महावुधाम कसको ? महावै कि महावु ?

महावुधाम कसको ? महावै कि महावु ?

कालीकोट : कालीकोट जिल्लाको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिकाबीच सीमा विवाद बढ्न थालेको छ। कालीकोट र दैलेख जिल्लाको सिमानामा पर्ने धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल महावुधामका कारण दुई गाउँपालिकाबीच सीमा विवाद बढेको हो। 

महावुधामको विकासका लागि तत्कालीन जिल्ला विकास समितिदेखि दुवै जिल्लाका स्थानीय सरकारले करोडौं रुपैयाँ बजेट खर्च गरे पनि सीमा विवाद समाधान हुन सकेको छैन। महावै गाउँपालिकाले महावुधाम आफ्नो सीमा क्षेत्रमा पर्ने दाबी गर्दै आएको छ। महावु गाउँपालिकाले पनि आफ्नो दाबी प्रस्तुत गरिरहेको छ। 

पश्चिम नेपालकै ठूलो धामका रूपमा रहेको महावुधाम समुद्री सतहदेखि चार हजार दुई सय मिटरको उचाइमा छ। पर्यटकीय रूपले निकै सम्भावना बोकेको महावुधाममा बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढिरहेको छ। तथ्यांकअनुसार बर्सेनि २० हजार बढीले महावुधामको दर्शन गर्ने गरेका छन्। महावुमा रहेको शिवलिङको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ। महावु मेलामा धेरै जिल्लाका भक्तजनको सहभागिता रहने महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए। ‘महावुकै नामबाट कालीकोटको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिका नामाकरण भएका छन्। परापूर्वकालदेखिको उपभोग र बासस्थानका हिसावले कालीकोटको महावै गाउँपालिकाका बासिन्दाहरूको चरिचरन क्षेत्र पनि हो। त्यसैले सो धाम कालीकोटकै हो’, उनले भने। 

महावुधामको विकासका लागि तत्कालीन जिल्ला विकास समिति कालीकोट र महावै गाउँपालिकाले मन्दिर, धर्मशाला र अन्य भौतिक पूर्वाधार निर्माण गर्न करोड बढी रकम लगानी गरिसकेका छन्। साँध सीमाना र पानी ढल पनि कालीकोटतर्फ फर्केकाले महावुधाम कालिकोटको भएको सिंहको दाबी छ। महावुधाम कालीकोटकै सीमा क्षेत्रमा पर्ने दैलेख जिल्ला अदालतले फैसलासमेत गरिसकेको छ। 

दुई गाउँपालिकाबीचको सीमा विवादका कारण मेलामा आउने भक्तजनहरूले झगडा गर्ने, मन्दिर, गोठ भत्काउनेजस्ता काम गरिरहेका छन्। त्यसैले सीमा विवाद समयमै समाधान नभए स्थिति थप जटिल बन्ने देखिएको छ। ‘दुई पालिकाबीचको सीमा विवाद समाधानका लागि दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग माग गरेका छौं। विवादले पर्व र मेलामा हिंसकरूप लिन सक्छ’, अध्यक्ष सिंहले भने, ‘त्यसैले विवाद समाधान गर्न ढिलो गर्नुहुँदैन।’ 

दैलेखको महावु गाउँपालिका उपाध्यक्ष मञ्जु पाण्डेले महावुधाम दैलेखमा रहेको दाबी गरिन्। महावुधाम कालीकोटकै हो भन्ने पुष्टि गर्ने प्रमाण कसैले पेस गर्न सकेका छैनन्। महावु हाम्रो पालिकाको पनि चरिचरन क्षेत्र हो। दुवै जिल्लाका सम्बन्धित निकायले छलफल गरेर समाधान निकाल्नुपर्छ’, उनले भनिन्, ‘यो विवादलाई बढाउनेभन्दा पनि समाधान गर्ने गरी स्थानीय सरकारले समन्वय गर्नुपर्छ।’ 

दुवै जिल्लाको अनुगमन टोलीले चासो देखाए पनि सीमा विवाद समाधानका लागि ठोस पहल  नहुँदा विवाद बढ्दै गएको स्थानीय करन सिंहले बताए। ‘दुई जिल्लाको सीमा विवाद समाधान नभएकै कारण कर्णाली प्रदेशकै प्रचुर सम्भावना बोकेको पर्यटकीय स्थल महावुधाममा दर्शन गर्न आउने तीर्थालुले असुरक्षा महसुस गर्ने गरेका छन्’, उनले भने।

कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले महावु सीमाका विषयमा छलफल भए पनि दुवै जिल्लाका समन्वय प्रमुख, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाजको उपस्थितिमा कानुनी आधारमा सीमा विवाद टुंग्याउनुपर्ने बताए। महावुमा मेला लाग्ने समय नजिकिँदै गरेकाले समयमै विवाद समाधान गर्नुपर्नेमा उनले जोड दिए। दैलेखका जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सीमा विवादका विषयमा जानकारी लिएर समाधानको पहल थाल्ने बताए। ‘महावुधाममा दर्शन गर्न आउने भक्तजनलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने वातावरण हामी बनाउँछौं। हजारौं पर्यटकको रोजाइमा पर्ने महावुधामलाई दुई पालिकाबीचको विवादको विषयले प्रभावित पार्नुहुँदैन नागरिक समाज र सरोकारवालाहरू जिम्मेवार भएर विवाद समाधान गर्नुपर्छ’, उनले भने। 

महावुधामलाई कर्णाली प्रदेशकै महत्वपूर्ण पर्यटकीय स्थलका रूपमा लिइएको छ। कर्णाली प्रदेशले यसको विकासका लागि बजेट छुट्ट्याए पनि विवादका कारण योजना कार्यान्वयन हुन नसकेको महावै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले बताए। ‘विगतका स्थानीय सरकारले पनि विवाद समाधानका लागि ठोस पहल गरेनन्। अब हामीले ढिलो गर्नुहुँदैन’, उनले भने।  

महावुधामको महत्व 

महावुधाम कालीकोट जिल्ला र दैलेख जिल्लाको सीमानामा पर्छ। यो धाम यहाँको अग्लो स्थान महावुलेकको पाटनमा अवस्थित छ। यो स्थान कालीकोटको महावै गाउँपालिका ४ मा पर्छ। प्रत्येक वर्ष जनैपूर्णिमाका दिन यहाँ भव्य मेला लाग्छ। जनैपूर्णिमाका दिन विशेष पूजा गरिने भएकाले महावुधाममा भगवान् शिवको दर्शन गर्न दैलेख, कालीकोट, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलालीसँगै भारतबाटसमेत भक्तजनहरू आउने गर्छन्। 

महावुलेखका डाँडाकाँडामा बादलको घेराले पगरी बेरेजस्तै भएर महावुधाम बसेको छ। सुन्दर पाटन हेर्ने र धार्मिक आस्था मान्नेहरूका लागि महावुधाम आकर्षणको केन्द्र हो। महावुधामबाट बर्दिया, कैलालीको टीकापुर र नेपालगन्जसम्म देख्न सकिन्छ। 
पाटनको बीचमा रहेको ढुंगामाथि रहेको देवतालाई महावु जगन्नाथ भन्ने गरिन्छ। महावु जगन्नाथलाई महादेवका प्रतीकका रूपमा लिइन्छ। जगन्नाथलाई प्रार्थना गरे आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहेकाले महादेवलाई त्रिशूल बनाएर चढाउने गर्छन्। काँधमा त्रिशूल बोकेर शिवको महिमा गाउँदै भक्तजनहरू पैदल यात्रा गर्छन्। 

कालीकोटका काफ्ले थरका एक जना र दैलेख जिल्लाका आचार्य थरका एक जना पुजारीले पूजा गर्ने परम्परा रहेको महावुधाममा महिलाहरू गएमा अनिष्ट हुन्छ भन्ने धारणा रहे पनि पछिल्लो समय महिलाले पनि दर्शन गर्न पाउने व्यवस्था गरिएको छ। 
महावुगाथ रहेको स्थान रमनीय, पाटन क्षेत्र र समथर चरिचरन भएकाले दैलेख, कालिकोट, जुम्लालगायतका स्थानबाट भैंसी, भेडा बाख्रा चराउने उद्देश्यले गोठालाहरू गोठ निर्माण गरेर बस्ने गर्छन्। वर्षभरि हुने अन्न अभाव हटाउन, गाईवस्तु र मानव जीवनको अकाल मृत्यु हुनबाट  बचाउन शिवको पूजापाठ गर्ने गरिन्छ। 

पूजाका लागि पुग्ने भक्तजनले मुख्य मन्दिरको करिब चार सय मिटर टाढैदेखि बुकी झारलगायत मुखमा घाँस च्याप्ने चलन अहिले पनि कायमै छ। दाम्लो बाँधेकै अवस्थामा मरेका पशु चौपायाहरूको मोक्ष प्राप्तिका लागि किसानहरूले आफ्नो घाँटीमा दाम्लो बाँधेर पूजापाठ गर्ने प्रचलन पनि छ।

नबोलिकनै शिवलिङ भएको स्थानलाई तीर्थयात्रीले सातपटकसम्म परिक्रमा गर्ने गर्दछन्। शिवलिङमा दैलेखका आचार्य र कालीकोटका ब्राहमणहरूले प्रत्येक वर्षको पूर्णिमा पूजामा दूधको धारासँगै पूजापाठ गरेपछि मात्र देशभरिका अन्य स्थानहरूमा रहेका देवी देवताहरूको पूजा हुने प्रचलन छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.