बुटवलमा चोरीका घटना बढ्दै
बुटवल : बुटवलमा चोरीको घटना बढ्दै जान थालेपछि नागरिकमा त्रास छाएको छ। बुटवलको विभिन्न ठाउँमा चोरीका घटनाहरू बढ्दै गएपछि नागरिकमा त्रास छाएको हो। घरभित्रै पसेर चोरले गरगहना, मोटरसाइकल, साइकल, बहुमूल्य भाडाकुडाहरू लैजाने गरेको नागरिकहरूको गुनासो छ। चोरले पार्किङस्थलमा राखिएका गाडीहरूमा समेत तोडफोड गर्ने गरेका छन्।
बुटवलको ट्राफिकचोक, विपिचोक र लुम्बिनी प्रादेशिक अस्पतालको पार्किङमा राखिएका सहित झण्डै आधा दर्जन कारमा चोरले तोडफोड गरेका छन्। ‘पार्किङ गरेर राखेको कारको सिसा फोरेर पर्समा भएको १५ हजार नगद चोरी भयो’, एटुजेट मोबाइल पसल बुटवलका सञ्चालक विकास गौतमले भने,‘मेरो मात्रै होला भनेको धेरै साथीको गाडी फोरिएको रहेछ।’
लुम्बिनी प्रादेशिक अस्पतालको पार्किङ क्षेत्रमा राखिएको कारको सिसा फोरेर क्षति पुर्याएको सितारा इन्पेकस बुटवलका सञ्चालक रवि भट्टराईले बताए। ‘मेरो अमंरपथमा मोबाइल पसल छ’,उनले भने,‘पसल बन्द गरेर घर जान्छु भन्दा गाडी तोडफोड भएको रहेछ।’ गाडी मर्मत गर्नका लागि कम्तिमा १५ देखि २० हजार रुपैयाँ खर्च हुने उनले बताए। चोर पत्ता लगाई कारबाही गर्नका लागि प्रहरीमा उजुरी दिए पनि अझैसम्म पत्ता नलागेको उनले बताए।
केही दिनअघि बुटवलको मिलनचोकस्थित कैलाश पथमा एक पत्रकारको घरभित्रै पसेर साइकल चोरी भयो। बिहान नौ बजेको समयमा घरभित्रै चोर पसेर चोरी भएपनि अझैसम्म चोर पत्ता लागेको छैन। बुटवल उपमहानगरपालिका-१९ का छत्रबहादुर खत्रीको खोरमा बाँधेको बोको चोरेर लगे। घरघर पसेर चोरले सताउने गरेका छन्।
यी त प्रतिनिधिमुलक घटना मात्र हुन्। बुटवलमा दिनदहाडै चोरी गर्ने क्रम वर्षौदेखि चलिरहेको छ। बुटवलमा चोरी गर्ने काम ‘संस्कारजस्तै’ बनिरहेको छ। चाडपर्वमा मात्र होइन बाह्रै महिना चोरीका घटनाहरू भइरहेका छन्। प्रहरीले फाट्टफुट्ट मोटरसाइकल चोरी गर्नेहरूलाई पक्राउ गरे पनि नागरिकहरूलाई ढुक्क हुने खालको वातावरण अझै बनेको छैन। व्यस्त सडकमा मात्र नभएर भित्र भित्रका गल्ली र बस्तीमै पुगेर चोरले नागरिकहरूलाई तर्साउने गरेको छ।
कार्यालयमा परेको उजुरी अनुसार सबै चोरलाई पक्राउ गर्न नसकिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। ‘कार्यालयमा चोरीका घटनाहरूको उजुरी दिनहुँ आउने गरेका छन्’, उनले भने, ‘मोटरसाइकल चोरी गर्नेहरूलाई पक्राउ गरिएको छ। तर, सोचे अनुसार चोरहरू अझै नियन्त्रणमा आउन सकेका छैनन्।’
उनले बुटवलमा संगठित रुपमा चोरहरू नभएको र लागूपदार्थ दुर्व्यसनीमा लागेका युवापुस्ताहरू चोरीडकैती जस्ता क्रियाकलापमा लागेको बताए। बुटवलका मुख्य क्षेत्रहरूमा सीसी क्यामरा जडान गर्नका लागि बुटवल उपमहानगरपालिकामा आग्रह गरिएको उनले सुनाए।
उनले स्थानीय सरकारले घर बनाउँदा नक्सा पास गर्दा घरको सीसी क्यामरा सडक क्षेत्रमा पनि देखिने गरी जडान गर्नुपर्ने व्यवस्था गर्नुपर्नेमा बताए।
प्रतिक्रिया दिनुहोस !