विनिर्मित प्रेम– एक ‘मेटाफिक्सन’

कथा

विनिर्मित प्रेम– एक ‘मेटाफिक्सन’

एकदिन भित्ताामा टाँगेका तस्बिरहरूको लहरबाट आइन्सटाइनको तस्बिर हरायो। खोजी गरे पनि पत्ताा चाहिँ लागेन। कसरी हरायो भन्ने पक्ष गर्भमै रह्यो।

२० औं शताब्दीको उत्तरार्धतिरको एक मध्यरात। मर्टिन कुपरले दशक जति अघि आविष्कार गरिदिएको मोबाइल फोनको घण्टी बज्यो। म गहिरो निद्रामा रहेछु, ब्युँझिएँ। मोबाइल फोनको स्क्रिनमा एउटा अपरिचित अनौठो नम्बर देखा पर्‍यो। रिसिभ गर्नुअघि दोधारिएँ।

दोधारिँदै दोधारिँदै अल्लिबेर अल्मलिएँ। अलमलमै हरियो बटन थिचेर हेलो भनें। कुनै पनि प्रतिक्रिया आएन उताबाट। थप दुईपटकसम्म हेलो भनें। तर, उताबाट बोली आएन। बोली नआएपछि मनमा तर्कनाहरू आए। ती तर्कना मनैमा खेलाउँदै निदाउने उपक्रममा जुटें।

केहीबेर कोल्टे फेरिरहें। आँखामा निद्रा नआएपछि उठेर कफी बनाएँ। कफीको कप छेउको टेबलमा राखें। सँगैको कोचमा बसेर ल्यापटप अन गरें।

इमेल खोलें। केही सन्देशहरू रहेछन्, तिनलाई नपढिकनै डिलिट गरिदिएँ। बेचैनी बढेपछि ‘टोर्नाडो टाइम्स’को अनलाइन संस्करण खोलें। ‘अपडेट’ भइसकेको रहेनछ।

आफूलाई साइनआउट गर्नमात्रै के तम्सिएको थिएँ, तत्क्षण अनलाइन कुराकानीको निम्तो दिँदै कोही महिला नामधारी देखा पर्‍यो। निद्रा नपरिरहेको प्रहर, एकमन त खुसी नै मानें।​​​​​​​र, सक्रिय भएँ। हाम्रो शाब्दिक वार्तालापको मेलो थालियो र अनौठो तरिकाले तन्किन थाल्यो।
‘टेल मी समथिङ अबाउट यु।’

‘३० वर्ष टेक्दै गरेकी एक युवती जो पत्ता लाग्न बाँकी ग्रहमा बस्छे’ उसले आफूलाई चिनाई। उसको भाषामा अलिकति ठट्ठा पनि मिसिएको पाएँ। भलै कतिपय कुराहरू पछि बताउने सर्तमा गोप्य नै राखी उसले। मैले चाहिँ उसले सोधेका जम्मै सबालको जवाफ दिएँ। अर्को दिन फेरि त्यही समयमा भेट्ने सर्तसहित उसले ‘साइनआउट’ गरी आफूलाई।

कफी सेलाइसकेछ। ‘मार्लबोरो’को बट्टा पनि रित्तिएछ। सोच्न अभ्यस्त बनिसकेको म बिना कफी र बिना चुरोटको सर्को सोच्न थालें– आखिर त्यस्तो अजीव तत्त्वको अस्तित्व हुन सक्ला र ! भित्री मनले पत्यार मानिहाल्न अनकनायो। बाहिरी मनले चाहिँ भन्यो– पक्कै कोही दामली, परिचित आफन्ती वा चिनारु हुनुपर्छ जो मलाई मूर्ख बनाउन खोजिरहेछ।

भोलिपल्ट उही नम्बरबाट उसैगरी फोन कल आयो। रिसिभ गरें। प्रतिउत्तर चाहिँ आएन, अघिल्लै दिनको जसरी। कम्प्युटर अन गरें। त्यसपछि ऊ अनलाइनमा आई। कुराकानी थालियो। ऊ खुल्न थाली। एउटा विश्वविद्यालयकी ‘प्रोफेसर’ रहिछे, म जस्तै। उसले भनेअनुसार हाम्रा ग्रहहरू पनि भिन्नै थिए। विश्वविद्यालय भिन्नै हुने त भइहाले। तर, एउटा अनौठो संयोगात्मक समानता के थियो भने हाम्रो पेसा एउटै र बानी पनि एउटै। म पनि चुरोट र वाइनको सौखिन। ऊ पनि उस्तै। दुवैको मन पर्ने चुरोटको ब्रान्ड मार्लबोरो। त्यसो त उसको र मेरो प्राध्यापन गर्ने विषय पनि एउटै– ‘इलेक्ट्रो फिजिक्स’।
त्यसैले पनि होला, हाम्रो ‘केमेस्ट्री’ मिलेको।

