भ्रष्टाचारीलाई जन्मकैद हुनुपर्छ : प्रदेश प्रमुख शेरचन
बुटवल : लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचारीलाई हत्यारालाई सरह जन्मकैदको सजाय हुनुपर्ने धारणा राखेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै शेरचनले व्यक्तिको हत्यामा संलग्नलाई जस्तै भ्रष्टाचारीलाई पनि उस्तै प्रकृतिको सजाय हुनुपर्ने बताएका हुन्।
‘एउटा व्यक्तिले गरेको भ्रष्टाचारमा करोडौँ नेपालीको पसिना मिसिएको हुन्छ’,शेरचनले भने,‘अब कानुन बनाउँदा राज्यका जुनसुकै निकायका भ्रष्टाचारमा संलग्न व्यक्तिलाई हत्याराले पाउने सजाय अनुसारकै हुनुपर्ने बनाउनुपर्छ।’
मुलुकमा भ्रष्टाचारलाई न्युनीकरण मात्र नभई शून्यमै झार्ने गरी अभियानको थालनी हुनुपर्ने उनले विचार व्यक्त गरे। शेरचनले मुलुक संघीयतामा गएको ६ वर्ष बितिसक्दा पनि केन्द्रिकृत मानिसकता अझै जीवित रहेको उल्लेख गरे।