दुई वर्षपछि ८ अर्बको कारोबार, सेयरमा उछाल

दुई वर्षपछि ८ अर्बको कारोबार, सेयरमा उछाल
सुन्नुहोस्

काठमाडौं : ०७८ पुस २८ गते ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । त्यसयता सेयर बजार घटेको घट्यै थियो । एकातिर कारोबार रकम घटेको थियो त अर्कोतिर सेयर भाउ पनि उस्तै थियो । सेयर बजारमा दैनिक कारोबार खुम्चिएर ४५ करोडमा झरेको थियो । मंगलबार भने सेयर बजारमा ‘चमत्कार’ छायो । लगभग दुई वर्षअघि कै अवस्थामा बजार फर्कियो । ८ अर्ब २ करोड ३८ लाख बढीको कारोबार भयो । एकातिर सेयर बजारमा हरियाली छायो, अर्कोतिर निराश लगानीकर्तामा खुसीको रक्तसञ्चार भयो । 

मौद्रिक नीति समीक्षामा लिइएको सेयर बजारप्रतिको लचकता र बैंकले निक्षेपको दर घटाएका कारण सेयर बजारमा उछाल छाएको विश्लेषकहरू बताउँछन् । उनीहरू, अब सेयर बजारले उचाइ लिने आशा व्यक्त गर्छन् । मंगलबार ३०४ धितोपत्रको कारोबार भएको थियो । जसका २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच भएका थिए ।

अर्थात्, ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४ सय ६ रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । पछिल्लोपटक ०७८ पुस २८ गते ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसयता कारोबारको आकार क्रमशः घटेको थियो । कारोबार खुम्चिँदा लगानीकर्ता निराश थिए । ०८० मंसिर २४ गते त सबैभन्दा कम ४५ करोड १२ लाख ९९ हजार ८७ रुपैयाँको मात्रै कारोबार भयो ।  

राष्ट्र बैंकले आर्थिक वर्ष ०८०/८१ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षा गर्दै अवलम्बन गरेको नीतिगत व्यवस्थाले लगानीकर्तामा उत्साह जागेको थियो । ०८० मंसिर २५ गतेदेखि कारोबारको आकार बढ्दै गयो । बैंकहरूले ब्याजदर घटाउँदै गएपछि सेयर बजार चम्किँदै गयो ।

सेयर विश्लेषक देव गुरागाईं बैंकले ब्याजदर घटाउँदै लगेको र सेयर कर्जा पनि पाउने अवस्था सिर्जना भएकाले बजारमा उछाल आएको बताउँछन् । ‘माघ लागेपछि कर्जा भटाभट स्वीकृत हुन थालिसकेका छन् । केही दिनमा खातामा पैसा आउने निश्चित भएको छ’, गुरागाईंले अन्नपूर्णसँग भने, ‘यसैले सेयर कारोबारको आकार बढ्यो । अबका दिनमा यस्तो भोलमको आकार अझै बढ्छ ।’

सेयर विश्लेषक गुरागाईंका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउन लागेकाले पनि लगानीकर्ताहरू आशावादी भएका हुन सक्छन् । ‘३ वर्षअघिका लगानीकर्ता तिनै हुन, नयाँ थपिएका छैनन्’, उनले भने, ‘उनीहरू बढी हौसिनेभन्दा पनि सम्हालेर कारोबार गर्न खोजेको देखिन्छ ।’ 

अधिकांश कम्पनीले पुसमा साधारणसभा गरेर लाभांश पारित गरिसकेका छन ।  यस वर्ष लाभांश नदिने कम्पनीको संख्या पनि धेरै छ । तर, पनि लगानीकर्तामा आकर्षण भने राम्रै देखिन्छ । यसले गर्दा धितोपत्र बजारमा लाभांशको प्रभाव खासै नपरेको प्रष्ट देखिन्छ । यद्यपि मार्जिन प्रकृतिको कर्जा लिएर कारोबार गर्ने भएकाले पनि सेयर कारोबारमा ब्याजदरको प्रभाव परेको हो । 

बैंक तथा वित्तीय संस्थामा अधिक लगानीयोग्य पुँजी (तरलता) भएपछि बैंकहरूले पछिल्ला हरेक महिना निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । जसले गर्दा माघ लागेसँगै वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर साविकको भन्दा औसत ०.८२ प्रतिशत बिन्दुले घटेको छ । मंगलबार नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा पुग्यो । सेन्सेटिभ इन्डेक्स २.३८ प्रतिशतले बढ्यो । आइतबार नेप्से परिसूचक ३१.६२ अंकले बढेको थियो ।   
 

यो पनि पढ्नुहोस



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.