इतिहास

बलभद्र कुँवर कप्तान थिएनन् ?

बलभद्र कुँवर कप्तान थिएनन् ?

दुई सय वर्षभन्दाअघि नेपालले अङ्ग्रेजसँग विभिन्न मोर्चामा युद्ध लड्दा बुटवल क्षेत्रबाहेक सबै मोर्चामा हार खायो। सीमित स्रोत र साधनको भरमा युद्ध लडेका नेपालीहरुले युद्धमा हार खाए तापनि सोही युद्धमार्फत् अङ्ग्रेजलाई आफ्नो सौर्यको परिचय भने दिन सफल भए। त्यसो त अङ्ग्रेजलाई वि.सं. १८२४ मै ढुङ्ग्रेवासको युद्धमा नेपालीहरूले स्वाद चखाइसकेका थिए। 

वि.सं. १८७१-७२मा अङ्ग्रेजसँग लड्ने नेपाली योद्धाहरूमध्ये २५ वर्षीय जवान योद्धा बलभद्र कुँवरको प्रशंसामा त नालापानीमा उनै बलभद्रको सैन्य नेतृत्त्वमा रहेको नेपाली फौजको प्रहारबाट मारिएका आफ्ना कमाण्डर जिलेस्पीसँगै अङ्ग्रेजहरूले स्मारक स्तम्भ नै ठड्याए। अङ्ग्रेजद्वारा बलभद्र कुँवरको सौर्य र वीरताबारे शिलालेख कुँदिएको स्तम्भ अहिले पनि इतिहासको साक्षी बनेर खडा छ।

युद्धको घोषणा हुनुअगावै अङ्ग्रेज पक्षले नालापानीमा आक्रमण गरेको थियो। देहरादुन दखल गर्न सेनापति जिलेस्पीले सहारनपुरबाट ८ तोप र ३५ सय सैनिकलाई वि.सं. १८७१ कात्तिक ६ गते नेपालको सिमानाभित्र घुसाएर कात्तिक ८ गते देहरादुन उतारेका थिए। यस ठाउँबाट पाँच माइलको फरकमा ६ सय फिट अग्लो डाँडामा बलभद्र कुँवरले भर्खरै नालापानी किल्ला मर्मत गराएका थिए। उनका साथ दुई सय ५० जति सैनिक र केही महिला थिए। त्यसै दिन कर्णेल मौवीले हात्तीमा बोकाई तोप लगी सैन्यसमेत चढाएर किल्लामात्र घेरेनन्, बलभद्रलाई आत्मसमर्पण गर्नसमेत पत्र लेखे। तर, बलभद्रले रातको समय पत्रको उत्तर दिने आफूहरूको नियम नरहेको भनी अङ्ग्रेजका पत्रवाहक सेनालाई खाली हात फर्काइदिएका थिए (बाबुराम आचार्य, 'पूर्णिमा' पूर्णाङ्क ८४-वैशाख २०५०:१९)।

त्यसपछि आक्रामक बनेको अङ्ग्रेज पक्षले नालापानीमा धावा बोल्दा नेपाली पक्षबाट नसोचेको क्षति बेहोर्नु पर्‍यो। इतिहासकार महेशराज पन्तले 'पूर्णिमा' (पूर्णाङ्क ३-कात्तिक २०२१:६३)मा उल्लेख गरेअनुसार यस युद्धमा सात जना अङ्ग्रेज सेनापति र चार सय सेना मरे। आठ सयभन्दा बढी घाइते भए। नालापानीमा नेपालीको सङ्ख्या पनि निक्कै घट्यो। अङ्ग्रेजी तोपको गोलाले नालापानी किल्ला पनि निक्कै भत्कियो।

बाध्य भएर किल्ला छाडेका बलभद्र कुँवर लगायत बचेखुचेका सीमित नेपाली सेनाहरू अङ्ग्रेजलाई छल्दै नेपाली योद्धाहरू रहेको मोर्चामा पुगी युद्धमा सहभागी भए। सुगौली सन्धिपछि बलभद्र काठमाडौं फर्के। तर, उनी नेपालमा लामो समय अड्न सकेनन्।

