तिलोत्तमामा ‘ग’ वर्गका अपांगता भएकालाई पनि मासिक भत्ता
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘ग’ वर्गका अपांगता भएका व्यक्तिहरूलाई पनि मासिक भत्ताको व्यवस्था गरेको छ।
नेपाल सरकारले ‘क’ र ‘ख’ वर्गका अपांगता भएकालाई मात्र भत्ताको व्यवस्था गरेको छ। तर, तिलोत्तमाले अपांगता भएका व्यक्तिहरूको परिचयपत्र वितरण कार्यविधि बनाएर उनीहरूलाई मासिक रुपमा पाँच सय रुपैयाँका दरले भत्ताको व्यवस्था गरेको हो।
‘ग’ वर्गका अपांगतालाई नेपाल सरकारले मध्यम खालका अपांगताको सूचीमा राखेको छ। नगरपालिका क्षेत्रमा रहेका २ सय ११ जना ‘ग’ वर्गका अपांगता भएका व्यक्तिहरूलाई बिहीबार भत्ता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए। ‘छ महिनाको एकमुष्ट ६ लाख २३ हजार रुपैयाँ अपांगता भएका व्यक्तिहरूलाई भत्ता वितरण गरिएको छ’,अर्यालले भने,‘उनीहरूलाई एटिएम जस्तो डिजिटल परिचयपत्रको समेत व्यवस्था गरिएको छ।’
कार्ड हराउने, पानीमा भिज्ने जस्ता समस्याबाट उनीहरूलाई सहजता हुनेछ। आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममै व्यवस्था गरेर ‘ग’ वर्गका अपांगता भएकाहरूलाई भत्ताको व्यवस्था गरिएको गरिएको अर्यालले बताए। वार्षिक १८ लाख रुपैयाँ बजेट यस कार्यक्रम अन्तर्गत विनियोजन गरिएको छ।
कृतिम अंगको प्रयोग, हत्केलाभन्दा मुनिका कम्तीमा बूढिऔँला र चोरऔँला नभएका, कुर्कुच्चाभन्दा मुनिको भाग नभएका, मेरुदण्डमा समस्या भई ढाँड कुप्रिएको, सिकाइमा ढिला भएका बौद्धिक अपांगता, श्रवण यन्त्रको प्रयोगबाट मात्र सुन्न सक्ने, शल्यक्रियाबाट स्वर यन्त्र झिकी घाँटीको नलीबाट मात्र बोल्नसक्ने लगायतका अपांगता व्यक्तिहरू ‘ग’ वर्गमा पर्छन्। उनीहरूलाई पहेँलो रंगको परिचयपत्र दिने गरिएको छ।