आयल निगमको लापरवाही : विद्यालय गएका विद्यार्थीको रडमा छेडिएर मृत्यु
![आयल निगमको लापरवाही : विद्यालय गएका विद्यार्थीको रडमा छेडिएर मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/03_DxRy0cToTE_TCtNNX1iT0.jpg)
सिमरा : बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधबार एक विद्यार्थीको ज्यान गएको छ । विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडमा छेडिएर जीतपुसिमरा उपमहानगरपालिका २१ का ललित गोलेका ११ वर्षीय छोरा लक्कीको घटनास्थलमै ज्यान गएको हो ।
घरबाट विद्यालयका लागि निस्किएका लक्की पोलमा भर्याङ बनाउन राखिएको रडमा छेडिन पुगेका थिए । रडले लक्कीको टाउको छेडेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
लक्की जीतपुरसिमरा १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए । उनी विद्यालयको पोशाक लगाएर आयल निगम अगाडि रहेको पार्किङस्थलतर्फ जाँदै थिए । उक्त पार्किङ स्थलमा उनकी आमा बिमला गोलेले ठेला राखेर चिया र खाजाको पसल सञ्चालन गर्दै आएकी थिइन् । लक्की पार्किङ स्थलमै खाना खाएर विद्यालयका लागि बस चढ्ने गरेका थिए । सधैझैं पार्किङ स्थलतर्फ हिँडेका लक्कीको सडक पेटीमा राखिएको पोलको रडमा छेडिएर मृत्यु भएको हो ।
आयल निगमले कार्यालयबाट कर्मचारी निवासतर्फ विद्युतिकरणका लागि करिब तीन वर्ष अगाडि उक्त पोल राखेको थियो । पोलमा चढ्नका लागि रडको भर्याङ बनाइएको थियो । विद्युतिकरणको काम सम्पन्न भएपछि कार्यालयले उक्त रड निकाल्न वेवास्था गर्दा घटना हुन पुगेको हो ।
अमलेखगञ्जका स्थानीयले आयल निगमको चरम लापरवाहीका कारण बालकले ज्यान गुमाउनुपरेको भन्दै आक्रोश पोखेका छन् । जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठले निगमको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै घटनाको जिम्मेवारी निगमले लिनुपर्ने बताए ।
वडाध्यक्ष श्रेष्ठले पीडित परिवारलाई निगमले उचित क्षतिपूर्ति दिनुपर्ने समेत बताएका छन् । गोलेको शव परीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)