नेता होइन, रूपान्तरित नेता

नेतृत्वसँग देशको कुशल व्यवस्थापन गर्न सक्ने अदम्य शाहस, कला र सीप हुनुपर्छ।

नेता होइन, रूपान्तरित नेता

नेतृत्व भनेको अनुयायीहरूलाई प्रभावमा पारेर निर्धारित योजना र लक्ष्य हासिल गर्न सक्ने नेताको क्षमता हो। रूपान्तरित (ट्रान्सफरमेसनल) नेताले सो लक्ष्य पूरा गर्न आफूलाई समेत परिवर्तन गर्नुपर्छ। अनुयायी वा मानिसलाई उत्प्रेरणा प्रदान गरी उनीहरूको सोच, प्रवृत्ति र कार्य व्यवहारमा परिवर्तन गर्ने गराउने शक्ति र सामथ्र्य पनि उसैले राख्छ। यस्तो राजनीतिक नेतृत्वमा देशलाई सही ढंगले मार्गदर्शन गर्ने ‘भिजन’ र ‘करिज्मा’ हुन्छ।

नेता वा नेतृत्वसँग समग्र रूपमा देशको कुशल व्यवस्थापन गर्न सक्ने अदम्य साहस, कला र सीप हुनुपर्छ। उनीहरू प्रेरणाको स्रोत एवं परिवर्तनको वाहक बन्न सक्नुपर्छ। यस्तो प्रकृतिको नेताले अनुयायीहरूको मूल्य, मान्यता, विश्वास र आवश्यकतालाई प्रेरणादायी शक्तिद्वारा परिवर्तन गरी नेतृत्वद्वारा तय गरिएको रणनीतिक योजना साकार बनाउन अग्रसर गराउँछ। रूपान्तरण गर्न सक्ने नेतामा दूरदृष्टि, उच्च सञ्चार सीप, व्यक्तिगत विचार, बौद्धिक उत्तेजना, प्रेरणात्मक सामर्थ्यजस्ता विशेषता हुन्छन्। यस्ता नेतृत्वले मुलुकको आर्थिक सामाजिक रूपान्तरण गर्न कारक तŒवको रूपमा कार्य गर्छ।

नेपालको राजनीतिक इतिहासमा ‘ट्रान्सफरमेसनल’ नेतामात्र होइन, राजनेताको लक्षण भएका बीपी कोइराला तथा मदन भण्डारीजस्ता ‘करिज्म्याटिक’ एवं ‘भिजनरी’ नेताहरूको उदय नभएको होइन। तर उहाँहरूलाई यस्तो क्यारिज्मा र भिजन नभएका स्वार्थ केन्द्रबाट षड्यन्त्रपूर्वक विलय गराइयो। बीपीलाई २०१७ पुस १ गतेको काण्ड मच्चाएर तत्कालीन राजा महेन्द्रले जेल हाले भने मदनलाई २०५० जेठ ३ गते दासढुंगा काण्डरूपी घटना घटाएर रहस्यमय ढंगले हत्या गरियो। दुवै घटनालाई नेपालको इतिहासमा कालो दिनको रूपमा स्मरण गरिन्छ। २०१७ पुस १ देखि त सक्रिय निरंकुश राजतन्त्रात्मक शासन व्यवस्था लादियो। तत्पश्चात् मुलुकले ‘ट्रान्सफरमेसनल’ वा ‘करिज्म्याटिक’ राजनीतिक नेतृत्व पाउन सकेको छैन भन्नुमा अतिशयोक्ति नहोला। खासमा मुलुकले परिस्थितिजन्य नेतासमेत पाउन सकेको छैन।

मुलुकमा संघीय गणतान्त्रिक लोकतन्त्र स्थापना भयो तर यसलाई संस्थागत गर्ने सुनिश्चितता गर्ने आधार अझै देखिँदैन। मुलुकमा गणतन्त्र आउनुमा पनि तत्कालीन राजा ज्ञानेन्द्र शाहको लालच, विवेकहीनता र असक्षमता कारक तŒवको रूपमा रहेको महसुस हुन्छ। गणतन्त्र स्थापना भए पनि देशमा आर्थिक सामाजिक रूपान्तरण नभएको जगजाहेर छ। यसले देशमा रूपान्तरित नेता वा नेतृत्वको चरम खडेरी छ भन्ने तथ्यलाई पुष्टि गर्छ। सामान्यत: नेतामा हुनुपर्ने गुणले परिपूर्ण उच्च व्यक्तित्व नेपाललाई चाहिएको हो। देश र जनताप्रति भक्ति र हितभाव, मार्गदर्शन, साझा व्यक्तित्व, आवश्यकताअनुसार अन्तर्मुखी वा बहिर्मुखी स्वभाव, परिस्थितिजन्य वा आफू र आफ्ना अनुयायीलाई आवश्यकता र औचित्यको आधारमा परिवर्तन गर्न सक्ने सामथ्र्य नेतामा हुनुपर्छ।

