सपना भुलाई सारा...

सपना भुलाई सारा...
सुन्नुहोस्

काठमाडौं :

सपना भुलाई सारा आँसु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ...

कुनै समय यो गीत नगुन्गुनाउने को होला ? अत्यन्तै सुमधुर र कर्णप्रिय यो गीतका गायक योगेश वैद्य शुक्रबार सबेरै सम्पूर्ण श्रोतालाई आँसु पिलाएर संसारबाट बिदा लिए। यो गीत रेकर्डिङका सन्दर्भमा गजबको सन्दर्भ छ। संगीतकार टीका भण्डारीले यही गीत सम्बन्धमा सामाजिक सञ्जालमा यसरी लेखेका छन्– एकदिन गायक योगेश वैद्य संगीतकार नातिकाजीको कोठामा पसे। उनी संगीतमा व्यस्त थिए। नातिकाजीको टेबलमा एउटा गीत लेखिएको कागजमा उनको आँखा प¥यो। त्यो गीत पढे। त्यसमा लेखिएको थियो–

सपना भुलाई सारा आँसु पिएर जाऊ... यो गीतले उनलाई एकदमै छोयो। उनले नातिकाजीलाई भने– मलाई यो गीत मन प¥यो नातिदाइ। म गाउँछु। नातिकाजीले पनि गीत पढे। गुनगुनाए। अलिअलि लय बनाउने प्रयास गरे। त्यसपछि नातिकाजीले योगेशलाई भोलिपल्ट आउन भने। अर्को दिन उनी जाँदा नातिकाजी स्टुडियोमा थिए। नातिकाजीले उनलाई गीत तयार छ, रिहर्सल गर्नू भने।

वैद्यले पनि आठ, दसपटक अभ्यास गरे। चार, पाँच घण्टामा यो गीत तयार थियो। उनले अन्तर्वार्तामा भनेका थिए– योे गीत मैले एकदमै चाँडै रेकर्ड गरेको गीत हो। कुनै कुनै गीत त मैले महिनौं अभ्यास गरेको छु। म गीत कण्ठस्थ पार्थें। सायद त्यसैले म गीतमा डुबेर त्यसको सारा भाव आवाजमा भर्न खोज्थें। गीत लेखेका थिए शिव अधिकारीले। तर गीत गाउने बेलामा गीतकारको नाम कागजमा थिएन। धेरैपछि मात्रै गीतकारको नाम थाहा भयो। योगेशले आनो चर्चित गीतका गीतकारलाई धेरै पछि मात्रै भेट्ने मौका पाएको वैद्यलाई रेडियो नेपालमा अन्तर्वार्ता लिने क्रममा थाहा पाएको संगीतकार भण्डारीको भनाइ छ। उनका अनुसार सपना भुलाई... गीत २०४२ सालमा रेकर्ड भएको थियो।

२०१४ सालताका चिनियाँ प्रधानमन्त्री चाउ एनलाई नेपाल आउँदा युगकवि सिद्धिचरण श्रेष्ठले लेखेको गीत सुनाएपछि गायक वैद्यको चर्चा सुरु भएको पाइन्छ। २०२५ सालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा ‘कति प्यासी छ जिन्दगी’ गीत गाए। यसले उनको चर्चा अझै चुलियो। गायन उनको सोख थियो। खासमा उनले नेपाल सरकारको सहसचिव बनेर झन्डै तीन दशक काम गरे। २०६१ सालमा सेवानिवृत्त भएका उनले ३३ वर्ष सरकारी सेवा गरे। तत्कालीन राजा मवीवी शाहले लेखेको ‘नेपाल मेरो तिमीलाई उपहार भो’ गीत पनि उनले गाउने अवसर पाएका थिए। जुन गीत २०२७ सालमै रेकर्ड भएको थियो।

मूल थाँतथलो पशुपति जयबागेश्वरी रहेका गायक वैद्यपछि काठमाडौंकै नरदेवीका बासिन्दा बने। ‘बाल्यकाल नरदेवीमै बित्यो त्यसैले म आज पनि नरदेवीकै घरको सपना देख्छु। जबकि ४० वर्ष टेकुमा बित्यो। मनमस्तिष्कमा नरदेवी नै छ।’, गायक वैद्य भन्ने गर्थे। उनले २०२२ सालमा रेडियो नेपालबाट स्वरपरीक्षा पास गरेका थिए। लगत्तै सोही वर्ष गीतकार किरण खरेलको शब्द र नातिकाजीको संगीतमा उनले ‘प्यासी छ जिन्दगी’ बोलको गीत रेकर्ड गरेका थिए।

गीतकार एवम् चलचित्र निर्देशक यादव खरेलको वैद्यसँग २०१८ सालतिर रेडियो नेपालमा कार्यक्रम चलाउँदै गर्दा चिनापर्ची भयो। ‘२०२२ सालतिरको कुरो हो, रेडियोमै बसिरहँदा भ्वाइस टेस्ट गर्न लाग्दा हेर्न गएँ। आँखा चिम्लिएर ‘हन्डेड पर्सेन्ट’ समर्पित भएर गाएको देखेको थिएँ।’, साहित्यकारसमेत रहेका खरेलले थपे। उनका अनुसार, वैद्यको कवि व्यक्तित्व पनि भएको र उनको पुस्तकसमेत प्रकाशित भएको छ। दुवै मिर्गौला फेल भएर एक दशकदेखि घरमै बसेका थिए गायक वैद्य। ‘थोरै संख्यामा गीत गाए पनि वैद्यले कालजयी गीत गाएकाले उनलाई सदा सम्झिरहन सकिन्छ। उनी अत्यन्तै अध्ययनशील सर्जक पनि हुन्’, उनी सम्झन्छन्। आफ्नो दार्शनिक किसिमको गीत गाएको सुनाउँदै उनले थपे, गाउनेमात्र खुबी थिएन, लेख्ने र संगीत कम्पोज पनि गर्ने व्यक्तित्व हो, योगेश वैद्य।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.