पछि अङ्ग्रेजले किल्लामा आउने पानीको मुहान थुनिदिएपछि किल्लाभित्र नेपाली सेनाले पाएको कष्टका बारेमा धेरै इतिहासकारहरूले उल्लेख गरिसकेका छन्। अन्ततः पानीसमेत पिउन नपाएपछि बचेखुचेका सेनाका साथ बलभद्रले नालापानी किल्ला छाडिदिए। 
नेपाली सेनाले किल्ला छाडिसकेपछि त्यहाँभित्र अङ्ग्रेज सेना पस्दा उनीहरूले त्यहाँ हृदयविदारक दृश्य देखेका थिए।

बलभद्र कुँवरहरूले नालापानी किल्ला छाडेपछि किल्लाभित्र प्रवेश गर्ने अङ्ग्रेज सैनिक अधिकृत हेनरी शेयस उड एक थिए। उनले आफ्नी श्रीमतीलाई लेखेको पत्र शिवप्रसाद शर्माले 'सिपाही' (२०४५:१४२)मा प्रकाशित गरेका छन्। यसैलाई उद्धृत गर्दै इतिहासकार डा. सुरेन्द्र केसीले 'गोर्खाभर्ती कथा, व्यथा र आन्दोलन' (२०६२:३३)मा उल्लेख गरेको त्यसबेलाको नालापाली किल्लाभित्रको दृश्य यस्तो छ:
ऐया ! ऐया ! भनेर कराइरहेका सिकिस्त बिरामीहरू र भोकाहरुको लासले भरिएको थियो। टेक्ने ठाउँ नै नभएकाले बत्ती ल्याई मुर्दा पन्छाई पाइला सार्नुपर्थ्यो। बाँचेकाहरूलाई पानी खुवाउनसम्म पनि टेक्ने ठाउँ नभएर कठिन भइरहेको थियो। एक जना आईमाई जो मुख बाएर पानी ! पानी ! भनिरहेकी थिइन्, लासैलासले पुरिइरहेकी थिइन्। हिथकोटले मुर्दाको छेउछाउमा टेकेर ती महिलालाई पानी खुवाउने कोसिस गरिरहेका थिए। तर त्यस ठाउँमा पुग्न नसकेर टाढैबाट आँ...गर भनी पानी फ्याँकिदिन्थे। यसरी दुई-चार घुट्का पानी खान पाइन्, हिथकोटको प्रयास मैले हेरिरहेको थिएँ।

बाध्य भएर किल्ला छाडेका बलभद्र कुँवर लगायत बचेखुचेका सीमित नेपाली सेनाहरू अङ्ग्रेजलाई छल्दै नेपाली योद्धाहरू रहेको मोर्चामा पुगी युद्धमा सहभागी भए। सुगौली सन्धिपछि बलभद्र काठमाडौं फर्के। तर, उनी नेपालमा लामो समय अड्न सकेनन्। उनले मूलुकभित्र खुकुरीको सान र अवसर या अवस्था नभएको देखिएकाले अन्य मुलुकमा जाने इच्छा देखाएका थिए। यही चाहनाअनुसार उनले वि.सं. १८७६-७७ ताका नेपाली फौजबाट अवकास लिएका थिए (रामराजा कुँवर र डा. धनबहादुर कुँवर, 'नालापानीका नायक बीर बलभद्र कुँवर'-२०६९:५१-५२)।

त्यसपछि उनी तत्कालीन पञ्जावको लाहोर (हालः पाकिस्तान) पुगी पञ्जावकेसरी रणजित सिंहको फौजमा भर्ना भए। अफगनिस्तानसँगको युद्ध लड्दा पेशावरको नौसेरामा वि.सं. १८७९ चैत्र ३ गते वीरगति प्राप्त गरे।

बलभद्र कुँवर त्यसबेला कप्तान दर्जामा थिए। तर, उनको दर्ज्यानीबारे एक जना इतिहासकारले ठूलो प्रश्न उठाई उनी त्यसबेला कप्तान नभएको र उनको मृत्युको धेरैपछि उनलाई राष्ट्रिय विभूति घोषणा गरिँदा कप्तान बनाइएको भन्ने उल्लेख गरेका छन्। यो लेखको सरोकार त्यहीँ विषयमा केन्द्रित छ।

