‘साउदी आउँदा भिसाको प्रकृति राम्ररी केलाउनु होला’

‘साउदी आउँदा भिसाको प्रकृति राम्ररी केलाउनु होला’

नेपाल र साउदी सरकारबीच कस्तो सम्बन्ध छ ? 

सन् १९७७ देखि कूटनैतिक सम्बन्ध स्थापनासँगै सुरु भएको नेपाल र साउदी अरेबियाबीचको सम्बन्ध सुमधुर छ। नेपालका लागि साउदी अरेबिया प्रमुख श्रम गन्तव्य मुलुकमध्येको एक रहेको तथा करिब चार लाख नेपालीहरू यहाँ कार्यरत छन्। एकातर्फ ती नेपालीहरूले आर्जन गरेको रकम उनका परिवारका लागि आर्थिक रूपमा सहयोगी बनेको छ भने अर्कातर्फ साउदी अरेबियाको विकासमा समेत योगदान पुगेको छ।

नेपाल र साउदी अरेबियाबीचको सम्बन्धमा मुस्लिम धर्मालम्बीहरूको पवित्र भूमि मक्का र मदिनामा हज र उमराका लागि आउने नेपालीहरूको आस्था पनि जोडिएको छ। यसरी विभिन्न आयामहरूलाई हेर्दा नेपाल र साउदी अरेबियाबीचको सम्बन्ध घनिष्ट एवम् मित्रवत छ। साथै हामीले सम्बन्ध थप घनिष्ठ बनाउन कूटनैतिक पहलमा ध्यान दिएका छौं।

साउदीमा नेपालीहरूले के कस्ता समस्याहरू भोगेका छन् र उनीहरूको उद्दारका लागि पहिलो प्राथमिकता के हो ? 

यहाँ धेरैजसो श्रमिकका कम्पनीसँग राम्रो सम्बन्ध रहने र करार अवधि सकिएपछि नेपाल फर्किने वा रि–इन्ट्री भिसा गराई पुनः सोही कम्पनीमा वर्षौंसम्म कार्यरत रहने गरेको देखिन्छ। तथापि कतिपय अवस्थामा कम तलब पाएको, ढिला तलब पाएको, अतिरिक्त समय काम गरेको रकम नपाएको, भने बमोजिमको काम नपाएको जस्ता गुनासाहरू हामीकहाँ आउने गर्छन्। अवैधानिक रूपमा काम गरेर बसेका कामदारहरूको मुख्यतः ईकामा (बसोबास अनुमतिपत्र) नहुने, ईकामा नवीकरण नहुने, एउटा कम्पनीबाट भागेर अर्को कम्पनीमा कार्यरत रहने गरेको अवस्था छ।

एउटा कम्पनीबाट भागेर अन्य कम्पनीमा कार्यरत रहने नेपालीलाई हुरुवको केश दर्ता भई डिपोर्टेसन सेन्टरबाट फिर्ता हुनुपर्छ भने कम्पनीले कुनै आरोपमा मुद्दा दर्ता गराएर अदालतले सो सम्बन्धमा फैसला दिएको छ भने फैसला बमोजिमको रकम तथा सजाय फछ्र्यौट नगर्दासम्म नेपाल फर्किन नपाउने स्थिति आउँछ।

समस्या समाधानका के कस्ता उपाय अपनाइन्छ ?

यहाँ रहेका श्रमिकहरूको समस्या समाधानका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ। यसका लागि श्रमिक सचेतना, समस्या समाधानका लागि साउदी सरकारले गरेको कानुनी तथा संस्थागत व्यवस्थाहरूको ज्ञान, नियोगहरूमा सम्पर्क गरी सहयोग लिने तथा मागपत्र प्रमाणिकरणमा प्रभावकारिता ल्याउने तथा दुई देशबीच द्विपक्षीय श्रम सम्झौता भई कार्यान्वयन भएमा समस्याहरूमा कमी आउने तथा आई हालेमा पनि सहज समाधान हुने सम्भावना हुन्छ।

साउदीमा कस्ता खाले नेपाली कामदारको माग छ ? 

