अदुवा उत्पादनमा कमी, मूल्य तेब्बर
रुकुमपश्चिम : रुकुमपश्चिममा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले राम्रो मूल्य पाएका छन्। गत वर्षको भन्दा उत्पादनमा कमी आए पनि अदुवाको मूल्य भने तेब्बरले वृद्धि भएको हो। गत वर्षको तुलनामा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले राम्रो मूल्य पाएको कृषि विकास कार्यालय रुकुमपश्चिमका निमित्त कार्यालय प्रमुख मीनबहादुर केसीले जानकारी दिए।
उनका अनुसार गत वर्ष प्रतिक्विन्टल २ हजार ५ सयमा अदुवा बिक्री गरेका किसानले यस वर्ष ५ हजारदेखि ८ हजार रुपैयाँसम्म बिक्री गरेका छन्। जिल्लामा मुख्यगरी त्रिवेणी गाउँपालिकामा अदुवाको उत्पादन राम्रो हुने गरेको छ। त्यस्तै, सानीभेरी गाउँपालिका, मुसीकोट र आठबिसकोट नगरपालिकामा पनि केही मात्रामा अदुवा उत्पादन हुने गरेको निमित्त प्रमुख केसीले जनाए।
यस वर्ष जिल्लाबाट १ हजार ६ सय टन अदुवा बिक्रीबाट ८ करोड ८० लाख रुपैयाँ बिक्री भइसकेको छ। अझै केही अदुवा बिक्री गर्न बाँकी रहेको बताइएको छ। अदुवा उत्पादनबाट ४० हजारदेखि पाँच लाख रुपैयाँसम्म किसानले आम्दानी गर्ने गरेको उनले बताए। अदुवा उत्पादन गर्ने किसानको संख्या जिल्लामा चार सय हाराहारीमा भए पनि व्यावसायिक रूपमा अदुवा खेती गर्ने किसानको संख्या ६० देखि ७० रहेको निमित्त प्रमुख केसीले जानकारी दिए।
सामान्य खेती गर्ने किसानले दुई रोपनीदेखि व्यावसायिक रूपमा खेती गर्ने किसानले ३० रोपनी जग्गामा अदुवा खेती गर्ने गरेका छन्। जिल्लामा उत्पादन भएको अदुवा दाङ, नेपालगन्ज र काठमाडौंसम्म जाने गरेको छ। अदुवा लगाएको निश्चित समय नपुग्दै साउन महिनाको अन्तिममा बुर्णा (नयाँ तयार नहुँदै निकालिएको पुरानो बिउ) निकाल्नु पर्नेमा असारमै निकालेको यस वर्ष अदुवा उत्पादनमा कमी आएको कृषि विकास कार्यालय रुकुमपश्चिमले जनाएको छ।
व्यावसायिक रूपमा अदुवा खेती गरेका त्रिवेणी—४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख रुपैयाँ आम्दानी गरेको बताए। विगत २० वर्षदेखि खड्का निरन्तर अदुवा खेतीमा लागेका छन्। यस वर्ष उत्पादन भएको प्रतिक्विन्टल ४ हजारदेखि ८ हजार रुपैयाँसम्ममा बिक्री भएको खड्काले बताए।