स्थानीय जडीबुटीबाटै जैविक विषादी
सुर्खेत : तरकारी खेतीमा रोग किराको प्रकोप बढ्दो छ। पहिलाको तुलनामा उत्पादन पनि घटिरहेछ। वीरेन्द्रनगर–९ पर्सेनीका किसान भूपबहादुर शाहीले तरकारी खेतीमा रासायनिक मल प्रयोग गर्दा उत्पादन शक्तिमा झनै ह्रास आयो र रोग किराको प्रकोप झनै बढ्यो। त्यसपछि उनी जैविक विषादी प्रयोग गर्न थालेका छन्।
रासायनिक विषादीको अत्यधिक प्रयोगले बारीको माटो नै बिग्रिने गरेको छ। ‘सुरुमा त तरकारी खेतीमा विभिन्न रोग र किराले हैरान बनाए,’ शाही भन्छन्, ‘बजारमा पाइने रासायनिक विषादी प्रयोग गर्दा माटोको उब्जाउ हुने शक्ति नै नष्ट भएछ, त्यसपछि अचेले जैविक विषादीको प्रयोग गर्न थालेको छ।’
हाल जलवायु अनुकूलन कृषि प्रविधिलाई अँगाल्दै आएका उनले तीन कट्ठा जमिनमा तरकारी खेती गरिरहेका छन्। स्थानीय जडीबुटीबाट तयार गरिने जैविक विषादी प्रयोग गर्न थालेपछि एकातिर रोग किराको प्रकोप रोकिएको छ भने अर्कोतर्फ माटोको उब्जाउ क्षमता पनि बढेको छ। वीरेन्द्रनगरका अधिकांश किसानले पछिल्लो समय तरकारी खेतीमा जैविक विषादीको प्रयोग गर्न थालेका छन्। स्थानीय स्तरमा उपलब्ध हुने जडीबुटीबाटै घरमा बनाउन सकिने र वातावरणीय हिसाबले पनि उपयुक्त भएकाले जैविक विषादीको प्रयोगतर्फ किसानको आकर्षण बढेको हो।
किसानले स्थानीय स्तरमै पाइने बकाइनो, सिस्नो, तीतेपाती, लसुन, खुर्सानी, टिम्बुर, मेवाको पातलगायतका जडीबुटीहरू मिलाएर जैविक विषादी तयार गर्छन्। जडीबुटीबाट तयार भएको झोललाई नै जैविक विषादीको रूपमा तरकारी खेतीमा लाग्ने रोग किरा नष्ट गर्न प्रयोग गर्दै आएको किसान बिन्दु शाहीको भनाइ छ। उनका अनुसार जैविक विषादी तयार गर्न एक महिना समय लाग्छ। जैविक विषादी र मल प्रयोग गर्न थालेपछि तरकारीको उत्पादन बढ्न थालेको उनले बताइन्। बिन्दुको परिवारले तरकारी खेतीबाटै वार्षिक दुई लाख रुपैयाँ आम्दानी गरिरहेको छ। वीरेन्द्रनगर पर्सेनीकै किसान मानबहादुर शाहीले सुरुमा तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग गरेका थिए तर आजभोलि जैविक विषादी प्रयोग गर्न थालेका छन्। तरकारीको उत्पादन बढेपछि आम्दानी पनि वद्धि भएको उनको भनाइ छ। उनले हाल ८ कट्ठा क्षेत्रफलमा तरकारी खेती गरिरहेका छन्। मौसमअनुसार काउली, बन्दा, टमाटर, गाँजर, खुर्सानी, बोडी र काँक्रालगायतका तरकारी उत्पादन हुने गरेको बताए। उनका अनुसार व्यापारीहरू तरकारी किन्न उनको बारीमै पुग्ने गर्छन्।
पछिल्लो समय पर्सेनी गाउँ तरकारी गाउँका रूपमा पनि चिनिने गरेको छ। यहाँका किसान समूह नै बनाएर संगठित भएका छन्। स्थानीय लगनशील लद्युउद्यमी महिला कृषि समूहका अध्यक्ष कृष्णा बीसीले पछिल्लो समय जलवायु अनुकूलन कृषि प्रविधि अपनाउन थालेको बताइन्। उनले भनिन्, ‘जलवायु परिवर्तनका कारण तरकारी खेतीमा नयाँ प्रकारका रोग किराको प्रकोप बढ्दो छ। त्यसलाई रोक्न हामीले जैविक विषादी र मलको प्रयोगलाई बढाएका हौं।’ जैविक विषादी सस्तो हुने र तरकारी पनि विषादीरहित हुने भएकाले दोहोरो फाइदा हुने उनको दाबी छ। आफूहरूले उत्पादन गर्ने तरकारी अर्गानिक हुने भएकाले पनि बजारमा माग बढेको किसानको भनाइ छ। स्थानीय किसानलाई जलवायु अनुकूलन कृषि प्रविधि अपनाउन ग्रेप परियोजनाले सहजीकरण गरेको हो। परियोजनाले किसानलाई आवश्यक तालिम, सिँचाइको लागि ड्रम, तरकारीमा लाग्ने रोग किरालाई नियन्त्रण गर्ने पासो उपलब्ध गराएको छ।