साउदी अरेबियामा खासगरी उत्पादनमूलक उद्योग तथा निर्माण क्षेत्रका लागि नेपाली कामदारहरूको माग छ। यसका अलावा सुपर मार्केट तथा ठूला–ठूला मलहरूमा काम गर्नसमेत नेपाली कामदारहरूको माग छ। भिजन २०३० तथा पछिल्लो समयमा साउदी अरेबियाले सन् २०३४ मा विश्वकप फुटबल तथा २०२९ मा हिउँदे एसियाली खेलकुदको आयोजनाको घोषणा तथा भर्खर सुरु भएको नियोम सहरको निर्माणका कारण पनि भविष्यमा नेपाली कामदारहरूको थप माग हुने देखिन्छ। 

नेपाली कामदारलाई सम्झौताबमोजिम काम नदिलाउने गरेको पाइएमा म्यानपावरलाई महावाणिज्यदूतावासले कस्तो कारबाही गर्छ ? 

सम्झौताविपरीत काम गर्न लगाइएको पाइएमा तत्काल सम्बन्धित कम्पनी तथा ईजाजतपत्रवालालाई सम्पर्क गरी सो नगर्न/नगराउन अनुरोध गर्नुका साथै क्षतिपूर्तिका लागि पहल गरिन्छ। जटिल केसहरू भएमा नेपालमा वैदेशिक रोजगार विभागमार्फत तथा साउदी अरबमा स्थनीय श्रम कार्यालयहरूमार्फत पनि समाधानको प्रयास गर्ने गरिएको छ। यसको दीर्घकालीन समाधानका लागि त्यस्ता केसहरूसँग सम्बन्धित कम्पनी तथा इजाजतपत्रवाला जिम्मेवार हुने तथा कामदारहरू पनि सचेत हुन जरुरी छ। 

हाल साउदीमा कस्ता खाले नेपाली कामदारका समस्या देखा परेका छन् ?

समस्यामा परेका कतिपय श्रमिकहरूले समयमा तलब सुविधा नपाएको, करार अवधि सकिएपछि पनि नेपाल फर्किन नपाएको, करार अवधि सकिएपछि पनि जबरजस्ती काममा लगाउने गरिएको भन्ने लगायतका गुनासाहरू आउने गरेका छन। जसका कारण श्रमिक र कम्पनीबीच असमझदारी एवं विवादसमेत उत्पन्न हुने गरेको पाइन्छ। यस्ता समस्याहरू पछिल्लो समय विशेषगरी कोभिड १९ महामारीका समय थप वृद्धि भएका थिए र हालका दिनमा पनि छन्। 

साथै, साउदी अरेबिया आउने श्रमिकमध्ये अधिकांश श्रमिकमा अरेबिक भाषाको ज्ञान नहुँदा श्रमिकहरूले कम्पनी तथा व्यवस्थापकसग संचार गर्न गाह्रो हुने गरेको छ। श्रमिक समस्यामा पर्दा साउदी अरवको कुनै सरकारी निकायमा निवेदन दिँदा वा मुद्दा दर्ता गराउँदा पनि भाषाको समस्या हुने गरेको देखिन्छ। यहाको विशाल भूगोलका कारण कन्सुलर सेवा प्रवाह गर्न, गुनासो सुनुवाई तथा मुद्दा मामिलाको दर्ता तथा सुनुवाइमा सहभागी हुने लगायतका अन्य कार्यहरू गर्न नियोगहरूका लागि चुनौती छ।

नेपाली राजदूतावास र महावाणिज्यदूतावासको सम्बन्ध कस्तो छ र नेपालीले कस्ता खालका सहयोगको अपेक्षा गर्छन् ?

साउदी अरेबियाको विशाल भूगोलका कारण नेपाली श्रमिक तथा समुदायलाई सहजरूपमा सेवा प्रवाह गर्ने उद्देश्यले नेपाल सरकारले साउदी अरेबियाको दुई ठाउँमा नियोग स्थापना गरेको हो। महावाणिज्यदूतावासको स्थापना पश्चात् साउदी अरेबियाको पश्चिमी क्षेत्रमा रहेका नेपालीहरूलाई सेवा लिन सहज भएको छ। दुवै नियोगहरू नेपाल सरकारकै प्रतिनिधि भएकाले तथा कार्यप्रकृति पनि लगभग समान भएकाले निकट समन्वयमा रहेर काम गर्नुपर्ने हुन्छ। दुवै नियोगले समन्वयका साथ कार्य सम्पादन गरेको अवस्था छ।

नेपाली समुदायले कस्ता सहयोग माग्ने गरेको पाउनु भएको छ ? 