कुराकानीबीच कहिलेकाहीँ आफूले पढाउने विद्यार्थीको प्रसंग उठ्थ्यो। उसले विश्वविद्यालयका पुरुष विद्यार्थीको प्रशंसा बढी गर्थी, जसरी मैले महिला विद्यार्थीको गर्थें। ऊ एक अविवाहित प्राध्यापिका र म पनि सोही कोटीको प्राध्यापक।

हाम्रो सुदूर मित्रतालाई आत्मीयताको बरियोले कस्दै लग्यो। भलै भेट भने अनलाइनमा मात्र हुन्थ्यो। उसको त आवाज पनि सुन्न पाएको थिइनँ। उसले आफ्नो ग्रहको ब्रिफिङ गरेअनुसार हाम्रो प्रत्यक्ष भेटको त गुञ्जायशै थिएन। यदि भेट्ने नै हो भने ‘फोटो रिसेप्टर’बाट सञ्चालन हुने नयाँ यान्त्रिक वहानको आविष्कार गर्नु पर्ने थियो। विवाहको प्रसंग उठ्यो एकदिन। उसले भनी– 
‘आइन्सटाइनको क्वान्टम् थ्यौरीलाई चुनौती दिन सक्ने मस्तिष्कसँग मात्र मैले विवाह गर्ने अठोट गरेकी छु।’ उसको कठोर सर्तले ममा बेग्लै ऊर्जा पलायो। बेग्लै ग्रन्थी सक्रिय भए जस्तो भो।

एकरात। म प्रयोगशालामा तल्लीन थिएँ। उही परिचित नम्बरबाट फोन आयो। रिसिभ गरें। ‘तपाईंलाई आत्मीय बधाई छ आइन्सटाइनको सापेक्षतावादलाई उल्टाइदिएर नयाँ सिद्धान्तको प्रतिपादन गरेकोमा अनि नोबेल पुरस्कारका निम्ति पनि’, उसले भनी, ‘अब, छिट्टै हाम्रो भेट हुँदैछ।’

कल्पनाशीलताको आयतन फैलिँदै गयो। बढी समय प्रयोगशालामै बिताउन थालें। टेस्ट र रिटेस्टमा घोत्लिन थालें। हरप्रहर भित्तामा झुन्डाइएका हेनरी केविनडिस, आइज्याक न्यूटन, थोमस अल्बाएडिसन र अल्बर्ट आइन्सटाइनका तस्बिरहरू मैलाई हेरेर मुस्कुराए जस्तो लाग्थ्यो।
एकदिन भित्तामा टाँगेका तस्बिरहरूको लहरबाट आइन्सटाइनको तस्बिर हरायो। खोजी गरे पनि पत्ता चाहिँ लागेन। कसरी हरायो भन्ने पक्ष गर्भमै रह्यो। त्यसपछि दिनप्रतिदिन अनौठा प्रकृतिका परिघटना घट्न थाले। पछिल्लो पटक निर्मित यान्त्रिक मानवहरू परीक्षणको क्रममा थिए। तर पनि ती मेरा घनिष्टतम् मित्र बनिसकेका थिए। मेजोटोनिक मस्तिष्क परिपथको स्मृतिकक्षमा उनीहरू समाहित भइसकेका थिए।

एकरात अचानक एउटा ठूलो उपलब्धि हात लाग्यो। प्रयोगशालाको रिसेप्टरसँग त्यो ३० वर्षे प्राध्यापिकाले ब्रिफिङ गरेको ग्रहका विशेषतासँग मेल खाने नयाँ ग्रहसँग नयाँ सम्बन्ध स्थापित भयो। उक्त ग्रह नै पत्ता लगाउनु थियो। ‘फोटोसेल’ र ‘म्याग्नेटिक चिम’सँगको घनिष्टता बढाएँ।

एक साँझ। प्रयोगशालाको रूफमा एन्ड्रोनिड यन्त्र मानवहरूसँग बसेर वाइन पिइरहेको थिएँ। अचानक डिस्कमा केही रेडियसनको प्रवाह भयो। अनौठा तरंगहरू देखा परे। त्यो कुनै नयाँ ऊर्जाको संकेत मात्रै थिएन, नयाँ ग्रह नै पत्ता लाग्न थालेको संकेत थियो त्यो। त्यसपछि एन्ड्रोनिड यन्त्र मानवहरूलाई आफ्नो कक्षमा फर्किन निर्देशन दिएँ। म पनि मेरो अध्ययन कोठामा आएँ। कर्नरबाट आइरहेको ‘पिंक फ्लुड’को मधुर संगीतलाई रिमोटको सहायताले दुई पोइन्ट भोलुम बढाएँ।

