न्याय दिलाउने नै अन्यायमा !
प्रहरी यस्तो शब्द हो जसले अन्यायमा परेकालाई न्यायको अनुभूति र अन्याय गर्नेहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्ने काम गर्छ। समाजमा शान्ति सुव्यवस्था बनाइराख्न कानुनको कार्यान्वयन गर्ने अधिकार प्राप्त निकाय भएकाले नै प्रहरीप्रति आमजनताले विश्वास र भरोसा हुन्छ। तर बेलाबेलामा राजनीतिक नेतृत्व र तालुकवाला निकायबाट हुने हस्तक्षेपले प्रहरीप्रतिको विश्वास नै डगमगाइरहेको हुन्छ।
प्रहरीप्रतिको आमविश्वास कायम राख्न र कर्तव्यप्रति सचेत र अडिग राख्न आवश्यक पर्ने चेन अफ कमान्ड पनि बेलाबखत धर्मराउने गर्छ। जसले गर्दा शक्तिको वरिपरि घुम्नेले अनुशासनको पालना गर्ने आफूभन्दा वरिष्ठ नै भए पनि हल्लाउन थाल्छ। प्रहरी संगठनभित्र पछिल्लो समय यस्ता विकृत प्रवृत्ति बढ्दै गएको छ। जसले इमान्दारपूर्वक काम गर्ने प्रहरी अधिकारीहरू नै कमजोर मनोबलमा काम गर्न बाध्य हुँदै आएका छन्।
प्रहरीलाई अनुशासित र कानुुनको कार्यान्वयन गर्ने बलियो संगठनका रूपमा स्थापना गर्न राजनीतिक नेतृत्व, तालुकवाला निकाय र हरेक प्रहरी संगठनका वरिष्ठ र कनिष्ठ सदस्यहरूको विभिन्न भूमिका हुन्छ। तर तीभन्दा बढी भूमिका प्रहरीको मूल नेतृत्वको हुने गर्छ। प्रहरी नेतृत्वले चाहँदा आफ्नो संगठनका हरेक सदस्यलाई उच्च मनोबल र नैतिकतामा रहेर काम गर्ने वातावरण बनाउन सक्छ। तर त्यसका लागि मूल नेतृत्व नै संगठनप्रति बफादार र नैतिक चरित्रले पूर्ण हुन जरुरी छ। तर प्रश्न उठ्छ के अहिलेको अवस्थामा हरेक प्रहरीले उच्च मनोबल र नैतिक धरातलमा उभिएर काम गर्ने वातावरण छ त ? त्यसको जवाफ जो कोहीले दिन सक्छ। तर त्यसको समीक्षा प्रहरीको मूल नेतृत्वले मात्र गर्न सक्छ र गर्नुपर्छ।
सत्य सेवा सुरक्षणम्को नारा आत्मसात् गरेको व्यावसायिक र निष्ठावान् भनिने प्रहरी संगठनको नेतृत्व विगतमा जस्तै राजनीतिक दलका सामु निरीह भइदियो भने प्रहरी संगठन भविष्यमा झनै कमजोर बन्दै जान्छ र संगठनको औचित्यमा प्रश्न चिह्न खडा हुन्छ। पछिल्लो समय भीड नियन्त्रणदेखि अपराध अनुसन्धानमा प्रहरीको भूमिकालाई लिएर पटकपटक प्रश्न उठ्ने गरेको छ। कानुन कार्यान्वयन तथा शान्ति सुरक्षा र विधिको शासन बनाइराख्ने भूमिकामा रहेको प्रहरीले आफैंले त्यसको प्रतिकूल हुनेगरी काम गर्दा प्रश्न उठ्नु भने स्वाभाविक हो। तर किन त्यस्तो भइरहेको छ ? यो गम्भीर प्रश्न हो।
प्रहरी अधिकारीले कुन मनोदशा र अवस्थामा काम गरिरहेका छन् ? कमजोरी किन भइरहेको छ भनेर खोजी गर्ने र समाधान निकाल्ने प्रयास भने कतैबाट भएको देखिँदैन। कमजोरी यहीनेर भएको देखिन्छ। अति संवेदनशील परिस्थितिमा उच्च मनोबलका साथ काम गर्नुपर्ने प्रहरी अभाव र दबाबका बीच काम गर्न बाध्य हुन्छन्। उनीहरूलाई समयसमयमा दिनुपर्ने तालिम र प्रोत्साहन वृत्ति विकासका कुरा शून्य बराबर देखिन्छ। जसको असर उनीहरूको काम कारबाहीमा पनि प्रत्यक्ष परेको छ। जुन मनोबल र परिस्थितिबीच उनीहरूले काम गरिरहेका छन्। त्यसबाट प्राप्त हुने नतिजा मात्र उत्कृष्ट खोजेर हुँदैन। मुलुक संघीयतामा प्रवेश गरेपछि त्यसको कार्यान्वयनका क्रममा प्रहरी समायोजनका लागि अपनाइन लागेको प्रक्रियाले एक तहसम्मका प्रहरी अधिकारीले पुनः आफ्नो वृत्ति विकासलाई लिएर चिन्ता लिनुपर्ने अवस्था सिर्जना हुन लागेको देखिन्छ।