बलभद्रको कप्तानीमाथि प्रश्न
बलभद्र कुँवर कप्तान थिएनन् भनी ठोकुवा गर्ने इतिहासकार हुन्,  डा. प्रेमसिंह बस्न्यात। उनी आफैं नेपाली सेनाका अवकासप्राप्त सहायक रथी मात्रै होइनन्, दर्जनौं सैनिक इतिहाससम्बन्धी पुस्तकका लेखक पनि हुन्। इतिहासकार डा. विनोद थापाले 'नेपाल राष्ट्र निर्माणमा श्रीपाली बस्न्यातहरूको योगदान' (२०७४:२०९-१०)मा उल्लेख गरेअनुसार डा. बस्न्यातले लेखेको पुस्तकको सूचीअनुसार उनले नेपाली र अङ्ग्रेजी भाषामा १४ पुस्तक प्रकाशित गरिसकेका छन्। ती सबै नेपालको सैनिक इतिहाससँग सम्बन्धित छन्।

ती पुस्तकमध्ये एउटा 'नेपाली सेनाः लिगलिगकोटदेखि वर्तमानसम्म' (२०७१:६४)मा डा. बस्न्यातले यस्तो लेखेका छन्ः
नेपाल अङ्ग्रेज युद्धका क्रममा नालापानीमा लड्ने बलभद्र कुँवर बडाकाजी अमरसिंह थापाका छोरीका छोरा (नाती) थिए। महाकाली पश्चिम रहने बडाकाजी र उनी मातहतका सबै सेनालाई पुरानै दर्जा दिइएको थियो। कप्तान, मेजर, कर्नेलजस्ता पद दिइएन, भीमसेन थापाको खलकभित्र मात्र बाँडिएको थियो। बलभद्र कुँवरलाई राजा महेन्द्रको पालामा कप्तान दर्जा दिएर इतिहास लेखियो। देहरादुनको नालापानी खोला छेउ अङ्ग्रेजले राखेको नेपाली सेनाको गोली लागी मरेका जनरल जिलेस्पी र बलभद्र कुँवरको सम्झनामा बनाइएको स्मारकमा समेत बलभद्रको नामको अगाडि कप्तान छैन। भएको दर्जालाई नराख्ने काम गर्ने भूल अङ्ग्रेजले गर्दैन। त्यो अमर्यादित पनि हुन्छ। तसर्थ इतिहास छानविन गर्ने टोलीमध्येबाट आफ्नो वंशजलाई कप्तान दिएको हो कि भन्ने शंका गर्ने ठाउँ प्रशस्तै छ।

भावावेशमा आएर डा. बस्न्यातले यस्तो लेखे कि, बलभद्र कुँवरप्रति उनको पूर्वाग्रह हो? थाहा छैन। उनी आफू ऐतिहासिक तथ्य निफन्नबाट कहाँ चुके? 
तर, ऐतिहासिक प्रमाणहरूले बलभद्र मात्रै होइन, उनको बुबा चन्द्रवीर, ७० वर्षको उमेरमा जैथकको युद्धमा वीरगति प्राप्त गर्ने भक्ति थापाले समेत कप्तान दर्ज्यानी पाएको स्पष्ट गर्छ। तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहले गढवाल क्षेत्रमा खटिएका अमरसिंह थापालगायतका सेनालाई वक्सिस पठाउँदा त्यहाँ कप्तानहरू कार्यरत रहेका प्रमाण प्राप्त छ। यसै सिलसिलामा अब बलभद्रको दर्जा कप्तान थियो कि थिएन, यसबारे चर्चा गरिनेछ।
 
नेपाली सेनामा कप्तान दर्जा
नेपाली सेनामा कप्तान दर्जालाई पछिल्लो भाषामा सहसेनानी भनिन्छ। अङ्ग्रेजीमा यो दर्जालाई क्याप्टेन भनिन्छ। 
परम्परागत रूपमा रहेको नेपाली सेनालाई आधुनिक बनाउने श्रेय तत्कालीन मुख्तियार भीमसेन थापालाई जान्छ। उनले नेपाली सेनाको आधुनिकीकरणसँगै अङ्ग्रेजको नक्कल गर्दै सेनाको सर्वोच्च पद 'जनरल' आफैंसँग राखे।
 