किन किन मुड नोस्टाल्जिक बन्दै गयो। वाइन थप्ने इरादा जाग्यो। ग्लास भर्न थालें। भर्दैै गर्दा मानसमा जम्मै विगत ओइरियो। जतिबेला म युनिभर्सिटीको विद्यार्थी थिएँ। अंग्रेजी डिपार्टमेन्टकी एक छात्रा अभान्तिका खुब मन पराउँथी मलाई। उसले प्रेम प्रस्ताव राखी।

मबाट रिजेक्ट भएपछि उसकै सहपाठी लेखक÷समीक्षक ‘ज्याक डेरिडा’सँग बिहे गरी। त्यसो त उसलाई लिओटार्ड, मिसेल फुको, रोलाँ बार्थहरूले पनि मन नपराएका होइनन्। उसको मन जित्न सकेनन् क्यार उनीहरूले। बिहेपछि ऊ छापामा राम्रोसँग आई। उसको पतिदेव डेरिडाद्वारा प्रतिपादित ‘विनिर्माणवाद’ त आजको चर्चितमध्येको एक ‘लिटरेरी थ्योरी’ नै हो।

केही समयपछि यो पनि सुनें— उसले आत्महत्या गरी रे। ऊ आफैंसँग हारी सायद। या आफैंलाई विनिर्मित गरी ? किञ्चित सहानुभूति पलायो उसप्रति तथापि ऊ अभौतिक तत्वमा रूपान्तरित भइसकेकी थिई।
सम्भवतः उसको ‘फोसिल’सम्म पनि बाँकी छैन होला। त्यो केटी साँच्चै असामान्य नै थिई। खोइ मलाई के लाग्यो कुन्नि, उसको प्रस्ताव स्वीकारिनँ। हुन सक्छ आवरणीय सौन्दर्यलाई मात्र हेरें त्यतिबेला ! बौद्धिक सौन्दर्यलाई नियाल्ने प्रयाससम्म गर्न सकिनँ या त त्यो क्षमता नै थिएन मसँग।


मध्यरात भइसकेको थियो। उही अनौठो नम्बरबाट कल आयो। प्रक्रिया उही हुनेछ भन्ने जान्दाजान्दै पनि रिसिभ गरें। तर यसपालि चाहिँ त्यसो भएन। मेरो ‘हेलो’को प्रतिउत्तर आयो– सुरिलो नारी स्वर। केही अनौपचारिक कुराकानी पनि भए...।

मेरा पछिल्ला जम्मै परीक्षण सफल हुँदै गइरहेका थिए। ‘एन्ड्रोनिड’ यन्त्र मानवहरूमा सेन्सेसन शक्ति पनि प्रत्यारोपण गर्न सफल भइसकेको थिएँ। उनीहरूकै सहयोगमा मैले प्रकाशको गति, पिण्ड र ऊर्जाबीचको असन्तुलित अवस्थालाई पुष्टि गर्दै नयाँ सिद्धान्तसहित कार्यपत्र प्रस्तुत गरिसकेको थिएँ। जहाँ ऊर्जा, पिण्ड र प्रकाशसम्बन्धी स्थापित मान्यतालाई चुनौती दिइएको थियो। प्रकाश सोझो रेखामा, लहरको गतिमा, हुँदै सर्कुलर गतिमा यात्रा गर्ने तथ्यको नयाँ तथ्यांकन र पुनःपुष्टि गरिदिएको थिएँ।

हुन त जतिजति ऊसँगको सम्बन्धमा उचाइ थपिँदै थियो, त्यही अनुपातमा मेरा परीक्षणहरूले पनि कामयावी हासिल गर्दै गइरहेका थिए। यसैबीच मेरो योगदानको कदर गर्दै भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारको दिने घोषणासमेत भइसकेको थियो।


