आधा वर्षमा सेयर धितो राखेर ८४ अर्ब कर्जा

आधा वर्षमा सेयर धितो राखेर ८४ अर्ब कर्जा

काठमाडौं : तुलनात्मक रूपमा पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरूको आकर्षण बढेसँगै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा मार्जिन प्रकृतिको कर्जाको आकार पनि बढेको छ। विशेष गरेर लाखमाभन्दा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकअनुसार १ करोडभन्दा माथिको ऋण लिनेहरू बढी छन्। 

गत पुस महिनामा मात्रै सो सीमाभन्दा माथी ३ अर्ब ४५ करोड ९१ लाख बराबरको कर्जा प्रवाह भएको छ। यद्यपि ६ महिनाभर नै करोडमाथिको यस्तो कर्जा ५१ अर्ब ३० करोड ४५ लाख रुपैयाँ हाराहारीमा प्रवाह भएको छ। यद्यपि समग्रमा भने आर्थिक वर्ष २०८०/८१ मंसिरसम्म मार्जिन प्रकृतिको कर्जा ८४ अर्ब २९ करोड ३ लाख रुपैयाँ प्रवाह भएको छ। यो गत आवको भन्दा १२.५८ प्रतिशत अर्थात ९ अर्ब ४१ करोड ७९ लाख रुपैयाँ बढी हो। आव २०७९/८० पुससम्ममा मार्जिन प्रकृतिको कर्जा ७४ अर्ब ८७ करोड २५ लाख रुपैयाँ प्रवाह भएको थियो। 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत संस्थाहरूको सेयर किन्ने प्रयोजनका लागि सेयर धितो राखी प्रवाह भएको कर्जा मार्जिन प्रकृतिको कर्जा हो। अहिले यस्तो कर्जा एक महिनाको अन्तरमा मात्रै ३ अर्ब ९ करोड ९९ लाख रुपैयाँ प्रवाह भएको छ। यस्तो कर्जावृद्धि अत्यधिक भने होइन। किनभने यसबीच बैंकहरूले घटाएको निक्षेपको ब्याजदरको प्रभाव कर्जाको ब्याजदरमा परिसकेको थिएन।

तर, एकदम न्यून मात्रै घट्यो। यद्यपि अझै माघमा ब्याजदर घट्यो। यसो हुँदा मार्जिन प्रकृतिको कर्जामा आकर्षण भएको अनुमान गर्न सकिन्छ। तर यता नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला भने समग्रमा बैंकहरूको सेयर धितोमा मार्जिन कर्जाको आकार बढे पनि आफूहरूले भने अहिले यसमा कम गरेको बताउँछन्।

उनका अनुसार अहिले केही बैंकको कर्जा निक्षेपअनुपात (सीडी रेसियो) खुकुलो भए पनि केहीको पुँजीकोष कसिलो भएकाले दिएका छैनन्। ‘सबैभन्दा कम सेयर धितोमा कर्जा दिने बैंकमा माछापुच्छ्रे र स्ट्याण्डर्ड चार्टर्ड बैंक छ। सीडी रेसियो खुकुलो भए पनि यता पूँजीकोष कसिलो भएका १०–११ वटा वाणिज्य बैंकले भने त्यत्ति कर्जा बढाएका छैनन्,’ उनले अन्नपूर्णसँग भने। यद्यपि अहिले सेयर बजार मूल्य कम भएको बेला दिँदा भोलिको दिनमा बजार बढ्दा जोखिम कम हुनसक्छ भन्ने हिसाबले सोचेको हुनसक्ने उनको भनाइ छ। उत्पादनमूलक क्षेत्रमा खासै कर्जाको माग आएको छैन। यस्तो बेला भएको पैसा सेयर धितोमै भए पनि दिउँ भन्ने हिसाबले पनि यसमा बर्जा बढेको हुनसक्ने संघका उपाध्यक्ष कोइरालाको अनुमान छ। 

पछिल्लो समय राष्ट्र बैंकले सेयर धितोको जोखिम भार घटाएपछि यस्तो प्रकृतिको कर्जा लिन थप प्रोत्साहन मिलेको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कर्जा लिनेको अवस्था १ करोड रुपैयाँमाथि लिनेको बढी देखिन्छ। सोहीअनुसार गत पुससम्ममा लगानीकर्ताले १ करोडभन्दा माथिको ऋण ५१ अर्ब ३० करोड ४५ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ। यो कुल मार्जिन कर्जाको ६०.८७ प्रतिशत हो। यसअघिको पुसमा यस्तो ऋण ४२ अर्ब ९१ करोड ५० लाख रुपैयाँ थियो। एक वर्षको अन्तरमा यस्तो कर्जा लिने १९.५५ प्रतिशतले वृद्धि भएको छ। यसपछि ५० लाखदेखि १ करोड रुपैयाँभन्दा माथिको ऋण १२ अर्ब ७८ करोड २९ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ। यो कुल मार्जिन कर्जाको १५.१७ प्रतिशत हो। गत पुसमा सो सीमासम्ममा अहिले २१.९२ प्रतिशत अर्थात् २ अर्ब २९ करोड ८१ लाख रुपैयाँले बढेको छ। 