रणबहादुर शाहसँगै बनारसबाट फर्केपछि भीमसेन थापाको वृत्ति विकास द्रूत गतिमा बढ्यो। काजी दामोदर पाँडेलाई सिध्याइएपछि वि.सं. १८६१ वैशाख सुदी ७ रोज ४ मा उनले काजी पदको नियुक्तिको लालमोहर बुझे। वि.सं. १८६३ मा रणबहादुर शाहको हत्यालगात्तै उनले मुख्तियार दर्जा पाए। वि.सं. १८६८ मा मूलुकभरका कम्पनी पल्टनहरूको अधिकारसहित उनलाई मुख्तियारसमेतको कामकाज थामी जनरल घोषित गरियो भने वि.सं. १८९२ मा त उनी कमाण्डर इन् चिफ भए (चित्तरञ्जन नेपाली, 'जनरल भीमसेन थापा र तत्कालीन नेपाल'-२०३५:१२, १६ र १७)।

नेपाली (२०३५:६७-६८) ले भीमसेन थापाले नेपाली फौजलाई आधुनिक ढंगले तालिम गरी सुसंगठित गराउने कार्य गर्नुका साथै फौजी दर्जामा जर्नेल, कप्तान, लप्टन आदि युरोपीय दर्जाको प्रचलन चलाए भन्ने उल्लेख गरेका छन्। तर, नेपाली सेनामा कप्तान दर्जा भने भीमसेन थापाको पालादेखि चलेको होइन। नेपाली सेनामा कप्तान दर्जा चलनचल्तीमा आउँदा भीमसेन थापा नेपालको राजनीतिक रंगमञ्चमा देखा परेकै थिएनन्।
 
पुरातत्त्व विभागको मुखपत्र 'प्राचीन नेपाल' सङ्ख्या २४ (साउन २०३०:१) मा वि.सं. १८४४ मा मुक्तिनाथको बाटो गरी जुम्ला कब्जा गर्न जाने फौजमा कप्तान गोलैया र कप्तान रणवीर खत्री खटिएका उल्लेख छ। यस्तै वि.सं. १८४८ साउनमा तिब्बतसँगको युद्धमा केरुङबाट अघि बढेर झुँगामा रहेको तिब्बती किल्लामा आक्रमण गर्ने अभिभारा लिदै सैन्य नेतृत्त्व गरेका काजी अभिमानसिंह बस्नेत र सरदार रणजित कुँवरका साथ कप्तान कालु पाँडे पनि सहभागी थिए (बाबुराम आचार्य, 'चीन तिब्बत र नेपाल'-२०५९:१५१)।

यी तथ्यबाट के स्पष्ट हुन्छ भने भीमसेन थापाले नेपाली सेनालाई आधुनिकीकरण गर्दा अङ्ग्रेजको नक्कल गर्दै जर्नेल, कर्नेल दर्जासँगै कप्तान दर्जा सिर्जना गरेका होइनन्।
बरु आफू शक्तिशाली मुख्तियार र सैन्य कमाण्डर हुँदा जर्नेल, कर्णेलजस्ता आधुनिक दर्जा भने उनले आफ्नो परिवारको पेवाजस्तै बनाएका थिए। उनले आफ्ना बाबु अमरसिंह थापा (साना) लाई जर्नेल पदमा पदोन्नति गराएका थिए। कान्छा भाइ रणवीरसिंह थापालाई कर्णेल पदमा नियुक्त गरे (बाबुराम आचार्य, 'जनरल भीमसेन थापाः यिनलाई मैले जस्तो देखें'-२०६५:३३)।
इतिहास शिरोमणि आचार्यको अर्को पुस्तक 'जनरल भीमसेन थापाः यिनको उत्थान तथा पतन' (२०६९:४-५) अनुसार जनरल भीमसेन थापाले भतिजा माथवरसिंह थापालाई कप्तानबाट एकैपटक कर्णेल बनाएका थिए। साहिला भाइ काजी बख्तावरसिंह थापाका दुई छोरा त्रिविक्रम र नारायणसिंह थापा, कान्छा भाइ रणवीरसिंह थापाका छोराहरू शेरविक्रम, युद्धविक्रम र भीमविक्रमका साथै भतिजा माथवरसिंह थापाका छोरा रणवजीरसिंह थापालाई पनि कर्णेल दर्जा दिएका थिए। 
 