एकरात। म प्रयोगशालामा तल्लीन थिएँ। उही परिचित नम्बरबाट फोन आयो। रिसिभ गरें। ‘तपाईंलाई आत्मीय बधाई छ आइन्सटाइनको सापेक्षतावादलाई उल्टाइदिएर नयाँ सिद्धान्तको प्रतिपादन गरेकोमा अनि नोबेल पुरस्कारका निम्ति पनि’, उसले भनी, ‘अब, छिट्टै हाम्रो भेट हुँदैछ।’
(प्रिय पाठक, यतिञ्जेल ‘म’ पात्रले उसलाई विवाहको प्रस्ताव राखिसकेको हुनेछ। उसले आइन्सटाइनको सिद्धान्त उल्टाउने व्यक्तिसँग मात्र आफूले वैवाहिक सम्बन्ध स्थापित गर्ने सर्त पनि गरिसकेकी हुनेछ।)

मोबाइल फोनको रातो बटन थिचिसकेपछि मलाई संसार जितेजस्तो लाग्यो। सफलताको जम्मै पोको एकैपटक फुकेजस्तो लाग्यो। ऊसँग भेट हुने दिनको प्रतीक्षामा आँखाहरू गतिशील बन्न थाले। मानसमा नयाँ सपनाको नयाँ खाका कोरियो।उसले भेट हुने भनेको दिन। 

रात। जूनको मन्द उज्यालोले आकाश र धर्तीको जम्मै आयतन ओगटेको थियो। पर्यावरण उत्साहप्रद थियो। मेरा एन्ड्रोनिड मित्रहरू आरामकक्षमा गइसकेका थिए। म भने चुरोटको धुवाँ जन्य भूगोलमा आफूलाई अटाउने प्रयत्नमा, उसैको प्रतीक्षामा थिएँ। घडीले रातको १ बजेको संकेत दिइसकेको थियो। अचानक, प्रयोगशालाको कम्प्युटर अन भयो। ‘म्याग्नेटिक वेभ’हरू र ‘अल्फा–रे’ हरू बाहिर आउन थाले– ऊर्जाका रूपमा। त्यो शक्ति प्रयोगशालाभरि व्याप्त भयो।

आराम कक्षका एन्ड्रोनिडहरूले अनौठो प्रकृतिको आवाज निकाल्न थाले। खतराका सूचक राता बत्तीहरू जम्मै बल्न थाले। चुरोट पनि आफैं निभ्यो। म हतप्रभ भएँ, क्षणभरका लागि। अन्तरिक्ष र सेटेलाइटसँगको सम्पर्क टुटिसकेको थियो। झन्डै कहालिएँ म भीरबाट खसेसरी। बाहिर ठूलो हुरी चल्यो एकपटक। 
त्यसपछि बत्ती गयो। केहीबेर पछि स्थिति सामान्य जस्तै भयो। मन अलिकति हलुका भयो। एन्ड्रोनिडहरू सम्पर्क बाहिर थिए। 
तत्काल डोरबेल बज्यो।

ढोका खोलें। एउटा महिला आकृति हँसिलो मुद्रामा उभिइरहेको थियो। अनुहार तेज थियो उसको। उसको अद्भुत शक्तिको अड्कल पाइसकेको थिएँ। उसलाई भित्र आउन आग्रह गर्दै फूलको बुकेद्वारा स्वागत गरें। भित्र आएर अघिल्तिरको कोचमा बसी। ग्लासमा रेड वाइन भरें। चियर्स गर्नुअघि उसले भनी– 
‘के मेरो नाम जान्न चाहनुहुन्न, प्रोफेसर अर्नव ?’
‘अफकोर्स’, भनें– ‘नाम मात्र होइन, सबै कुरा जान्न चाहन्छु, प्लिज !’
‘प्रोफेसर अर्नव, आई एम अभान्तिका, हुम यु 
ह्याड रिजेक्टेड वन्स !’
‘...!’
‘अभान्तिका !’ नाम सुन्नेबित्तिकै झस्किएँ। चिस्सिएँ पनि। मानौं, चिसो मूर्ति हुँ त्यसप्रहर। आँखा अगाडि विश्वविद्यालयका सम्पूर्ण परिघटना एकपछि अर्को गर्दै चुलिए। जम्मै अतीत आँखाको पर्दामा रिल जसरी दगुरे। मैले उसलाई अस्वीकार गरेको उतिबेलाको दृश्य...। त्यही झोंकमा उसले डेरिडासँग बिहे गरेको...। र, ‘सुसाइड ’ गरेको...।
मैले आफूलाई डिफेन्स गर्नुअघि ऊ बसेको कोचमा आँखा पुगे। ऊ बसिरहेको स्थानमा ऊ जसरी नै इलेक्ट्रोम्याग्नेट, आल्मुनियम वायरको गुजुल्टो र लिडजडित एउटा ‘मानव–कंकाल’ बसिरहेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.