विदेशमा रहेका नेपाली नियोगहरू नेपाल सरकारका प्रतिनिधि सरकारी कार्यालय भएकाले विदेशमा जुनसुकै पेशामा रहेका नेपालीहरूलाई राहदानी, कन्सुलर सेवासम्बन्धी, गैरआवासीय परिचयपत्रसम्बन्धी, प्रहरी तथा अदालत सम्बन्धमा आइपरेका समस्या जस्ता जुनसुकै समस्या परेमा पनि महावाणिज्यदूतावासमा आएर आफ्नो समस्याका वारेमा अवगत गराउने 
गरेका छन्। 
महावणिज्यदूतावासलाई थप प्रभावकारी बनाउन कस्ता कर्मचारीको आवश्यकता पर्छ ? 

स्थानीय भाषा तथा कानुन जानेका, कम्युटरसम्बन्धी ज्ञान भएका, सवारी साधन चलाउन सक्ने, श्रमिकको पक्षमा रात दिन नभनी कार्य सम्पादन गर्न तत्पर रहने, श्रमिकमैत्री तथा नेपाली समुदायसँग सुमधुर सम्बन्ध राख्न तथा सहकार्य र समन्वय गर्न सक्ने, स्थानीय सरकारका अधिकारीसँग सम्बन्ध तथा संवाद गर्न सक्ने जनशक्तिको सबै श्रमिक गन्तव्य नियोगहरूमा आवश्यकता रहन्छ। यसका अलावा महावाणिज्यदूतावासको कार्यक्षेत्र निकै ठूलो रहेको तथा कार्यचाप समेत अत्यधिक रहेकाले यसबाट श्रृजित दबाबलाई सामना गरी कार्यसम्पादन गर्न सक्ने जनशक्ति आवश्यक पर्दछ।

साउदीमा कार्यरत नेपालीलाई जेल सजाय भएमा माफी हुने कतिको सम्भावना हुन्छ ? 

माफी हुने कुरा के कस्तो अपराधमा जेल सजाय भएको हो त्यसमा निर्भर हुन्छ। जे जस्तो सुकै अपराध गरी अदालतद्वरा जेल सजाय तोकिएकोमा सजाय माफि हुने कुरा प्रायः असम्भव नै हुन्छ। तर पनि कुनै कुनै साना तिना अपराधमा जेल सजाय तोकिएको रहेछ भने सजाय कम तथा माफीको लागि महावाणिज्यदूतावासबाट निरन्तर प्रयास हुने गरेको छ। कतिपय केसहरूमा सुनुवाइ भै तोकिएको सजायभन्दा अगावै रिहाइ हुने गरेको 
अनुभव पनि छ।

वाणिज्य दूतावासबाट नेपाली कामदारका मागपत्र प्रमाणीकरण केका आधारमा हुन्छ ?

मागपत्र प्रमाणीकरणका लागि विभिन्न कागजातहरू एवम् पक्षहरूको परीक्षण गरिन्छ। सोही अनुसार तोकिएबमोजिमका कागजातका अलावा कम्पनी भ्रमण, कम्पनीको उच्च अधिकारीसँग नेपालीको हितबारे छलफल, कोही नेपाली कार्यरत रहे उहाँहरूसँग कम्पनी तथा उनीहरूको अवस्थाकबारेमा जानकारी लिइन्छ। प्रमाणिकरण प्रक्रियाको धेरैजसो स्टेप्स अनलाइन प्रणालीबाट हुन्छ। यसबाट सेवाग्राहीमा निकै सुविधा पुगेको हामीले पृष्ठपोषण पाएका छौं। 

नेपाली कामदारलाई साउदी सरकारले कस्तो रूपमा हेरेको पाइन्छ ?

