जाजरकोटबाट ८ करोडको खाद्यान्न निर्यात
![जाजरकोटबाट ८ करोडको खाद्यान्न निर्यात](https://annapurnapost.prixacdn.net/media/albums/suntala-Jaajarkot_b8AzKBqfWT_8OVpi1inrP.jpg)
जाजरकोट : खाद्यान्न उत्पादनमा सधैं परनिर्भर रहँदै आएको जाजरकोटले चालू आर्थिक वर्षमा ८ करोड १६ लाख ६८ हजार रुपैयाँको खाद्यान्न निर्यात गरेको छ। जाजरकोटमा उत्पादित अग्र्यानिक मह, कोदो, मकै, सुन्तला, भटमास, तरकारी, लसुन, मुसुरोलगायतका खाद्यान्न निर्यात गरेको हो।
जिल्ला कृषि विकास कार्यालय जाजरकोटले संकलन गरेको अर्धवार्षिक विवरणअनुसार ८ करोड रुपैयाँभन्दा बढी मूल्यको खाद्यान्न निर्यात गरिएको हो। भटमास १ सय २० टन निर्यात भएको छ। निर्यात भएको भटमासको मूल्य १ करोड २६ लाख रुपैयाँ छ।
त्यस्तै, मकै २ सय ५० टन निर्यात भएको छ। निर्यात भएको मकैको मूल्य करिब ९५ लाख रुपैयाँ रहेको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ। घरेलु मह २ करोड ४० लाख रुपैयाँ मूल्यबराबरको ३० टन निर्यात भएको छ। भीर मौरीको मह ५० लाख रुपैयाँभन्दा बढी मूल्यको पाँच टन निर्यात भएको कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले बताए। उनका अनुसार १ करोड ५० लाख रुपैयाँ बढीको १ सय ५० टन लसुन जिल्लाबाहिर निर्यात भएको छ।
यस्तै, जिल्लाबाहिर निर्यात हुनेमा ४८ हजारको एक टन कोदो, १ लाख ९० हजारको १ सय ८० टन मुसुरो, ९० हजारको ५ सय केजी मास, २४ लाख रुपैयाँको एक टन तिल निर्यात भएको विश्वकर्माले बताए। सुन्तला १ करोड ५ लाख रुपैयाँको जिल्ला बाहिर निर्यात भएको छ। त्यस्तै, ४५ लाख रुपैयाँको १ सय टन तरकारी निर्यात भएको छ।
निर्यात भएका खाद्य तथा कृषि वस्तुको मुख्य बजार नेपालगन्ज, सुर्खेत, चितवन, काठमाडौं, धनगढी, पोखरा, वीरगन्जलगायत सहर हुन्। जिल्लामा सबैभन्दा बढी मह, सुन्तला, भटमास र मकै उत्पादन भएको तथ्यांक छ। यस वर्ष १ लाख २२ हजार ५ सय टन उत्पादन भएको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)