स्वराज्यमा रामराज्य

स्वराज्यमा रामराज्य
सुन्नुहोस्

रामचरित्र मानस उत्तरकाण्डमा तुलसीदासले राम राज्यबारे प्रकाश पारेपछि तथ्यले ‘स्वराज्य र मेलमिलाप’ अभियानको सार्थकता पुष्टि हुने देखिन्छ। भारतको उत्तर प्रदेशस्थित अयोध्यामा नयाँ राममन्दिर निर्माणसँगै रामराज्यको पनि चर्चा बढेको हो। त्यसैले नेपाल–भारत साझा अवधारणाका आधारहरू तयार गर्नु बुद्धिमानी हुनेछ। माथि उल्लेखित श्लोकमा रामराज्यमा दैहिक, दैविक र भौतिक कुनै पनि किसिमको दुःख नआउने भन्दै सबैले आपसमा प्रेम गर्दै स्वधर्मको पालन गर्नेछन् भनिएको छ। जसबाट स्वराज्य र मेलमिलापको परिकल्पना गरिएको पाइन्छ।

भगवान् विष्णुका सातौं अवतारका रूपमा त्रेता युगमा अयोध्यामा जन्म लिएका भगवान् रामचन्द्रलाई मर्यादा पुरुषोत्तमका रूपमा मानिँदै आएको छ। आदर्श राजा, आदर्श भाइ र आदर्श पुत्रको रूपमा वेद, उपनिषद् र रामायणहरूमा वर्णन गर्दै आदर्श राज्य रामराज्यको संस्थापकको रूपमा उनको चरित्रलाई चित्रण गरिन्छ। जसले वर्तमानमा पनि सुशासनको प्रसंग आउँदा रामराज्यको चर्चा भइरहन्छ। सर्वाधिक प्रभाव पारेको रामकथा सभ्यता संवादको पनि महत्वपूर्ण कथाका रूपमा स्थापित हुने सम्भावना बढेको छ। धेरै शतकको कानुनी लडाईंपश्चात् हिन्दूहरूको पक्षमा भारतको उच्च न्यायालयबाट निर्णय भई मन्दिरको निर्माणसँगै सम्पूर्ण भारतका जनतामा उत्साह जागेको छ।

उत्साहको त्यहीँ प्रभावस्वरूप नयाँ अभियान र प्रयासमध्ये सभ्यता संवाद पनि एउटा महत्वपूर्ण अभियान बन्ने देखिन्छ। वर्तमान विश्व व्यवस्था आपसी द्वन्द्व र घृणाका कारण नष्ट हुने स्थितिमा नयाँ विश्व व्यवस्थाको चर्चाको केन्द्र बन्न सक्छ। रुस–युक्रेन युद्ध, अरब–इजरायल युद्ध तथा चीन–पाकिस्तान–अफगानिस्तान सहित दक्षिण एसियाको स्थिरता र समृद्धिका लागि भारतको भूमिकालाई महत्वपूर्ण बनाउन मद्दत पुग्नेछ। चीनले सन् २०१९ मा एशियाली सभ्यता संवादको आयोजना युनेस्कोसँगको सहकार्यमा गरेपश्चात नयाँ अध्यायको थालनी मानिएको थियो। भारतले यसै वर्ष जी–२० समिट आयोजना गरी ‘बसुदैव कुटुम्बकम’लाई विश्वमा पुर्‍याउने प्रयास गर्‍यो। यो पनि सभ्यता संवादकै एक पक्ष थियो भन्दा अतिशयोक्ति नहोला।

सन् २०२४ जनवरी २२ मा सम्पन्न हुने राम मन्दिरको उद्घाटनसँगै सनातन आदर्श सभ्यताको चर्चाले विश्वको ध्यान केन्द्रित गर्नेछ। सन् १९९० मा शीतयुद्धको समाप्तिपश्चात् अबको युद्ध सभ्यताहरूबीच हुने भनाइ राख्ने स्यामुल पी. हन्टिङटनको विश्लेषणलाई नकार्न सक्ने स्थिति पनि छैन। पश्चिमी तथा पूर्वीय संस्कृतिबीच रहेको मतभेद र द्वन्द्वहरूलाई समेत मेलमिलापको माध्यमबाट समाधान गर्न सैद्धान्तिक आधार बन्ने छ। ‘सब नर करहिं परस्चर प्रिति...’ भन्ने रामचरित्र मानसको वचनलाई सबैले स्वीकार्ने स्थिति बन्नेछ। नेपालको राष्ट्रिय समस्यालाई मेलमिलापको माध्यमबाट समाधान गर्न स्वराज्य र मेलमिलाप पुस्तक प्रकाशनसँगै प्रारम्भ गरिएको अभियान स्थानीय तहको पनि मार्गचित्र बन्ने अवस्थामा छ।

‘यज्ञेन द्विषन्तो मित्रा भवन्ति’ नारायण उपनिषद्को वचनलाई आधार मान्दै मेलमिलापको सिद्धान्तलाई स्वीकार्य बनाउँदै लगिएको छ। रामचरित्र मानस र नारायण उपनिषद्को वचनलाई एकैसाथ नेपाल–भारतबाट अगाडि बढाउँदा विश्व अभियान बन्ने निश्चित छ। हिमवत खण्डको पावन भूमि नेपालबाट भगवान् रामको जन्मका लागि पुत्रेष्टि महायज्ञको आचार्यका रूपमा शृंगीऋषि अयोध्या गएको कुराले पनि नेपाल–भारत साझा स्थल बन्न पुगेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकास्थित शृंगीऋषि आश्रम तथा गोशृंगी तीर्थको अवस्थितिले पनि राममन्दिर उद्घाटनप्रति हाम्रो आकर्षण बढेर गएको छ।

मुगल सम्राट बावरद्वारा राम जन्म स्थानमाथि मस्जिदको निर्माण गरेपछि हिन्दू र मुस्लिमबीच द्वन्द्व भइ धेरैको ज्यानसमेत गएको थियो। सन् २०१९ नोभेम्बर १ मा भारतको उच्च न्यायालयले विवादित बाबरी मस्जिद रहेको स्थान रामजन्म भूमि रहेको निर्णय गरेको थियो। यसरी हिन्दूहरूलाई सुम्पिने आदेशसँगै भव्य राम मन्दिर निर्माण सम्भव भएको हो। विवादित बावरी मस्जिदका विषयमा सन् १९७६–७७ मा सरकारबाट उत्खनन गराउने समितिका मुस्लिम सदस्य के.के. मोहम्मदको भनाइ पनि हिन्दूहरूकै पक्षमा थियो। उत्खननको समयमा मस्जिदको तल हिन्दू मन्दिरका खम्बाहरू रहेको उनको भनाइ र विष्णु मन्दिर पनि पाइएको पुरातात्विक आधारले हिन्दूहरूको पक्षमा निर्णय गर्न सहज भएको थियो।

करिब पाँच सय वर्षभन्दा लामो समय मुद्दा र झगडामै बितेकाले आगामी दिनमा कसरी अगाडि बढाउने हो ? प्रतिक्षाको विषय भएको छ। नेपालमा राम भगवान्का विषयमा निरन्तर चर्चा र पुजन भइरहेकाले सभ्यता संवादमा अगाडि बढ्न सहज महसुस हुने गर्छ। माता सीताको जानकी मन्दिर, वाल्मिकी आश्रम शृंगीऋषि आश्रम, राम मन्दिर तथा भानुभक्त रामायणका कारण रामकथा सभ्यता संवादकै रूपमा अघि बढिरहेछ। रामनवमी, सीताराम विवाहोत्सव लगायतका उत्सव धुमधामसँग नेपालमा मनाउने परम्परा ऐतिहासिक महत्वको छ।

भारत तथा विश्वभर रहेका नेपालीले भानु जयन्तीलाई भव्यताका साथ मनाउँदै रामचरित्रलाई जीवन्त बनाउँछन्। रामराज्यको प्रचलित कथनलाई कार्यरूप दिन सक्नेगरी नेपालबाट थालनी गरिएको ‘स्वराज्य र मेलमिलाप’ अभियान पनि विश्वकै लागि अनुकरणीय बन्ने विश्वास लिइएको छ। आदर्श शासनका लागि ऋग्वेदमा उल्लेख गरिएको ‘स्वराज्य’लाई वर्तमान विश्वले बुझ्नेगरी नेपालबाट थालिएको अभियानले रामराज्यलाई स्मरण गराइरहन्छ। ‘विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ, त्यसको स्वराज्य शासनमा जनताको भलाइका लागि रहौं’ भन्ने ऋग्वेदको सूत्रले प्रजातन्त्र, राष्ट्रियता र समावेशी स्वराज्यप्रति सबैको आकर्षण बढाएको छ।

मानवअधिकार, कानुनी शासन तथा सुशासन सर्वत्र उल्लंघन भइरहेकाले रामराज्य र स्वराज्य वैकल्पिक समाधानको सूत्र स्वीकार्य बन्न सक्छ। असुरराज वेत्रासुरलाई परास्त गरी स्वराज्यको स्थापना गरेको विवरण ऋग्वेदमा पाइनु र रामचन्द्रको अयोध्या आगमनपश्चात ‘रामराज्य’को अनुभूति हुनुलाई आजका लागि पनि उपयुक्त बनाउनु सभ्यता संवादको प्रमुख लक्ष्य हुनुपर्छ। नेपालमा भएको तत्कालिन माओवादी द्वन्द्व, विस्तृत शान्ति सम्झौता, संविधानसभाद्वारा संविधान लेख्न तथा आमनिर्वाचन पश्चात अभ्यासमा आएको शासन पद्धतिमा स्वराज्य र मेलमिलापको भावना प्रतिनिधित्व भएको पाइन्छ।

स्थानीय तहमा क्षमता विकास तथा सुशासनको व्यवस्थाले रामराज्य र स्वराज्यको मार्गचित्रमा अघि बढ्ने आधार प्रदान गरेको छ। स्थानीय तहमा ‘स्वराज्य र मेलमिलाम अभियान’ समाज रूपान्तरणको कारक बन्ने देखिन्छ: स्थानीय तह : कार्यसम्पादन तथा सुशासन, न्यायिक समिति र स्थानीय सरकार : मेलमिलापको मार्गचित्र, सम्पदा र शान्ति, संस्कृति, स्वराज्य र समाजवाद र स्थानीय सरकार : संवैधानिक। आदर्श समाज र राज्यको बहससँगै सभ्यता संवादका लागि पनि यो प्रेरणास्रोत बन्ने देखिन्छ। 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.