फोरलेनको सडक बनाउन सैनामैनालाई एडीबीको २ अर्ब
बुटवल : रुपन्देहीको सैनामैना नगरपालिकालाई एशियाली विकास बैंक (एडीबी)ले फोरलेनको चक्रपथ सडक निर्माण गर्नका लागि २ अर्ब १५ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ।
नगरपालिकाको वडा नम्बर १० र ११ जोड्ने गरी १४ किलोमिटर आधुनिक चक्रपथ निर्माण गर्नका लागि अनुदान उपलब्ध भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए। सात किलोमिटर दुई वडा जोड्नका लागि ‘कनेक्टिभिडी रोड’ निर्माण हुनेछ। ‘यो चक्रपथ निर्माण भइसकेपछि सैनामैना सडक सञ्जालबाट पुरै जोडिन्छ’,थापाले भने,‘यी वडाका कतिपय गाउँबस्तीमा सहज रुपमा सडक थिएन, अब यहाँका नागरिकले सुविधायुक्त सडक उपभोग गर्नेछन्।’
कालोपत्रेसहितको फोरलेनको आधुनिक चक्रपथमा फुटपाथ, यात्रु प्रतीक्षालय, गार्डेन, साइकल लेन लगायत निर्माण गरिने थापाले बताए। चक्रपथ निर्माणपछि पूर्वपश्चिम महेन्द्र राजमार्गसँग पनि यस क्षेत्रका नागरिकहरूको सहज पहुँच हुनेछ। नगरपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार चक्रपथका लागि अनुदान स्वीकृत भएको हो। केही समयभित्र योजनाको ठेक्का प्रक्रिया सुरु गरिने थापाले बताए।
पर्यटकीय क्षेत्रहरूसँग जोडिएका र आधुनिक सहरीकरणका लागि सम्भावनायुक्त स्थानीय तहहरूलाई छनोट गरी एडिबीले ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभमेन्ट परियोजना’ अन्तर्गत अनुदान दिने गरेको प्रमुख प्रशासकीय अधिकृत थापाको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृत थापा, अर्थ मन्त्रालयका सचिव डा. कृष्ण हरि पुस्कर र एडीबीका ‘कन्ट्री डाइरेक्टर’ अर्नाउड कौकोइसबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
प्रतिक्रिया दिनुहोस !