साउदी सरकारले मात्र होइन यहाँका कम्पनी सञ्चालक तथा म्यानेजरहरूले समेत नेपाली मेहनती, ईमान्दार र अनुशासित कामदारको रूपमा हेर्ने गरेको पाएको छु। यसका कारण पनि नेपाली कामदारहरूको मागले निरन्तरता पाएको देखिन्छ र नेपालीले गरेको कामको सम्मान पनि गर्नुपर्छ।
मेनपावर र महावाणिज्यदूतावासको मिलोमतोमा भिसा प्रमाणीकरण गरी नेपाली कामदारलाई अलपत्र पारेको सुनिन्छ नि ? 
यो सुनेको कुरा यथार्थ होइन। हामी यहाँ श्रमिकहरूलाई अलपत्र होइन अलपत्र भएकाको उद्दार, फिर्ति तथा क्षतिपूर्तिका लागि भूमिका निर्वाह गर्दै आइरहेका छौं।

  • नेपालीहरूले आर्जन गरेको रकम उनका परिवारका लागि सहयोगी बनेको छ भने साउदीको विकासमा समेत योगदान पुगेको छ।
  • अवैधानिकरूपमा बसेका कामदारहरूको मुख्यतः ईकामा (बसोबास अनुमतिपत्र) नहुने, नवीकरण नहुने, एउटा कम्पनीबाट भागेर अर्को कम्पनीमा कार्यरत रहने गरेको अवस्था छ।
  • जटिल केसहरू भएमा नेपालमा वैदेशिक रोजगार विभागमार्फत तथा साउदी अरबमा स्थानीय श्रम कार्यालयहरूमार्फत पनि समाधानको प्रयास गर्ने गरिएको छ।
  • श्रमिक समस्यामा पर्दा साउदी अरबको कुनै सरकारी निकायमा निवेदन दिँदा वा मुद्दा दर्ता गराउँदा पनि भाषाको समस्या हुने गरेको देखिन्छ।

साउदीमा कस्ता कस्ता खाले भिषा पाईन्छ र कुन भिषामा आउदा कामदारलाई राम्रो हुन्छ ?

साउदीमा विशेषत कामदारहरूको लागि वर्क भिषा, टेम्पोररी भिसा, गरी विभिन्न प्रकृतिका भिसाहरू उपलब्ध हुन्छन्। टेम्पोररी वर्क भिषामा आउने कामदारहरूले निश्चित समयमा साउदी अरब नछाडे जरिवानावापत तोकिएबमोजिमको रकम तिर्नुपर्ने हुँदा यस्ता प्रकृतिका भिसाहरूमार्फत् नआउनु उपयुक्त हुन्छ। 

साथै श्रम मन्त्रालयमा दर्ता नभएका÷श्रम मन्त्रालयबाट रकम वहद प्राप्त नगरेका तथा कम्पनी च्याम्बर अफ कमर्समा दर्ता नभएका मजराहरूबाट प्राप्त हुने भिसाहरूबाट साउदी अरेविया आउने श्रमिकहरूको हकमा लेबर कानुन लागू नहुने भनी साउदीको लेबर कानुनमा स्पष्ट उल्लेख भएको हुँदा यस्ता प्रकृतिका भिसाहरूमार्फत् आउन खोज्नेहरूलाई पनि सोही अनुरुपको सल्लाह दिने गरिएको छ। साउदीमा प्राप्त हुने कामदारको भिसालाई कम्पनीको प्रकृति अनुसार डाईरेक्ट कम्पनी र सप्लाई कम्पनीको भिसा भनेर पनि वर्गिकरण गर्न सकिन्छ।

नेपालीलाई पासपोर्ट नविकरणमा कत्तिको सहजता छ ? 

साउदी अरबमा कार्यरत नेपाली कामदारको राहदानी नवीकरण गर्न महावाणिज्यदूतावास कार्यालयका अलावा साउदीको विशाल भूगोल तथा सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर विभिन्न समयमा विभिन्न क्षेत्रमा घुम्ती सेवा संचालन गरी राहदानी नवीकरण तथा नविकृत राहदानी वितरण सेवा प्रदान गरिदै आईएको छ।

सन् २०१० देखि सुरु भएको मेसिन रिडेबल राहदानीको १० वर्षे म्याद सकिन सुरु भैसकेको कारण हालका वर्षहरूमा राहदानी नवीकरण गर्नेको संख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। १/२ वर्ष यो क्रम निरन्तर रहनेछ। यसका लागि महावाणिज्य दूतावासले तदनुरूपको योजना बनाइ कार्यान्वयन गरेको छ। 

नेपाली कामदार कार्यरत कम्पनीबाट भाग्ने संख्या दैनिक रूपमा बढ्दो देखिन्छ। यसको मूल कारण के हो ? 