महाकाली तर्नेहरू कप्तान थिएनन्?
इतिहासकार डा. बस्न्यातले लेखेको 'जर्नेल, कर्णेल, कप्तानजस्तो आधुनिक पद महाकालीदेखि पश्चिमको अभियानमा बडाकाजी अमरसिंह थापाको मातहतमा रहेका सैनिकहरू कसैलाई बाँडेका थिएनन्' भन्ने वाक्याङ्श पनि तथ्यसम्मत छैन। 

यसका लागि तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले गढवाल क्षेत्रमा नेपाली सेनाको नेतृत्त्व गरिरहेका बडाकाजी अमरसिंह थापालाई लेखेको पत्रलाई विचार गरौं।

श्रीनगरबाट भीमसेन थापालाई पठाइएको वि.सं. १८७१ कात्तिक वदी ८ रोज ७ को उक्त पत्रमा 'पारी कपतान भक्ति थापाले तुझारमा लडाईँ फत्या गर्‍याको विस्तार भारदारहरुका चिठीले मालुम होला' भन्ने पढ्दा यसबारे भ्रम निवारण हुन्छ।

महेश सी. रेग्मी ('रेग्मी रिसर्च सेरिज' वर्ष ३ अंक ६-डिसेम्बर, सन् १९७१:१४८)ले प्रकाशमा ल्याएको वि.सं. १८६८ वैशाख सुदी १० को पत्रअनुसार राजा गीर्वाणयुद्धविक्रम शाहले बडाकाजी अमरसिंह थापालाई उनको मातहतमा रहेका सेनाका लागि 'दर्शनभेट' स्वरुप वक्सिसवापत ३८ हजार ७९ रुपैयाँ पठाउँदा तीन जना कप्तानका लागि जनही पाँच सय रुपैयाँका दरले वितरण गर्न १५ सय रुपैयाँ तोकिएको छ।

यसबाट पनि महाकालीपारी अमरसिंह थापाको मातहतमा काम गर्ने सेनालाई कप्तान दर्जा दिइएको थिएन भन्ने धारणा खण्डित हुन पुग्छ।
त्यसबेला अमरसिंह थापाकै मातहतमा बलभद्र कुँवरका बुबा चन्द्रवीर कुँवर पनि महाकालीपारीकै युद्धमा लडिरहेका थिए। उनी पनि कप्तान पदमा रहेको बाबुराम आचार्यले 'पूर्णिमा' पूर्णांक ८४ (वैशाख २०५०:१७)मा उल्लेख गरेका छन्। आचार्यले लेखेका छन्, 'अङ्ग्रेजसँगको युद्धको तयारी भइरहेको बेला मुख्य नाका रहेको नालापानीका किल्ला भत्किरहेको थियो। वि.सं. १८७१ चैत र वि.सं. १८७२को बीचमा सिरमोरमा रहेका कप्तान चन्द्रवीरको परलोक हुँदा तिनका माहिला छोरा बलभद्रलाई कप्तान गराएर सो किल्ला मर्मत गर्न अमरसिंह थापाले खटाएका थिए।'

बलभद्रका बुबा चन्द्रबीर कप्तान थिए भन्ने प्रमाणका लागि त्यसबेलाको एक ऐतिहासिक पत्र पनि प्रश्तुत गर्न सकिन्छ। इतिहासकार महेशराज पन्तले 'पूर्णिमा' पूर्णांक ३ (कात्तिक २०२१:५९)मा प्रकाशमा ल्याएको वि.सं. १८७२ मङ्सिर १४ गते उल्पागढीबाट सुवेदार जगरुप खत्रीले चौतरिया बम शाहलाई लेखेको पत्रमा 'चंद्रविर कंवरकी कप्तानी ञाहाँ आई बस्या छ' भन्ने परेको छ। यसको अर्थ हो, महाकाली पारी सिरमोरमा खटिएका नेपाली सैन्य अधिकारी चन्द्रवीर कुँवरको पद कप्तान थियो। 

