रेल कम्पनीलाई आत्मनिर्भर बनाउनै पर्छ
आधारभूत रूपमा रेल सेवा नाफामा जाँदैन। यात्रुवाहक रेल सेवा नाफामा गएको विश्वमै उदाहरण छैनन्। तर, यसो भन्दैमा चुप लागेर बस्न मिल्दैन। यसलाई आत्मनिर्भर (सेल्फ सस्टेन) कसरी बनाउने भन्ने मुख्य चुनौती हो। सरकारले सधैं पैसा दिने र त्यसकै आधारमा रेल चलाएर साध्य पनि हुँदैन।
यसलाई आत्मनिर्भर बनाउन केही कामहरू गर्न सकिन्छ। जनकपुर रेल्वको सम्पत्ति धेरै छ। जग्गा जमिनहरू धेरै छ। रेल्वेको दायाँ–बायाँ नै १५ बिघा जति जमिन छ। ती जग्गालाई व्यापारिक रूपमा विकास गरेर आयआर्जन गर्न सकिन्छ। रेल चढेर आउने यात्रुहरूलाई लक्षित गरेर सपिङ मलदेखि मनोरञ्जनका व्यवसायको विकास गर्न सकिन्छ।
त्यसैगरी खजुरीमा नेपाल रेल्वेका पुराना इन्जिन छन्। जुन ब्रिटिस कालकै हुन्। ती विश्वकै ऐतिहासिक रेल संरचनाहरू हुन्। तिनको संरक्षण गरेर संग्रहालयको रूपमा विकास गर्न सकिन्छ। यसो भयो भने पनि रेल विभागको आम्दानीको स्रोत बन्न सक्छ। त्यसबाट इतिहासको संरक्षण पनि हुन्छ। अहिले रेल घाटा हुनुको प्रमुख कारण आफ्नो जनशक्ति नहुनु पनि हो। दक्ष जनशक्ति व्यवस्थापन गरेर अघि बढ्न सके रेल कम्पनीलाई फाइदै हुन्छ।
(भट्टराई रेल्वे कम्पनीका पूर्वमहाप्रबन्धक हुन्।)