कोरोनाको नयाँ सबभेरियन्ट किन तीव्र गतिमा फैलिरहेको छ ?

कोरोनाको नयाँ सबभेरियन्ट किन तीव्र गतिमा फैलिरहेको छ ?

काठमाडौं : कोभिड–१९, ओमिक्रोन भेरियन्टको परिवर्तित स्वरूप नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि पुष्टि भएको छ। कोभिड पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको संक्रमण पाइएको हो।

छिमेकी मुलुक भारतलगायत विश्वका विभिन्न मुलुकमा देखिएको ओमिक्रोनको नयाँ सबभेरियन्ट जेएन.१ आइतबार पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, मुलुकका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूको संकलित १६ वटा नमुनाको पीसीआर र एन्टिजेन पोजेटिभको जाँच गरिएको हो। जिनोम सिक्वेन्सिङ प्रविधिबाट गरिएको परीक्षणमा ७ वटा नमुनामा जेएन.१ पुष्टि भएको डा. बुढाथोकीले जानकारी दिए। संकलित नमुनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो।

प्रवक्ता डा. बुढाथोकीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सबभेरियन्टको जोखिमलाई दृष्टिगत गर्दै सीमा नाकाहरूमा आवश्यक स्क्रिनिङ र निगरानी गर्न अनुरोध गरेका छन्। ‘प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्क र स्वास्थ्य कार्यालयहरूमार्फत स्क्रिनिङ र निगरानी निरन्तर गर्न अनुरोध गरिएको छ,’ प्रवक्ता डा. बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संक्रमितको उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन स्वास्थ्य संस्थाहरूलाई अनुरोध छ।’

तीव्र गतिमा फैलिने कम घातक

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जेएन.१ भाइरसलाई तत्कालका लागि कम घातक श्रेणीमा राखेको छ। यो भाइरस भारत, अमेरिका, बेलायतलगायतका मुलुकमा फैलिसकेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले जेनएन.१ कम घातक देखिएको भए पनि तीव्र गतिमा फैलिन सक्ने बताए। तीव्र गतिमा फैलने भएकाले डब्लूएचओले यस भाइरसलाई भेरियन्ट अफ इन्ट्रेस्ट (चासोमा राखिएको भेरियन्ट) मा सूचीकृत गरेको छ। 

सरुवा रोग विशेषज्ञहरूले ओमिक्रोनको भेरियन्टले स्वरूप परिवर्तनलाई निरन्तरता दिएको बताएका छन्। डा. पुनले ओमिक्रोन भेरियन्टको स्वरूप परिवर्तन स्वाभाविक र प्राकृतिक भएको बताए। ‘छिमेकी भारतमा देखा परेपछि ढिलोचाँडो नेपालमा आइपुग्ने अनुमान गरिएको थियो,’ डा. पुनले भने, ‘यो भाइरसबारे पूर्ण जानकारी नभएको र थप जानकारीहरू आउने क्रम जारी रहेकाले आगामी दिनमा यसले पार्न सक्ने प्रभावका बारेमा अहिले नै भनिहाल्न सक्ने अवस्था छैन।’ चिकित्सकहरूका अनुसार,जेएन.१ संक्रमितमा ज्वरो÷काम ज्वरो आउने थकान महसुस हुने, नाकबाट पानी (पातलो सिंगान) बग्ने, खोकी लाग्ने, घाँटी तथा टाउको दुख्ने र सास फेर्न अप्ठ्यारो हुनेलगायतका लक्षणहरू देखिन सक्छन्। अधिकांश व्यक्तिहरू रुघाखोकी जस्ता लक्षणहरू लिएर घरमै बसिरहेका छन्। 

जोखिममा सहरी क्षेत्र 

जेएन.१ भेरियन्ट संक्रमितहरू सहरी क्षेत्रमा रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार, काठमाडौं, चितवन, पोखरा, धनगढीलगायतका सहरी क्षेत्रमा संक्रमण देखिएको छ।  ज्येष्ठ नागरिक एवं दीर्घ रोगीहरूमा भाइरसले जोखिममा पार्न सक्ने चिकित्सकहरूको अनुमान छ। सरुवा रोग विशेषज्ञ डा. पुनले भने, ‘विशेषत समुदायमा व्यापक संक्रमण भएपछि रोग प्रतिरोधात्मक क्षमता कम भएका ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरूमा भाइरसले पार्ने प्रभाव कस्तो हुन्छ भन्ने महत्वपूर्ण हुने छ।’

स्वास्थ्य मन्त्रालयले नयाँ भेरियन्टको संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि जनस्वास्थ्यका सबै मापदण्ड (भीडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन) अनिवार्य रूपमा पालना गर्न गराउने अपिल गरेको छ।

नयाँ सबभेरियन्ट किन तीव्र गतिमा फैलिरहेको छ ?
 
 विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन स्ट्रेनको एउटा सबभेरियन्टलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ अर्थात् ‘चासोको भेरियन्ट’ को वर्गमा राखेको छ। जेएन.१ नाम दिइएको उक्त सबभेरियन्ट तीव्र गतिमा फैलिरहेको डब्ल्यूएचओले जनाएको छ।

भारत, चीन, यूके र संयुक्त राज्य अमेरिकासहित विश्वका विभिन्न देशमा जेएन.१ फेला परिसकेको छ। नेपालमा अब ७ जनामा पुष्टि भइसकेको छ। डब्ल्यूएचओका अनुसार जेएन.१ बाट सर्वसाधारण मानिसलाई हुन सक्ने जोखिम अहिले निकै कम छ। अहिले कोभिड–१९ विरुद्ध प्रचलनमा रहेका खोपहरूले मानिसलाई उक्त सबभेरियन्टबाट पनि सुरक्षा दिने उसले जनाएको छ। तर, डब्ल्यूएचओले हिउँदयाममा कोभिड र अन्य संक्रमण फैलिन सक्ने चेतावनी यस अघिनै दिएको थियो।

श्वासप्रश्वास प्रणालीमा संक्रमण गराउने इन्फ्लूएन्जा भाइरस, रिस्पिरटरी सिन्सिशल भाइरल (आरएसभी) र बालबालिकामा हुने निमोनियाको समस्या उत्तरी गोलार्धमा पर्ने देशहरूमा बढ्दो क्रममा छ। कोभिड गराउने भाइरस निरन्तर परिवर्तित भइरहेको छ। 

केही समयदेखि विश्वभरि ओमिक्रोन भेरियन्ट बढी देखा परेको छ। डब्ल्यूएचओले जेएन.१ सहित ओमिक्रोनसँग सम्बन्धित केही भेरियन्टलाई अनुगमन गरिरहेको छ। तर, ती कुनै पनि चिन्ताको विषय नभएको उसको भनाइ छ। जेएन.१ अहिले विश्वका विभिन्न स्थानमा तीव्र गतिमा पुगिरहेको देखिन्छ। अहिले अमेरिकामा तीव्रतम गतिमा फैलिरहेको कोरोनाभाइरस पनि यही भेरियन्ट भएको अमेरिकी जनस्वास्थ्य निकाय सीडीसीले जनाएको छ।

यो सबभेरियन्ट बीए.२.८६ भेरियन्टबाट उत्पत्ति भएको हो। तर, सम्भवतः यसको स्पाइक प्रोटिनमा भएको अतिरिक्त उत्परिवर्तन (म्युटेसन)ले यो भाइरसलाई बढी संक्रामक बनाएको हुन सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.