किसानलाई सुन्तलाको मूल्य दोब्बर
![किसानलाई सुन्तलाको मूल्य दोब्बर](https://annapurnapost.prixacdn.net/media/albums/Suntala_new234-5892f4ca2159d2.89942381_qK1fALTHOb_Gr3Ql2JLWF.jpg)
रुकुमपश्चिम : जिल्लाको मुसीकोट नगरपालिका-१० झ्याङका झुपलाल खड्का गत वर्षको मूल्यभन्दा दोब्बरमा गाउँबाटै सुन्तला बिक्री हुँदा दंग छन्। अघिल्लो साल प्रतिकेजी २५ रुपैयाँमा सुन्तला बिक्री भएकोमा यस वर्ष ५२ रुपैयाँमा बिक्री भएको खड्काले सुनाए। ‘बारीबाट ९ क्विन्टल सुन्तला बिक्री भयो, सानो दानालाई प्रतिकेजी ३० का दरले र ठूलोलाई ५२ रुपैयाँका दरले बिक्री भयो।’
उनले गत साल २५ रुपैयाँका दरले सुन्तला बिक्री गर्दा खर्चसमेत उठाउन मुस्किल भएको दुःखेसो सुनाए। यो साल दोब्बर मूल्यमा सुन्तला बिक्री हुँदा खुसी लागेको खड्काले बताए। हाल खड्काको बारीमा एक सय बोटले फल दिन सुरु गरेको छ। सुन्तला बारीमा बाँदर लाग्ने भएकाले जोगाउन मुस्किल हुने पनि बताए।
वडा कार्यालयको समन्वयमा गाउँबाटै सुन्तला बिक्री हुँदा अर्का सुन्तला किसान एक्कबहादुर खड्का पनि खुसी छन्। उनले पनि अघिल्लो सालको भन्दा सुन्तलाबाट दोब्बर आम्दानी गरेको बताए। बारीबाटै ८३ हजार रुपैयाँको सुन्तला बिक्री गरेको खड्काको भनाइ छ।
वडा कार्यालयको समन्वयमा गाउँका सुन्तला दाङ पठाएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिए। उनका अनुसार वडाका ६ किसानले उत्पादन गरेको ८८ क्विन्टल सुन्तला दाङका व्यापारीले खरिद गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)