खराब कर्जाले फाइनान्सलाई धक्का

खराब कर्जाले फाइनान्सलाई धक्का

काठमाडौं : समग्रमा अर्थतन्त्र अपेक्षाअनुसार चलायमान नहुँदा बैंक तथा वित्तीय संस्था पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएकै छ। चालू आर्थिक वर्षको वित्तीय विवरणले पनि यस्तै देखाउँछ। वाणिज्य बैंकदेखि विकास बैंकको आम्दानी नाफा वृद्धि खासै भएन। वित्त कम्पनीहरूको हालत पनि उस्तै छ।

समग्रमा कम्पनीहरूको नाफा सोचेअनुसार बढेको छैन। वास्तवमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा ऋणात्मक भएको हो। गत आवको तुलनामा चालू आवमा समग्रमा कम्पनीहरूको खुद ब्याज आम्दानी घटेको छ। यद्यपि यसबीच सबै कम्पनीको ब्याज, शुल्क र कमिसन आम्दानी २ अर्ब १ करोड हाराहारीमा मात्रै भएको छ। यसैगरी सबै कम्पनीले इम्पेयरमेन्ट शुल्कबापत ५४ करोड परेको छ।

यसबीच कम्पनीहरूको खुद सञ्चालन आम्दानी १ अर्ब १६ करोड हाराहारीमा रहेको छ। आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनअनुसार वित्त कम्पनीहरूको वित्तीय सूचक पनि आर्थिक मन्दीले गर्दा सन्तोषजनक नरहेको बैंकर्सहरू बताउँछन्। यद्यपि यत्तिको विवरणलाई पनि समयानुकूल उचित ठान्छन् र अब सकारात्मक दिशातर्फ उन्मुख हुने उनीहरूको अपेक्षा छ। 

यसैक्रममा नेपाल वित्तीय संस्था संघका महासचिव उद्धवराज थपलिया अहिले समग्रमा समय परिस्थितिले गर्दा खराब कर्जा बढ्ने र नाफामा कमी आएको बताउँछन्। उनका अनुसार खराब कर्जाको आकार बढ्दा कर्जा नोक्सानी प्रोभिजन बढी छुट्ट्याउनु परेको छ। ‘रिकभरीमा समस्या भएपछि प्रतिसेयर आम्दानी पनि खुम्चिन्छ। यो धेरैको खुम्चिएको छ। यद्यपि गत आवको तुलनामा धेरैको घटेकै छ।

यसबाहेकका अन्यमा त्यस्तो अप्ठ्यारो अवस्था छैन। अहिले नै धेरै आत्तिहाल्ने स्थिति छैन’, नेपाल फाइनान्सका सीईओसमेत रहेका थपलिया भन्छन्, ‘समग्रमा अर्थतन्त्र चलायमान हुनासाथ सुधार हुन्छ। अहिलेको व्यापार व्यवसायजस्ता बजारको स्थिति कमजोर भएकाले नै सावाँ, ब्याज उठाउन गाह्रो भएको हो। तर निराशै हुनुपर्ने अवस्था छैन।’ वित्त कम्पनीको मार्केट सेयर जम्मा तीन प्रतिशतको हो। तर समग्रमा वाणिज्य बैंक, वित्त कम्पनीहरूको तुलनामा हेर्दा वित्तीय सूचकहरू त्यत्ति कमजोर पनि नदेखिएको उनको तर्क छ।

‘वित्त कम्पनीको वित्तीय स्थान राम्रै छ। यद्यपि यसबीच ऋणीबाट सावाँ, ब्याज नउठ्दा (रिकभरी) नहुने समस्याले खराब कर्जाको आकार नघटेको हो। सो समग्र बैंक तथा वित्तीय संस्थाको समस्या हो। सबैको वितरणयोग्य नाफा घटेकै अवस्था छ। निष्क्रिय कर्जा (एनपीएल) बढ्दो क्रममा छ। तर आर्थिक स्थिति सुध्रिए यस्ता समस्या समाधान भएर जान्छ,’ उनले थप्दै अन्नपूर्णसँग भने।

५ कम्पनीलाई नोक्सानीको भार

समग्र वित्त कम्पनीमध्ये हाल सञ्चालनमा रहेका १५ ‘ग’ वर्गका वित्त कम्पनीहरूमध्ये ५ वटा कम्पनीले नोक्सानी व्यहोर्नु परेको छ। खास वित्त कम्पनी १७ वटा भएकोमा नेपाल सेयर र क्यापिटल फाइनान्स समस्याग्रस्त भएकाले १५ वटामात्रै सञ्चालित छन्। यसमध्ये सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र रिलायन्स फाइनान्सको नाफा ऋणात्मक भएको छ।

