसु र गौरा। जसले फराकिलो आकार ओगटिसकेका छन्, पुस १५ गते मनाइने पर्वका अगाडि। पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दले देउडा संस्कृतिको महत्त्वले हामी जोडिएका छौं भन्ने विचार राखेका थिए।
मेरा हात छाता छैन नपढै वर्षात्आमाले दियाको खानु काशीको प्रसाद।

बर्खामासमा छातालाई र त्योहारर अन्य पर्वका बखत् जन्मदिने आमालाई सम्झिएको गीत हो माथिको। दार्चुला जिल्लाबाट काम विशेषले आएका चेलीबेटी स्थानीय पहिरनमा सजिएर गोलाकार रूपमा देउडा गीतमा उभिए। प्रज्ञा प्रतिष्ठानलाई देउडामय बनाए। बझाङ, डँडेलधुरा, बैतडी र दार्चुलाका संस्कृतिप्रेमी नरनारी शान्ति धामी, दीपा रोकायाका साथै गायकहरू भोजराज भट्ट, उमाशंकर जोशी, टेकबहादुर, भानुभक्त जोशीलगायत कलाकारले घर जान नपाएको दुःखेसो आ–आफ्ना देउडा गीतमा पोखे।

देउडा गीतमा आमा र नदीको वर्णन धेरै छ। आमाले आफू भोकै बसे पनि सन्तानलाई पेटभरि खाना खुवाउँछिन्, नदी पत्थरसँग ठक्कर खाएर हिउँद बर्खा नभनी आफ्नो गीतमा अरूको पानीप्यास मेटाउन बगिरहन्छन्।

मानौं, कर्णाली कोशीलगायतका हिमनदी जस्तै हुन् देउडा गीत पनि। पानीको मुहान हिमाल भएजस्तै देउडा गीत–संगीतको मुहान माटो र प्रकृति हो। प्रकृतिले पूजित छ, देउडा गीत–संगीत। त्यसपछि मात्र सुदूरका संस्कृतिप्रेमीले विकास र विस्तार गरेका हुन्, देउडा गीतलाई। संस्कृतिमा देउडा अटाएकाले पुस १५ मा पनि सबैथरी कलाकारले मीठो शैलीमा देउडा गीत राजधानीमा पस्के। घुमीघुमी गीतमा नाँचे। पूर्वप्रधानमन्त्री चन्दले त देउडा गीत केवल गीतमात्र नभएर धेरै अर्थ लाग्ने साहित्य पनि हो भने।
बार्जुकोट बजुराल रिडीको कुमाल
छोणी दिउकी मायाजाल पढ्छु कि रुमाल।

इतिहासको पाठ पनि सिकाउँछ, देउडा गीत। बाइसे–चौबिसे शासनकालमा हालको सुदूरपश्चिम प्रदेशमा बाइसे राजाहरूले ससाना थुम्कामा बसेर राज्य चलाउँथे। जसलाई ‘कोट’ भनिन्थ्यो। बार्जुकोट, रिडीकोट, सुनीकोट, बेतकोट यसका उदाहरण हुन्। ‘तिमी मुटुभरिको माया देऊ, म सुप्पो (नाङ्लो) थाप्दछु। यतिले नपुगे सफेद रुमाल फिजाउँछु’ भनेर आफ्नाप्रतिको स्नेह जगाएको गीत हो माथिको।

देउडागीतका माध्यमले संस्कृति फैलाउँदा दार्चुलाका छोर्‍याट्टा–छोर्‍याट्टी (बिहे नगरेका ठिटाठिटी)ले घाँटीमा चाँदीका कम्पनी माला, हात र गोडामा चाँदीका गहना अनि शिरमा पनि शिरबन्दी लगाएर खेलमा घुमेको दृश्य रमाइलो देखिन्छ। उनीहरू भन्दै हुन्छन्, ‘अब माघीमा यिनै पहिरनका साथ हामी देउडा खेल्न आउनेछौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.