त्यसबेला पश्चिमको युद्धमा खटिएर आफ्नो सौर्य देखाएका भक्ति थापाको पद पनि कप्तान नै थियो। यसलाई पुष्टि गर्ने अर्को ऐतिहासिक पत्र पनि इतिहासकार पन्तले 'पूर्णिमा' पूर्णांक ४ (माघ २०२१:६६) मा प्रकाशमा ल्याएका छन्। श्रीनगरबाट भीमसेन थापालाई पठाइएको वि.सं. १८७१ कात्तिक वदी ८ रोज ७ को उक्त पत्रमा 'पारी कपतान भक्ति थापाले तुझारमा लडाईँ फत्या गर्‍याको विस्तार भारदारहरुका चिठीले मालुम होला' भन्ने पढ्दा यसबारे भ्रम निवारण हुन्छ।

यी तथ्यबाट स्पष्ट हुन्छ, महाकालीपारी अमरसिंह थापाका मातहतमा काम गर्ने सैन्य अधिकारीहरूमध्ये केही कप्तान दर्जामा रहेका थिए।

बलभद्र कुँवर कप्तान भएको प्रमाण
ऐतिहासिक स्रोतमा बलभद्र कुँवरलाई श्री कपतान, कपतान कंवर त कतै कपतान बलभद्र कंवर लेखिएको पाइन्छ।

इतिहासकार महेशराज पन्तले 'पूर्णिमा' पूर्णांक १ (वैशाख २०२१:४८) मा ऐतिहासिक स्रोतका रूपमा प्रयोग गरेको 'दैवज्ञ शिरोमणि लक्ष्मीपति पाँडेको टिपोट'मा कप्तान बलभद्र कुंवर लेखिएको छ। टिपोटमा 'संवत १८७१ आश्विन सुदी ७ रोज (कात्तिक ६) हाम्रो जगा षुस्यालपुरमा (फिरंगी) आयो। उहाँबाट उठि ए सुदी ९ का दिन (कात्तिक ८ गते) देहरामा आयो। उहाँबाट उठि ए सुदी ११ का दिन (कात्तिक १० गते) नालापानी हाम्रा किल्लामा कप्तान बलभद्र कुँवर थिए। उनसँग जोरी ६ घरि चढ्दा (विहान साढे आठ बजेतिर) दोहरा बन्दुक तोप चलेछ। वैरि हरी देहरै गएछ। छर्राले ९ जना षेत रह्या। हाम्रा दुई जनलाई छर्राको घा लागेछ वैरि हरी देहरै गएछ' भन्ने उल्लेख छ।

त्यसबेला दरबारको निकट सम्बन्धमा रहेर लेखपढ र ज्योतिषीको काम गर्ने, किताब सार्ने आदि काममा पोख्त परिवारमा जन्मेका लक्ष्मीपति पृथ्वीनारायण शाहका विश्वसनीय ज्योतिषी कालु पाँडेका माहिला छोरा हुन्। कालुको खास नाम कृष्णानन्द हो। इतिहासकार दिनेशराज पन्तले 'पूर्णिमा' पूर्णांक ७ (कात्तिक २०२२:६६)मा उल्लेख गरेअनुसार लक्ष्मीपति पाँडेको जन्म वि.सं. १८१५ वैशाख २७ गते गोरखाको गाइखुरमा भएको हो।

बलभद्र कुंवरहरू नालापानीमा लडिरहेका बेला लक्ष्मीपति ५६ वर्षका थिए। उनलाई बलभद्र कुंवर कुन दर्जाका सेनानायक थिए भन्ने तथ्य थाहा नहुने कुरै भएन।

आफैं ऐतिहासिक परिवारका सदस्य, इतिहासकार र नेपाली सेनाका अवकासप्राप्त सहायक रथी डा. बस्न्यातले के आधारमा राष्ट्रिय विभूति घोषणा गर्ने बेलामा राजा महेन्द्रको पालामा बलभद्र कुँवरलाई कप्तान बनाइएको लेखे? इतिहासलाई यसरी टेढोमेढो बनाउन पाइन्छ?