सेन्ट्रल फाइनान्सको नाफा घटेर ४ करोड ७६ लाख ४६ हजार रुपैयाँ ऋणात्मक भएको छ। चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले नोक्सानीमा गएको हो। गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज ६ करोड ७५ लाख रहेकोमा चालू आवमा बढेर १० करोड १४ लाख पुगेको छ।

यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ४ दशलमव ३९ प्रतिशत घटेको छ। गत आवमा कम्पनीले १२ करोड ६४ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर १२ करोड ९ लाखमा सीमित भएको हो। यसको चुक्ता पुँजी रु. ९४ करोड ८८ लाख रहेको कम्पनीले जगेडामा रु. ३४ करोड ७५ लाख सञ्चिति गरेको छ। रिटेन्ड अर्निङ भने रु. ११ करोड ४० लाख ऋणात्मक छ। त्यस्तै कम्पनीको निष्क्रिय कर्जा पनि गत आवको तुलनामा चालू आवमा बढेको छ। गत आवमा कम्पनीको निष्क्रिय कर्जा ७ दशलमव ६३ प्रतिशत रहेकोमा चालू आवमा बढेर ९ दशमलव ४४ प्रतिशत पुगेको हो। कम्पनी नोक्सानीमा रहेसँगै प्रतिसेयर आम्दानी १० रुपैयाँ ४ पैसा ऋणात्मक छ। त्यस्तै चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय २४ रुपैयाँ ६६ पैसा रहेको छ। 

यस्तै, चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको समृद्धि फाइनान्सको नोक्सानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ। गत आवमा कम्पनी ७ करोड ७३ लाख नोक्सानीमा रहेकोमा चालू आवमा घटेर २ करोड १३ लाखमा झरेको देखिन्छ। चालू आवमा कम्पनीको खराब कर्जा घटेसँगै नोक्सानी घटेको तथ्यांकमा देखिन्छ। गत आवमा कम्पनीको निष्क्रिय कर्जा १३ दशलमव ९२ प्रतिशत रहेकोमा चालू आवमा घटेर ४ दशमलव ६८ प्रतिशतमा झरेको छ। कम्पनीको चुक्ता पुँजी ८१ करोड ८९ लाख रहेको छ। दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा २५ करोड ९९ लाख सञ्चिति गरेको छ। रिटेन्ड अर्निङ भने ४८ करोड २० लाख ऋणात्मक रहेको छ। कम्पनी नोक्सानीमा भएसँगै प्रतिसेयर आम्दानी २ रुपैयाँ ६१ पैसा ऋणात्मक छ। 

यता गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले पनि ६ करोड ७० लाख ३० हजार नोक्सानी व्यहोर्नु परेको छ। चालू आवमा कम्पनीको खराब कर्जा ६.६२ प्रतिशत रहेको छ। यसैगरी नोक्सानी व्यहोर्नेमा प्रोग्रेसिभ फाइनान्सले १० करोड ५७ लाख ५० हजार र रिलायन्स फाइनान्सले ५ करोड ४७ लाख ६४ हजार रुपैयाँबराबर रहेको छ। 

१० वित्त कम्पनीमा नाफामा 

सञ्चालनमा रहेका १० वित्त कम्पनीहरूको नाफा न्यूनतम ८ लाख रुपैयाँदेखि १२ करोड रुपैयाँ हाराहारीमा कमाएका छन्। जस्मा सबैभन्दा बढी गोर्खाज फाइनान्सले १२ करोड १६ लाख रुपैयाँबराबर नाफा गर्न सफल भएको छ।

यसैगरी क्रमशः मञ्जुश्री फाइनान्सले १० करोड ५४ लाख, आईसीएफसी फाइनान्सको ५ करोड ३२ लाख रुपैयाँ, वेस्ट फाइनान्सले १ करोड ८ लाख ४७ हजार रुपैयाँ, गुडविल फाइनान्स २ करोड २८ लाख ८५ हजार, पोखरा फाइनान्सको २ करोड ९० लाख ५४ हजार, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले २ करोड ५६ लाख ४४ हजार रुपैयाँ, जानकी फाइनान्स १९ लाख ८६ हजार रुपैयाँ नाफा कमाएका छन्। यसैगरी, आईसीएफसी फाइनान्सले ५ करोड ३२ लाख २२ हजार रुपैयाँ र मल्टिपर्पोज फाइनान्सले १० करोड ५४ लाख ७१ हजार नाफा कमाएका छन्। 

