चिसो बढेपछि चोकचोकमा दाउरा बाढ्दै नगरपालिका
बुटवल : केही दिनदेखि हुस्सु र शितलहर ह्वात्तै बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक स्थलमा दाउरा वितरण गरेको छ।
आइतबारदेखि नगरपालिकाका प्रत्येक वडामा पुगेर कम्तीमा चार/पाँच जना मानिसहरू जम्मा हुने स्थलमा दाउरा वितरण गरिएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिए। ‘ट्याक्टर र टिप्परले मानिसहरू जम्मा भएको ठाउँमा दाउरा दिँदै गएका छन्’,खाणले भने,‘सबै वडामा दाउरा पुग्छन्, आज नभ्याएको ठाउँमा भोलि पनि वितरण हुन्छ।’
शीतलहर भएपछि नगरपालिकाले आइतबारदेखि बुधबारसम्मका लागि विद्यालय बन्द समेत गरेको छ। करिब ८० हजार रुपैयाँ बराबरको दाउरा खरिद गरेर सार्वजनिक स्थलमा नागरिकहरूलाई वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए।
देवदहस्थित साझेदारी वनबाट दाउरा खरिद गरिएको अर्यालले बताए। नगरपालिका क्षेत्रको मणीग्रामचोक, ड्राइभरटोल, नयाँ मिल, योगीकुटी, चार नम्बर, भलवारी, शंखरपुरा पत्थरडाँडा, मधवलिया, मंगलापुर लगायत ठाउँमा पहिलो दिन दाउरा वितरण गरिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !