पर्यटक लोभ्याउँदै कुञ्ज पार्क

पर्यटक लोभ्याउँदै कुञ्ज पार्क
सुन्नुहोस्

बुटवल : फराकिलो ठाउँ। चारैतिर हरियाली। शान्त र मनोरम। बीचमा ‘बोटिङ’ गर्ने ऐतिहासिक पोखरी। सरसफाईले चिटिक्क परेको ठाउँ। समूहगत रुपमा ‘पिकनिक’ खाने थरीथरीका स्टलहरू। व्यस्त बजारको कोलाहलबाट पुग्दा मनै आन्नदित हुने तिलोत्तमा–६ रुपन्देही कुञ्जलापूरको कुञ्ज पार्क। पछिल्लो समय पर्यटकहरूलाई लोभ्याइरहेको छ। पर्यटकहरूलाई घुम्नका लागि गतिलो गन्तव्य बनिरहेको छ। 

सात विगाह क्षेत्रफल जग्गामा कुञ्ज पार्क व्यवस्थापन समितिले चिल्ड्रेन पार्कसहित विभिन्न पर्यटनका पूर्वाधारहरू बनाएको छ। दिउँसोको समयमा भन्दा यस ठाउँमा अझ बढी रात्रीकालीन दृश्य मनमोहक छन्। झिलिमिली बत्तीले फर्कने मनै लाग्दैन। कुञ्ज पार्क मनोरञ्जन गर्ने थलो मात्र बनेको छैन, समितिको भरपर्दो आर्थिक स्रोत पनि बनिरहेको छ। 

सात विगाह क्षेत्रफल जग्गा साँघुरो भएपछि समितिले नजिकै रहेको उमा आधारभूत विद्यालयको चार विगाह क्षेत्रफल जग्गा समेत भाडामा लिएर थप पूर्वाधार बनाउन थालेको समितिका कोषाध्यक्ष धनेन्द्र पौडेलले जानकारी गराए। विद्यालयको जग्गा ३० वर्षका लागि वार्षिक १ लाख ८० हजार भाडा दिनेगरी जग्गा भाडामा लिइएको पौडेल बताउँछन्। ‘कुञ्ज पार्कमा स्थानीयको अपनत्व बढी छ’,पौडेलले भने,‘स्थानीय क्लब, आमा समूह, मन्दिर, विद्यालय, टोलविकास, कुला, बोरिङ समितिहरूबाट पनि प्रतिनिधिमुलक सदस्यहरू छन्।’ 

२०७६ सालदेखि व्यावसायिक रुपमा सञ्चालन गरिएको पार्कले यहाँका स्थानीय व्यवसायीहरूको व्यावसायिक चहलपलहमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए। तराई क्षेत्रका थारू समुदायको आस्थाको केन्द्रको रुपमा रहेको समहीमाईदेवी थानको मन्दिर समेत पार्कभित्र निर्माण गरिएकाले त्यस क्षेत्रका जातिहरूको अझ बढी भीडभाड हुने पौडेलले जानकारी गराए। पार्कको अर्को अचम्मको विशेषता ‘बोटिङ’ गरिने पोखरीको ऐतिहासिकता हो। 

सदियौँ अघिदेखि यो पोखरी आफैं बनेको भन्ने इतिहास रहेको पौडेल सुनाउँछन्। ‘तिलोत्तमा नगरपालिका क्षेत्रकै राममणि क्याम्पस भित्रको गिद्धपोखरी, डिंगनगर जनज्याति मावीको इनार र कुञ्जपार्क भित्रको पोखरी एकैदिन एकैपटक आफैं बनेको भन्ने इतिहास छ’,पौडेलले भने,‘अरूले पोखरी मास्नुभयो तर हामी संरक्षण गरेर राखेका छौँ।’ 

एकैपटक १५ समूहले ‘पिकनिक’ खान मिल्ने गरी दैनिक १ हजार ५ सय जना पर्यटकहरू अट्न सक्ने क्षमता रहेको उनले बताए। पार्कबाट वार्षिक ७५ लाख रुपैयाँ आर्थिक कारोबार हुने गरेको उनको भनाइ छ। उनका अनुसार चाडपर्व बाहेक पनि दैनिक तीन/चार सय जना पर्यटकहरू यहाँ घुम्न आउने गर्छन्।

पार्कभित्र प्रतिव्यक्ति तीस रुपैयाँ शुल्क तोकिएको छ। पूर्वाधार निर्माणका लागि तिलोत्तमा नगरपालिकाले ४० लाख र लुम्बिनी प्रदेश सरकारले ७५ लाख रुपैयाँ बजेट दिएको पौडेलले सुनाए। यहाँ ६ जनाले प्रत्यक्ष रोजगार पाएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.