नाफा घट्दा प्रतिसेयर आम्दानीमा दबाब

यद्यपि समग्रमा कम्पनीहरूले कमाएको नाफा कम हुँदा प्रतिसेयर आम्दानीमा दबाब परेको छ। नाफा ऋणात्मक भएका कम्पनीको ईपीएस घटेको छ। यसरी ईपीएस घट्नेमा पाँच कम्पनी रहेका छन्। जस्मा सेन्ट्रल फाइनान्सको ईपिएर १०.०४ रुपैयाँले घटेको छ। यसरी क्रमशः समृद्धि फाइनान्सको ५.२१, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ६.६२, प्रोग्रेसिभ फाइनान्स १२.७४ र रिलायन्स फाइनान्सको ९.७७ रुपैयाँले ईपीएस घटेको छ। प्रतिसेयर आम्दानी (अर्निङ पर सेयर) भनेको कम्पनीको नाफा मूल्यांकन गर्ने एक मुख्य सूचक हो।

कम्पनीले कर तिरेपछिको खुद नाफालाई सेयर संख्याले भाग गर्दा आउने नतिजा प्रतिसेयर आम्दानी मानिन्छ। प्रतिसेयर आम्दानीको अंकले एक कित्ता सेयर बराबर कम्पनीले कति नाफा कमाएको छ भन्ने हो। यदि कम्पनीले अग्राधिकार (प्रिफरेन्स) सेयर जारी गरेको छ भने खुद नाफामा अग्राधिकार सेयरलाई दिनुपर्ने नाफा घटाइन्छ र कम्पनीमा कायम सेयर संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ।

वित्त कम्पनीको खराब कर्जा दोहोरो अंकमा

सञ्चालनमा रहेका ‘ग’ वर्गका १५ वटा वित्त कम्पनीहरूले प्रवाह गरेको ऋणको सावाँ तथा ब्याज उठाउन नसक्दा निष्क्रिय कर्जा बढेको छ। समग्रमा चालू आवको पुससम्ममा यस्ता कम्पनीको एनपीएल औसत १४.१९ प्रतिशत पुगेको छ। जबकि २०७९ असारमा समग्रमा २.५२ प्रतिशतमात्रै थियो। कम्पनीहरूले प्रवाह गरेको ऋणको सावाँ तथा ब्याज उठाउन नसक्दा निष्क्रिय कर्जा बढेको हो। अझ पाँच वटा वित्त कम्पनीको खराब कर्जा १० प्रतिशत माथि छ। जस्मा सबैभन्दा बढी गुडविल फाइनान्सको १०९.७३ प्रतिशतसम्म एनपीएल पुगेको छ। यसपछि जानकी फाइनान्सको १९.९९ प्रतिशत छ। यस्तै, गोर्खाज फाइनान्सको १३.७३ र प्रोग्रेसिभ फाइनान्सको निष्क्रियकर्जा ११.४५ प्रतिशत पुगेको छ।

यसपछि नेपाल फाइनान्सको १०.५२ प्रतिशत रहेको छ। अझै तुलनात्मक रूपमा धेरै घटेर अहिलेको स्थितिमा आएको हो। जबकि नेपाल फाइनान्स समस्याग्रस्तबाट हट्दा खराब कर्जा नै ९६ प्रतिशत थियो। यो घटाउँदा घटाउँदै अहिले १० प्रतिशतमा झारेका नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थपलियाले जानकारी दिए। 

यसबाहेकका कम्पनीको एनपीएल १० प्रतिशतभन्दा कम छ। उक्त हाराहारीमा वेस्ट फाइनान्स, पोखरा फाइनान्स, श्री इन्भेस्टमेन्ट, सेन्ट्रल, समृद्धि, आईसीएफसी, मल्टिपर्पोज, मञ्जुश्री र रिलायन्स रहेका छन्। यसमध्ये सबैभन्दा कम खराब कर्जा हुनेमा मल्टिपर्पोज फाइनान्स रहेको छ। जस्को निष्क्रिय कर्जा १.४८ प्रतिशतमात्रै रहेको छ। 

बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएका कर्जाहरू ऋणीले तोकिएको समयमा नतिर्दा निष्क्रिय हुन जान्छ। यसलाई विभिन्न चार क्षेत्रमा विभाजन गरिएको छ। जसअन्तर्गत ३ महिनादेखि ६ महिनासम्म भाखा नाघेका कर्जा/सापटलाई कमसल कर्जामा राखिन्छ। यसपछि ६ महिनादेखि बढीमा एक वर्षसम्म भाखा नाघेका कर्जा/सापटलाई शंकास्पद कर्जामा राखिएको छ। योभन्दा माथि अर्थात् १ वर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जा/सापटलाई खराब कर्जामा वर्गीकरण गरिएको छ। पछिल्लो समय ऋण नतिर्नेको संख्या बढ्दै गएपछि कडाइसमेत गरेको छ। गत असोज ३० गते केन्द्रीय बैंकले एकीकृत निर्देशन २०८० जारी गर्दै खराब कर्जासम्बन्धी थप व्यवस्थासमेत गरेको छ। जस्मा अबदेखि कर्जा भाखा नाघेको वा ननाघेको कुनै पनि कर्जा/सापटलाई तोकिएअनुसार कुनै पनि अवस्थामा खराब कर्जामा वर्गीकरण गर्नुपर्ने र सोको लागि बैंक तथा वित्तीय संस्थाले उपयुक्त प्रणाली एवम् पूर्वाधारको विकास गर्नुपर्नेछ व्यवस्था छ।

यसअन्तर्गत ऋणी टाट पल्टेमा वा टाट पल्टेको घोषणा भएमा, ऋणी बेपत्ता भएमा वा ९० दिनसम्म सम्पर्कमा नआएमा, कर्जा दुरुपयोग भएमा, परियोजना/व्यवसाय सञ्चालन हुने अवस्था नरहेमा, परियोजना वा व्यवसाय सञ्चालनमा नभएमा खराब कर्जामा परिन्छ। यससँगै प्रतीतपत्र, जमानत तथा अन्य सम्भावित दायित्वहरू फोर्स लोनको रूपमा कोषमा आधारित कर्जामा परिणत भएको अवस्थामा त्यसरी कर्जामा परिणत भएको मितिले ९० दिनसम्म असुली नभएमा, कर्जा असुल हुन नसकी लिलामी प्रक्रिया सुरु भएको वा असुली प्रक्रियाअन्तर्गत अदालतमा मुद्दा चलिरहेको अवस्थामा, कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेका ऋणीलाई नयाँ वा थप कर्जा प्रदान गरेको अवस्थामा, सुरक्षणको बजार मूल्यले कर्जाको सुरक्षण हुन नसक्ने भएमा, छ यस प्रयोजनको लागि सुरक्षण भन्नाले अचल सम्पत्ति धितोमात्र नभई परियोजना तथा परियोजनाको चल सम्पत्तिसमेतलाई जनाउनेछ।


वित्त कम्पनीको मार्केट सेयर जम्मा तीन प्रतिशतको हो। तर समग्रमा वाणिज्य बैंक, वित्त कम्पनीहरूको तुलनामा हेर्दा वित्तीय सूचकहरू त्यत्ति कमजोर पनि देखिँदैन। वित्त कम्पनीको वित्तीय स्थान राम्रै छ। यद्यपि यसबीच ऋणीबाट सावाँ, ब्याज नउठ्दा (रिकभरी) नहुने समस्याले खराब कर्जाको आकार नघटेको हो। सो समग्र बैंक तथा वित्तीय संस्थाको समस्या हो। सबैको वितरणयोग्य नाफा घटेकै अवस्था छ। निष्क्रिय कर्जा (एनपीएल) बढ्दो क्रममा छ। तर आर्थिक स्थिति सुध्रिए यस्ता समस्या समाधान भएर जान्छ। अझै तुलनात्मक रूपमा धेरै घटेर अहिलेको स्थितिमा आएको हो। जबकि नेपाल फाइनान्स समस्याग्रस्तबाट हट्दा खराब कर्जा नै ९६ प्रतिशत थियो। यो घटाउँदाघटाउँदै अहिले १० प्रतिशतमा झारेका छौं। अझै यसको आकार घटाउने क्रममा छौं। तर अहिले समग्रमा समय परिस्थितिले गर्दा खराब कर्जा बढ्ने र नाफामा कमी आएको हो। खराब कर्जाको आकार बढ्दा कर्जा नोक्सानी प्रोभिजन बढी छुट्ट्याउनु परेको छ। रिकभरीमा समस्या भएपछि प्रतिसेयर आम्दानी पनि खुम्चिन्छ। यो धेरैको खुम्चिएको छ। यद्यपि गत आवको तुलनामा धेरैको घटेकै छ। यसबाहेकका अन्यमा त्यस्तो अप्ठ्यारो अवस्था छैन। अहिले नै धेरै आत्तिहाल्ने स्थिति छैन। समग्रमा अर्थतन्त्र चलायमान हुनासाथ सुधार हुन्छ। अहिलेको व्यापार व्यवसायजस्ता बजारको स्थिति कमजोर भएकाले नै सावाँ, ब्याज उठाउन गाह्रो भएको हो। तर निराशै हुनुपर्ने अवस्था छैन।
उद्धवराज थपलिया, महासचिव, नेपाल वित्तीय संस्था संघ एवं प्रमुख कार्यकारी अधिकृत, नेपाल फाइनान्स 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.