यस्तै, २५ लाखदेखि ५० लाखभन्दा माथिको ऋण १३ अर्ब ३ करोड ४९ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ। यो कुल मार्जिनको १५.४६ प्रतिशत हो। तर सो सीमाभित्र लिने कर्ता गत पुसको तुलनामा ३.९३ प्रतिशत अर्थात् ४९ करोड ९५लाख रुपैयाँले घटेको छ। यस्तै कुल मार्जिन कर्जाको सबैभन्दा कम २५ लाख रुपैयाँभन्दा कम ऋण रहेको छ। जसमा कुल मार्जिन कर्जाको ८.५० प्रतिशत अर्थात् ७ अर्ब १६ करोड ८० लाख रुपैयाँ बराबर प्रवाह भएको छ। यो गत वर्षको पुसको भन्दा ९.७० प्रतिशतले कम हो। अर्थात तुलनात्मक रूपमा गत आवको पुसकोभन्दा अहिले ७७ करोड रुपैयाँले यस्तो कर्जा प्रवाह घटेको छ।  अधिकांशको आकर्षण ५० लाख र १ करोड रुपैयाँमाथि रहेको तथ्यांकले पुष्ट्याउँछ।

प्रायः कर्जा लिएर लगानी गर्नेहरूलाई थोरै लिँदा हात्तीको मुखमा जिरा हुने भएकाले धेरै रकम आँट्ने गरेको लगानीकर्ताहरू बताउँछन्। जबकी सेयरधनीहरूले बैंक तथा वित्तीय संस्थाबाट पछिल्लो व्यवस्थाअनुसार व्यक्तिगतका लागि १५ करोड र संस्थागतका लागि २० करोड रुपैयाँ बराबरको मार्जिन कर्जा लिन पाइने व्यवस्था छ। तर लगानीकर्ताहरू यो सीमा हटाउनुपर्ने माग गर्दै आएका छन्। अब नेपाल राष्ट्र बैंकले अर्धवार्षिक समिक्षा गर्दै भावी कार्यदिशामा यो व्यवस्था हटाउने अपेक्षा गर्छन्। 

यसैक्रममा सेयर विश्लेषक देव गुरागाईं सेयर धितोमा मार्जिन कर्जालाई खुकुलो पार्नुपर्नेमा जोड दिन्छन्। उनी भन्छन्, ‘अहिले बैंकङ क्षेत्रमा लगानीयोग्य पुँजी थुप्रिएको छ। यसअवस्थामा अन्य लगानकिा क्षेत्र खस्केको बेलामा र अहिले बजार त्यत्ति धेरै जोखिममा नपुगेको हुँदा नेपाल राष्ट्र बैंकले पनि नीतिमा खुकुलो बनाउन विचार गर्नुपर्छ।’ यद्यपि बजार जोखिममा रहेका बेला नियन्त्रण गर्नु भने स्वभाविक भएको उनको भनाइ छ। 

विगत केही वर्षको प्रवृत्ति हेर्दा दुई आर्थिक वर्षयता बैंक तथा वित्तीय संस्थाको मार्जिक प्रकृतिको कर्जा प्रवाह घटेको थियो। केन्द्रीय बैंकले कडाइ गर्नुअघि आर्थिक वर्ष २०७६/७७ मा ५० अर्ब ४० करोड ९६ लाख रुपैयाँ बराबरको मार्जिन प्रकृति कर्जा प्रवाह भएकोमा आव २०७७/७८ मा ११०.८४ प्रतिशतले बढेको थियो। उक्त प्रतिशतले कर्जा वृद्धि हुँदा वार्षिक १ खर्ब ६ अर्ब २८ करोड १५ लाख रुपैयाँ बराबरको प्रवाह भएको थियो। तर, राष्ट्र बैंकको ४/१२ करोडको सीमाले कसेसँगै आव २०७८/७९ मा २४.२५ प्रतिशतले घटेर ८० अर्ब ५० करोड ७७ लाख रुपैयाँ मात्रै प्रवाह भएको थियो।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत ४/१२ करोड रुपैयाँको सीमा लगाएर सेयर बजारलाई नियन्त्रण गरेपछि सेयर बजार प्रभावित भएको थियो। जसमा मार्जिन प्रकृतिको कर्जामा एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँको सीमा लागू गर्‍यो। यसको प्रभावले पुँजीबजार माथि उठ्नै सकेन। राष्ट्र बैंकको सीमाप्रति लगानीकर्ताबाट टिकाटिप्पणी भयो। यसपछि ४ संस्था हटाएर जुनसुकैबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गर्‍यो। अझ पछिल्लो समय केन्द्रीय बैंकले व्यक्तिगतका लागि १५ करोड र संस्थागतका लागि २० करोड रुपैयाँ बनायो। तर, लगानीकर्ताले अझै यस्तो क्याप हटोस् भन्ने चाहेका छन्। 

राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामार्फत मौद्रिक नीतिमा संशोधन गर्दै ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गर्ने घोषणा गर्‍यो। जबकी यसअघि जोखिम भार १५० प्रतिशत थियो। यससँगै बजारमा सकारात्मक प्रभाव पनि देखियो। यससँगै बैंकहरूले निक्षेपको ब्याजदर पनि क्रमशः कम गर्दै जाँदा कर्जाको ब्याजको भार पनि घटेको छ। यसले गर्दा पनि लगानीकर्ताहरू कर्जा लिन प्रोत्साहित बनेको देखिन्छ। 

सेयर धितोमा मार्जिन प्रकृतिको कर्जाबारे जानकारी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत संस्थाहरूको सेयर किन्ने प्रयोजनका लागि लगानीकर्ताले आफूसँग भएको सेयरलाई बैंक तथा वित्तीय संस्थामा धितो राखी लिने कर्जालाई मार्जिन प्रकृतिको कर्जा भनिन्छ। पछिल्लो समय राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जा ग्राहकले सुरक्षणबापत राखिने सेयरको मूल्यांकन गर्दा नेप्सेबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ। उक्त रकमको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ। यसअघि १२० कार्य दिनको मूल्यांकन गर्न पाइन्थ्यो। अर्थतन्त्रले अधिकांश क्षेत्र अस्तव्यस्त रहँदा सेयर कारोबार भने प्रत्येक दिन अर्बौं रुपैयाँको हुने गरेको छ।

सेयरमा लगानी गर्नेका लागि सेयर मार्जिन प्रकृति कर्जा लिन सकिन्छ भने यसबाहेक पनि लगानीकर्ताले आफूसँग भएको सेयर धितो राखेर अन्य शीर्षकमासमेत कर्जा लिन पाउने व्यवस्था छ। उद्यमी व्यवसायीले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयरसमेत धितो राख्न चाहेमा सेयर धितो राखी कर्जा लिन पाइन्छ। बैंक तथा वित्तीय संस्थाले व्यावसायिक प्रयोजनका लागि प्रवाह भएको कर्जाका लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोका रूपमा सेयरसमेत धितोको रूपमा राख्न सक्छन्। अन्य संस्थाको सेयर किन्ने प्रयोजनदेखि बाहेकका व्यावसायिक प्रयोजनका लागि सेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमा १५/२० करोड रुपैयाँ भित्र बस्नुपर्दैन। 


समग्रमा बैंकहरूको सेयर धितोमा मार्जिन कर्जाको आकार बढे पनि आफूहरूले भने अहिले यसमा खासै कर्जा दिएको छेन। केही बैंकको कर्जा निक्षेपअनुपात (सीडी रेसियो) खुकुलो भए पनि केहीको पुँजीकोष कसिलो भएकाले दिएका छैनन्। सबैभन्दा कम सेयर धितोमा कर्जा दिने बैंकमा माछापुच्छ्रे र स्ट्याण्डर्ड चार्टर्ड बैंक छ। सीडी रेसियो खुकुलो भए पनि यता पुँजीकोष कसिलो भएका १०–११ वटा वाणिज्य बैंकले भने त्यत्ति कर्जा बढाएका छैनन्। यद्यपि अहिले सेयर बजार मूल्य कम भएकोबेला दिँदा भोलिको दिनमा बजार बढ्दा जोखिम कम हुनसक्छ भन्ने हिसाबले सोचेको हुनसक्छ। उत्पादनमूलक क्षेत्रममा खासै कर्जाको माग आएको छैन। यस्तो बेला भएको पैसा सेयर धितोमै भए पनि दिउँ भन्ने हिसाबले पनि यसमा कर्जा बढेको हुनसक्छ।
सन्तोष कोइराला, नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत 

सेयर धितोमा मार्जिन कर्जालाई खुकुलो पार्नुपर्छ। अहिले बेंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी थुप्रिएको छ। अन्य लगानकिा क्षेत्र खस्केको बेलामा र अहिले बजार त्यत्ति धेरै जोखिममा नपुगेको हुँदा नेपाल राष्ट्र बेंकले पनि नीतिमा खुकुलो बनाउन विधार गर्नुपर्ने सुझाव दिन्छन्। यद्यपि बजार जोखिममा रहेका बेला नियन्त्रण गर्नु भने स्वाभाविक हो।
देव गुरागाईं, सेयर विश्लेषक


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.