नालापानी युद्धमा अङ्ग्रेजतर्फ धेरै क्षति भएको समयमा श्रीनगरबाट काठमाडौंमा रहेको जनरल भीमसेन थापालाई पठाइएको वि.सं. १८७१ कात्तिक वदि ८ रोज ७ को पत्रमा 'प्रगनादूनमा फीरंगीको बाक्लो फौज आई आश्विन सुदि ११ मा कार्तिक वदि २ मा नालापाणिका किलामा कंवर कप्तानसँग लडाईँ पर्दा आश्विन ११ मा वैरीका २२ जना षेत पर्‍या देरै घाएल भैः हरी अघि बस्याको डेरामा घामावाला आमावालामा गै वस्याका' भन्ने परेको (पन्त, माघ २०२१ट्ठ६६)। 

बाध्यतावश नालापानी किल्ला छाडेपछि र त्यहाँका सेना नायकहरू अर्को युद्धमोर्चामा पुगेको विषयमा नालापानीका बलभद्रकै सहयोद्धा सरदार रिपुमर्दन थापाले काठमाडौंमा जनरल भीमसेन थापा र काजी रणध्वज थापालाई वि.सं. १८७१ पुस वदि १२ रोज १ मा श्रीनगरबाट पठाएको पत्रमा 'श्री काजि रणदिपसिंहलाई चमुंवांमा राषि श्रीकाजि रेवंत कंवर श्री कपतान बलभद्र कुंवर आफ्ना साथको गोलवल लि दूनपाटिमा भद्राक्षगढि र पारि वैराटगढिलाई सकस लागन्या गरी जगापारि जूनपूरमा-का तीर जौंट गढिमा बस्याका छन्, पश्चिम विस्तार श्रीबुढाकाजीबाट लेषि पठावनु भयाका चिठीले मालूम होला' भन्ने परेको छ (पन्त, कात्तिक २०२१:७१)।

बलभद्र कुँवरको कप्तान दर्जा खुल्ने यति धेरै ऐतिहासिक प्रमाण हुँदाहुँदै बस्न्यातले उनको दर्जाका बारेमा किन र कसरी शंका उठाए? आश्चर्य लाग्दो छ।

यस्तो इतिहास लेख्ने बस्न्यातको पुर्खा पनि गतिलै ऐतिहासिक विरासत बोकेका योद्धाहरू हुन्। नरभूपाल शाहकै समयदेखि गोरखा दरबारमा सक्रिय भारदार शिवरामसिंह बस्न्यातका चार छोरामध्ये माहिला केहरसिंह बस्न्यातका तीन छोरामध्ये कान्छा बख्तावरसिंह बस्न्यातका वङ्शलताका एक सदस्य हुन्, इतिहासकार डा. बस्न्यात। कुनै समय बलभद्र कुँवरका बुबा चन्द्रवीर कुँवरका सन्तानसँग बस्न्यातका पुर्खाको वैवाहिक नातासम्बन्ध पनि गाँसिएको थियो (थापा, २०७४:२०९)।

डा. बस्न्यातले 'इतिहास छानविन गर्ने टोलीमध्येबाट आफ्नो वंशजलाई कप्तान दिएको हो कि भन्ने शंका गर्ने ठाउँ प्रशस्तै छ' भनेर जो टिप्पणी गरेका छन्, योचाहिँ राष्ट्रिय विभूति घोषणामा तत्कालिन राजा महेन्द्रलाई सरसल्लाह दिने बालकृष्ण समतिर संकेत गरेका हुन्। बालकृष्ण सम र बलभद्र कुँवरको वङ्शलता एउटै हो। अहिराम कुँवरका दुई छोरामध्ये रामकृष्णका नाती बालनरसिंह कुँवरका छोरा धीरशमशेरका पनाती हुन् बालकृष्ण समय। यस्तै अहिरामका अर्का छोरा जयकृष्णका नाती हुन् बलभद्र कुँवर। 

आफैं ऐतिहासिक परिवारका सदस्य, इतिहासकार र नेपाली सेनाका अवकासप्राप्त सहायक रथी डा. बस्न्यातले के आधारमा राष्ट्रिय विभूति घोषणा गर्ने बेलामा राजा महेन्द्रको पालामा बलभद्र कुँवरलाई कप्तान बनाइएको लेखे? इतिहासलाई यसरी टेढोमेढो बनाउन पाइन्छ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.