यदि अहिले भनिएजस्तै अवस्थामा प्रहरीको समायोजन हुने हो भने प्रदेशमा समायोजन हुने निर्धारित तहसम्मका प्रहरी अधिकारीहरू आफ्नो वृत्ति विकासमा आउन सक्ने अवरोधलाई लिएर चिन्तित हुनुपर्ने अवस्था देखिन्छ। आम नागरिकको सुरक्षामा खटिने अर्थात् अन्यायमा परेकाहरूलाई न्याय प्रदान गर्ने जिम्मेवारी पाएका प्रहरी कर्मचारी आफैं अन्यायमा पर्ने अवस्था आयो भने उनीहरूले कुन मनोबल लिएर समाजमा न्यायको शासनलाई टेवा पुर्याउन सक्लान् ? कानुनको कार्यान्वयन गर्ने निकायमा काम गर्ने प्रहरीहरू नै न्यायको याचना गर्नुपर्ने अवस्थामा पुग्दा न्यायको याचना गर्ने आम जनताको मनोदशा र अवस्था के होला ? यसतर्फ कसैले पनि चिन्ता र चासो लिएको दिएको देखिँदैन।
देश र जनताको सुरक्षाको जिम्मा लिएको फौजी संगठन सञ्चालनको पनि आफ्नै विधि र प्रक्रिया हुन्छ। यो कुनै राजनीतिक लहडमा नियुक्त भएका व्यक्तिले चलाउने संस्था होइन। अनुशासित र व्यवस्थित फौजी संगठनमा वर्षौंको अनुभव सँगालेका व्यक्तिले नेतृत्व गर्ने यो संगठनमा केही वर्षयता राजनीतिको छायाँ पर्न थालेपछि चेन अफ कमान्ड र यो संगठनले पूरा गर्ने स्वतन्त्र दायित्वमाथि पनि प्रश्न उठ्न थालेको छ। नागरिकको करबाट सञ्चालन हुने फौजी संगठनलाई नेतृत्व गर्ने व्यक्तिहरू राजनीतिक दलको भ्रातृ संगठनका नेता जस्तो भयो भने लामो इतिहास बोकेको प्रहरी संगठनमाथि आम नागरिकले समेत प्रश्न उठाउने अवस्था सिर्जना हुन थाल्छ।
प्रहरीले गर्ने दैनिक काम कारबाहीदेखि उनीहरूको वृत्ति विकासमा समेत राजनीतिक प्रभाव देखिन थालेपछि संगठनभित्रका इमान्दार, व्यावसायिक निष्ठावान् र प्रहरी पेसामा भविष्य देखेका तल्लो तहदेखि माथिल्लो तहसम्मका अधिकारीको विश्वासमा ठेस लाग्न पुग्छ। संगठनभित्र राजनीतिक प्रभाव र हस्तक्षेपकै कारण एउटै समयमा सेवा प्रवेश गरेका कतिपय प्रहरी उपल्लो दर्जामा पुगिसक्दा इमान्दार र नेताको ढोका नढक्ढक्याउनेहरूको वृत्ति विकासमा असर पुगेका थुप्रै उदाहरण छन्।
घटनाक्रमलाई फर्केर हेर्दा बहालवाला प्रहरी प्रमुखको अवकाश र नयाँ प्रमुखको नियुक्तिको समय नजिकै जाँदा नेतृत्वमा अस्वस्थ्य प्रतिस्पर्धा हुनु अब प्रहरीमा नौलो विषय रहेन। बिडम्बना नेतृत्वमा पुग्नेहरूमा पनि विभिन्न स्वार्थपूर्ति गर्ने समूहको दबाबका कारण पनि संगठनको हित प्रवद्र्धन र संगठनलाई स्वतन्त्र ढंगले चलाउन थुप्रैले हिम्मत राखेको देखिँदैन। बरु राजनीतिक दल र उनीहरूका नेतालाई रिझाउनमै व्यस्त देखिन्छन्। संगठनभित्र गलत अभ्यास भइरहेको जानकारी हुँदा पनि दलकै स्वार्थका लागि काम गर्ने संगठन र कर्तव्यनिष्ठ आफ्ना कर्मचारीप्रति निरीह रहने नेतृत्व रह्यो भने प्रहरी संगठन झन्झन् कमजोर र लक्ष्यबाट विमुख हुँदै जानेमा कुनै शंका छैन।