टिपरभित्र बालुवा, बालुवाभित्र १० क्विन्टल गाँजा

टिपरभित्र बालुवा, बालुवाभित्र १० क्विन्टल गाँजा
सुन्नुहोस्

राजविराज : गाँजा तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको सप्तरीमा ठूलो परिमाणमा अवैध गाजा बरामद भएको छ। एक वर्षअघि २०७९ पुस १४ गते आठ सय १० किलो गाँजा बरामद गरेको सप्तरी प्रहरीले शुक्रबार राति एक हजार ६ किलो अवैध गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार पत्रकार सम्मेलन गरी बरामद गरिएको गाँजा र पक्राउ परेका सवारी चालक धनकुट्टाको सहिदभुमी गाउँपालिका–४ बस्ने ३२ वर्षीय विशेष राईलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय कल्याणपूरको संयुक्त टोलीले को १ ख ५८३१ नम्बरको टिपरलाई रोकेर चेकजाँच गर्दा बालुवाभित्र लुकाएर लैजाँदै गरेको १० क्विन्टल ६ किलो गाँजा फेला पारेको हो। 

सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरस्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधनहरूको चेकजाँच गर्ने क्रममा टिपरको बालुवा निकाली हेर्दा २८ वटा बोराभित्र प्याक गरिएको तयारी अवस्थाको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गजु सिद्दी ब्रजाचार्यले बताए।

गाँजाको बोरा फेला परेपछि चालक राईलाई पक्राउ गरिएको र कारबाही थालिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक सुभेश अधिकारीले बताए। राईको साथबाट नगद एक लाख रुपैयाँ र दुई थान मोबाइल समेत फेला परेको छ। 

पक्राउ परेका चालक राईले गाँजा आफ्नै भएको र आफैंले ओसारपसारको व्यवसाय गर्ने गरेको स्वीकारेका छन्। उनले गाँजा भारततर्फ लैजान लागेको बताए। भारत निकासीका लागि गाँजा तस्करहरूले सप्तरीको बाटो प्रयोग गरिरहे पनि नौ महिनायता तस्करी गर्नेहरू कोही पक्राउ परेका थिएनन्। सप्तरीमा कारोबार भइरहे पनि यो अवधिमा थोरै मात्रामा गोजीमा बोकी हिँड्ने अम्मली मात्र पक्राउ परिरहेका थिए। 

सशस्त्र प्रहरीले २०७९ भदौ ४ गते हनुमाननगर कंकालीनी नगरपालिका–१ कोशी ब्यारेजबाट दुई सय ४० किलो गाँजा बरामद गरेको थियो। यस्तै हनुमाननगर कंकालीनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट को  १ ख २९४५ नम्बरको मिनी ट्रकमा लोड गरिएको अवस्थामा २०७९ असार ७ गते एक सय ७५ किलो गाँजा बरामद गरेको थियो। हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढा टप्पूबाट प्रहरीले ०७९ चैत ४ गते हवाई फायर गरी एक सय ८४ किलो गाँजा बरामद गरेको थियो। 

उदयपुर, भोजपुर जस्ता पहाडी र आसपासका जिल्लामा उत्पादित गाँजा भण्डारण गरेर डोकोदेखि डुङ्गासम्मबाट ओसारपसार हुने गरेको त्यसअघिका घटनाहरूले पुष्टि गर्दै आएको  छ। गाँजा तस्करहरूले प्रहरीले शंका नगर्ने भन्दै बालक र महिलालाई समेत गाँजा ओसारपसारमा संलग्न गराउने गरेका छन्।

नेपाली बजारभन्दा भारतीय बजारमा गाँजाको मूल्य तीन गुणा बढी भएकाले व्यापक रुपमा गाँजा ओसारपसार हुने गरेको पक्राउ पर्नेहरूबाट बुझिएको छ। सप्तरी जिल्लाको भारदह, पातो, टिकुलिया, मौवाहा बेल्ही, काचन, पातोलगायतको नाका हुँदै भारततर्फ गाँजा लैजाने गरेको स्थानीयहरू बताउँछन्। पहाडी क्षेत्रमा लगाइएको गाँजा एक नम्बर हुने साथै भारतमा बढी मूल्यमा बिक्री हुने भएकाले पनि तस्करहरू यसको ओसारपसारमा आकर्षित भएका हुन्। 

प्रहरी उपरीक्षक ब्रजाचार्यका अनुसार सप्तरीसहित भारतीय सीमावर्ती तराईका सबै जिल्ला गाँजा तस्करीको ट्रान्जिट प्वाइन्ट रहेकाले ओसारपसारलाई निरुत्साहित गर्न सघन रूपमा सुराकी परिचालन गरिएको बताए। गाँजा ओसारपसारको स्रोतको खोजीमा रहेको प्रहरीले बोर्डर चेक प्वाइन्टमा कडाइ गरेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.