गृहनगरबाटै कन्दरा ब्यान्डको पुनरोदय

गृहनगरबाटै कन्दरा ब्यान्डको पुनरोदय
सुन्नुहोस्

पोखरा : एकताका लोकाधुनिक गीत भनेपछि पोखरा र यहाँका सांगीतिक समूह नै पर्यायवाची जस्ता थिए। त्यसैमा एक थियो कन्दरा ब्यान्ड। 

विवेक श्रेष्ठ मुख्य गायक र सुनील थापा संगीतकार/गीतकार रहेको यो ब्यान्डले ५० को दसकमा देशभित्र र बाहिर धेरै नेपालीको मन जित्यो। लामो समय ब्यान्ड सुस्तायो, गायक श्रेष्ठ आफैं विदेश गए। सुनील भने पोखरामै रहेर संगीतकर्म गरिरहे।
 

लामो अन्तरालपछि गायक विवेक हङकङ, बेलायत र अस्ट्रेलिया घुम्दैफिर्दै नेपाल फर्किएनन् मात्रै फेरि आफ्नो सांगीतिक समूहलाई पुनर्जीवन दिन तल्लीन बने। त्यही सिलसिलामा उनले पर्यटनका लागि सांगीतिक अभियान सुरु गरिसकेका छन्। अभियानको पहिलो कार्यक्रम शुक्रबार पोखरामा भएको छ। पोखरा पर्यटन परिषदले आयोजना गरेको कन्दराको कन्सर्टमार्फत विवेक र उनको टोली फेरि सांगीतिक दुनियामा पुनरोदय गरेको छ।
 
पर्यटन प्रवर्द्धनको लक्ष्य र उद्देश्य राखेर गरिएको कन्सर्टमा शुक्रबार विवेकले आफ्ना नयाँपुराना १४ गीतमार्फत नयाँ र पुराना स्रोतालाई लोकाधुनिक शैलीको संगीतको स्वाद फेरि चखाए। कन्सर्टका लागि पोखरा प्रदर्शनी केन्द्रको गेट दिउँसो ३ बजे नै खुलेको थियो। ५ बजे लक्ष्य ब्यान्डले सांगीतिक माहोल जमायो। धुनहरूमा उसले नेपाली मौलिकता पस्कियो। गायक विवेक साढे ६ बजे स्टेज उक्लिए। सरासर गाउन थाले।
 
तगारोमा रुमाल राखी बाटो छेक्यौं तिमीलेबाट सुरु गर्दै उनले आफ्नो ब्यान्डको पहिलो क्यासेट एल्बल चञ्चले कान्छी गाए। चञ्चले कान्छीको गीति गर्भ सुनाउँदै विवेकले मर्दीपदयात्राका दिनहरू सम्झिए। पोखरामै हिउँ नपरे पनि जाडो महिनामा पञ्चासेतिर हिउँ पर्ने प्रसंग झिके। अनि फुल्चोकीको डाँडैमा हिउँ पर्‍यो...गाए।
 
विवेक स्वदेश फर्किएर फेरि सांगीतिक माहोल जमाउँदै छन्। तर यही बेला युवाहरूको लस्कर भने विदेश सोझिरहेको छ। विदेशिने युवा पुस्ताको हुल अन्तर्राष्ट्रिय विमानस्थलमा थामिनसक्नु भइरहेको छ। विवेकले भने स्वदेशको सेवा गर्न र सबैले मिलेर देश बनाउन अपिल गरे। त्यही मेसोमा गोपाल योञ्जनको गीत ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई...’ पनि गाए।
 
‘देशलाई बनाउनु छ, आफैंबाट सुरु गर्नुछ’ भाकाको शैलीमा उनले देश बदल्न सबैभन्दा पहिला आफू बदलिन आग्रह गरे। त्यही सन्दर्भकै सिलसिलामा उनले स्वदेशीको माटोको सांगीतिक स्वाद पस्किए-इलामको चियाले मितेरी लायो रे मुस्ताङी स्याउसँग...।  कन्दरालाई सुन्न नयाँ र पुरानो पुस्ताका हजारौं पोखरेलीले शुक्रबारे साँझको चिसोको पर्वाह गरेनन्।
 
‘पहिला घरदेश, अनि परदेश’ भन्ने उद्घोषसहित सुरु सांगीतिक अभियान ७ वटै प्रदेशमा पुग्ने भएको छ। त्यसका लागि पोखरा महानगरपालिकाले पनि प्रवर्द्धनात्मक सहयोग गरेको मेयर धनराज आचार्यले सुनाए। 

गायक विवेकले हाम्रो पोखरा राम्रो पोखरा भन्दै अझै राम्रो बनाउन सबै लाग्नुपर्ने औंल्याए। शुक्रबारको कन्सर्टमा गायक विवेकको साथमा वाद्यवादनतर्फ सुनील थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पंकज झा थिए। कन्दराको सिग्नेटर गीत ‘हङकङ-पोखरा..निर्मोही आफ्नो को छ र ?’ गाएर विवेकले कन्सर्टको बिट मारे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.