निहित स्वार्थबाट सर्वथा मुक्त पारस्पारिक सम्बन्ध, साझा लक्ष्य, भरोसायोग्य, प्रजातान्त्रिक नेतृत्व शैली, लक्ष्य, योजना र रणनीति तर्जुमा गर्न सक्ने, प्रभावकारी सञ्चार गर्न सक्ने क्षमता, मानिसलाई भित्रैदेखि इच्छाशक्ति जागृत गराई उत्प्रेरणात्मक प्रेरणाद्वारा प्रभाव पार्न सीप र कला आदि राजनीतिक नेतृत्वमा हुनुपर्ने गुण हुन्। के हाम्रा नेताहरूमा यस्ता गुण र स्वभाव छन् ? सही बाटो देखाउनु पर्ने व्यक्ति प्रथमत: आफैं सही बाटोमा हिँड्दैन भने अरूलाई सही बाटोमा सर्वथा हिँडाउन सक्तैन। त्यसो हुँदा उसले अरूलाई प्रभाव पार्न सक्तैन। प्रेरणात्मक प्रभाव पार्न नसक्ने त्यस्तो व्यक्ति सामान्यत: नेता हुन सक्दैन र नेतृत्व प्रदान गर्न असक्षम हुन्छ।

हाम्रो देशमा जसलाई नेता भन्छौं, उनीहरू यस्तै प्रकृतिका छन्। त्यतिमात्र होइन, हाम्रो देशमा सतहमा देखिएअनुसार त्यस्ता नेता सत्तारस, ऐश्वर्यभोग र भ्रष्टाचारमा लिप्त छन्। त्यसैले, त्यस्ता नेता र पुरानो स्थापित राजनीतिक दलहरूको आदर्श, विचार र सिद्धान्त छैन भन्ने आवाजसमेत बुलन्द हुन थालेको छ। त्यसैले नेताभन्दा नेता शब्दकै अपव्याख्या जस्तो हुने देखिएकाले नेपालका नेतालाई ‘नेता भनिएका नेताहरू’ भन्न उपयुक्त होला कि ?

नेतृत्वको गुण सिद्धान्त, व्यवहारात्मक सिद्धान्त, परिस्थितिजन्य सिद्धान्त एवं आधुनिक कुनै पनि सिद्धान्तलाई ती नेताहरूले आत्मसात् गरेको जस्तो लाग्दैन। यस आलेखमा नेपालमा राजनीति गर्ने सबै राजनीतिक व्यक्तित्व खराब तथा असक्षम छन् भनेर सामान्यीकरण गर्न खोजिएको भने होइन। उनीहरू नेतृत्वदायी भूमिकामा नहोलान् वा त्यस्तो भूमिकाबाट विमुख पारिएका पनि होलान्। तर खराब, अकुशल र भ्रष्ट नेताहरूको विरुद्धमा उनीहरूले आवाज उठाउन नसकेको विषयगत तथ्यलाई चाहिँ सामान्यीकरण गर्न सकिएला कि ?

योभन्दा पनि संवेदनशील पक्ष त के हो भने राजनीतिको मूल प्रवाहमा रहेका राजनीतिक दलहरूका खासगरी शीर्ष नेतृत्व र प्रभावशाली नेतालाई विस्तारवादी तथा सामाज्यवादी राष्ट्रका दलालको संज्ञा दिइएको छ। यस्तै आरोप उहाँहरूले प्रभावकारी ढंगले खण्डन गर्न नसक्नु, उनीहरूको काम व्यवहारले त्यस्तो आरोपलाई समर्थन गरेको अनुभूति हुनु, नीतिगत निर्णय सोही दिशातर्फ उन्मुख भएको हुँदा आरोपमा सत्यता ठहरिन पुगे, अबको आन्दोलन देश जोगाउनेतिर नहोला भन्न सकिन्न।

२००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव भयो। तर २००७ सालदेखि २०१७ सालसम्म राजतन्त्रात्मक तानाशाही व्यवस्था र राजनीतिक दलहरूको बीचमा टकराव, २०१७ सालदेखि २०४६ सालसम्म राजाको निरंकुशता र २०५२ देखि हालसम्म मुलुक विकृति, विसंगति भ्रष्टाचारको दुश्चक्रमा बन्धक बन्न पुग्यो। यति लामो समय बर्बाद भयो। परिणामस्वरूप मुलुक गरिबीको चपेटामा गुज्रिरहेको छ। २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना हुँदा त्यसै समयको हाराहारीमा छिमेकी देश भारत र चीनमा पनि राजनीतिक परिवर्तन भएको थियो। विश्व मानचित्रमा शक्ति र सामथ्र्यको दृष्टिकोणले नियाल्दा ती देशहरू कहाँ पुगे। नेपाल किन अगाडि बढ्न सकेन ? बरु पछाडि धकेल्यो। सापेक्षिक रूपमा नेपालमा कुन साधन र स्रोतको कमी थियो ? त्यसैले २००७ सालदेखि हालसम्मको समय खेर गएको भन्नमा अत्युक्ति नहोला कि !

अन्त्यमा, मुलुकको कुशल व्यवस्थापन गरी समृद्धि, विकाश, शुसाशन र सामाजिक न्याय संस्थागत गर्न मुलुकलाई ‘ट्रान्सफरमेसनल’ र ‘भिजिनरी’ नेताको टड्कारो खाँचो छ। यसका लागि विशेष गरेर शासक वर्गहरू सजग बन्न ढिलो भइसकेको अवस्था छ। सक्षम नेता वा व्यक्तिहरूबाट असक्षमहरू विस्थापित हुनैपर्छ। अन्यथा मुलुक थप बिनासको दलदलमा पर्न सक्छ। त्यसका लागि सबै तह र तप्काका विशेषगरी सचेत नागरिक सजग र जिम्मेवार बन्न आवाश्यक पर्ला कि !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.