सैनामैनामा तीन दिन विद्यालय बन्द हुने
बुटवल : रुपन्देहीको सैनामैना नगरपालिकाले पनि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। दिनानु्दिन बढ्दै गएको चिसोका कारण विद्यालय सञ्चालन गर्न समस्या परेको भन्दै सोमबारदेखि बुधबारसम्म विद्यालय बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए।
आइतबार सार्वजनिक सूचना जारी गर्दै विद्यालय बन्दको निर्णय गरिएको उनले बताए। सैनामैनामा सामुदायिक र संस्थागत गरी ४० वटा विद्यालय छन्। रुपन्देहीमा लगातार बढिरहेको हुस्सु र शीतलहरले जिल्लाका अधिकांश स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
तीनदेखि चार दिनसम्म विद्यालय गरिए पनि चिसोको अवस्था हेरेर बन्दको निर्णय परिवर्तन गर्न सकिने स्थानीय तहले बताएका छन्।