नेपाली कामदारहरू आफू कार्यरत कम्पनीबाट भाग्ने मूख्य कारणमा सम्झौता बमोजिमको काम तथा तलव तथा अन्य सुविधाहरू नपाउनु नै हो। कोही बढी कमाई हुने भन्ने लहैलहैमा लागेर पनि अन्य कम्पनीमा गएको देखिन्छ। अर्को कारणमा यहाँको हावापानी पनि एक हो। बस्ने कोठामा एसी वा फ्यान नहुनु वा खानपिन नमिल्नु आदिका कारणले पनि कम्पनी छाड्ने प्रवृत्ति देखिन्छ।

कोही–कोही भागे पछिको कानुनी तथा प्रशासनिक कठिनाइसम्बन्धी सचेतनाको कमीले कम्पनी छोडेर जाने गरेको पाइन्छ। आफुलाई कुनै समस्या परेमा विभिन्न माध्यमबाट नियोगमा सम्पर्क तथा खबर गर्नुपर्छ कम्पनी छोडेर जानुहुँदैन।

कुनै नेपालीको मृत्यु भएमा शव समयमा नै नेपाल पठाउन कत्तिको गाह्रो छ ?

मृत्यु भएका नेपालीको शव पठाउने कार्य संवेदनशील रहेको र यसलाई उच्च प्राथमिकतामा राखी कार्य गर्दा पनि केही समय लाग्ने गरेको छ। शव पठाउनु अघि धेरै प्रक्रियाहरू पुर्‍याउनु पर्ने भएकाले त्यसो हुन गएको हो। 

महावाणिज्यदूतावासको सन्दर्भमा जेद्दाबाट सिधा उडान नभएकाले ट्रान्जिट उडानमार्फत मात्र शव नेपाल पठाउन सकिने अवस्था छ। सोका कारण पनि केही थप समय लाग्ने गरेको छ। मृतक परिवारले पाउने क्षतिपूर्ति रकमको एकिन गरेर मात्र शव पठाउनु पर्ने भएकाले पनि कहिलेकाही थप समय लाग्ने गरेको छ। कहिलेकाही मृत्युको कारणका सम्बन्धमा थप अध्ययन तथा छानबीन गर्नु परे सो नटुंगिएसम्म शव पठाउन नमिल्ने भएकाले थप ढिलाई हुने गर्छ।

के महावाणिज्यदूतावासको जनशक्ति र स्रोतसाधनले अलपत्र परेका नेपालीको उद्दार गर्न भ्याएको छ ? एक कर्मचारीले कति नेपाली कामदारको सहयोग गर्नु पर्ने अवस्था छ ?

महावाणिज्यदूतावासको कार्यचापका कारण उपलब्ध जनशक्तिबाट कार्यसम्पादनमा ठूलो चुनौती छ। तसर्थ योजना बनाई अतिरिक्त समय समेत कार्य गरी श्रमिकका पक्षमा कार्यसम्पादन गर्दै आइरहेका छौं। विद्यमान जनशक्तिको अनुपातमा सेवा प्रवाह गर्नुपर्ने नेपालीहरूको संख्या निकै ठूलो  छ। यति नै संख्या भनेर तोकिने अवस्था भने छैन।

साउदीमा कार्यरत नेपालीलाई के कस्ता सन्देश दिन चाहनुहुन्छ ?

यहाँका नेपाली समुदायमा हार्दिकता एवम् सद्भाव रहेको पाएको छु। यसलाई सधैं कायम राख्नुहुनेछ भन्ने अपेक्षा एवम् अनुरोध पनि गर्दछु।​​​​​​​
प्रस्तुति : विष्णु घिमिरे


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.